जहाज नभएपछि गाडीमा पठाइयो आशंकितको नमूना 

धनगढी- लकडाउनसँगै हवाई सेवा बन्द भएपछि सुदूर पश्चिम प्रदेशमा संकलित कोरोना भाइरसको संक्रमणको आशंका गरिएका १३ जनाको थ्रोट स्वावको नमूना परीक्षणका लागि गाडी मार्फत काठमाडौँ पठाइएको छ। धनगढीको तारानगरमा रहेको सुदूर पश्चिम प्रदेश प्रयोगशालामा बिभिन्न जिल्लाबाट संकलन गरी पठाइएको १३ वटा नमूना परीक्षणका लागि बिहीबार गाडी मार्फत काठमाडौँ पठाइएको हो।

यताबाट गाडीमा नेपालगन्ज र त्यहाबाट प्लेनमा काठमाडौँ पठाइने बताइएको छ । हवाई जहाज बन्द भएपछि तीन दिन यता थ्रोट स्वावको नमूना परीक्षणका लागि काठमाडौँ पठाउन सकिएको थिएन।

प्रदेश प्रयोगशालाकी निमित्त निर्देशक अस्मिता सापकोटाले सेती प्रादेशिक अस्पतालमा संकलित ८ वटा, महाकाली अस्पतालबाट पठाइएको २ वटा, बैतडीको २ र डोटी जिल्ला अस्पतालबाट पठाएको एक नमूना परीक्षणका लागि काठमाडौँस्थित टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको बताइन्।

सुदूर पश्चिममा कोरोना भाइरसको संक्रमणमा आंशका गरिएका व्यक्तिहरुको थ्रोट स्वाव परीक्षण गर्ने प्रयोगशाला नभएका कारण सुदूरपश्चिममा संकलित नमूना काठमाडौँ पठाउने गरिएको छ। यसअघि काठमाडौँ पठाइएका १४ वटा नमूना नेगेटिभ पाइएको निमित्त निर्देशक सापकोटाले बताइन्।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्