‘नजर मे रहते हो मगर तूम नजर नही आते’

निर्मलकुमार थापा –

गराजमा वषौँदेखि  थन्किएको मोहक बिटल्समा शहर सयर गर्न मन लागेको छ। पुराना दृष्यको सजीव सम्झना अकस्मात आउने झरीले रुझाउँछ र केही समयपछि आउने हावाले उडाएर साथै लिएर जान्छ।

म को हुँ? रमण महर्षिको अखण्ड प्रश्न जिज्ञासा बनेर उभिएको छ। मेलबर्न शहरको मध्यभागमा ‘सराइन अफ रिमेम्ब्रेन्स’ अवस्थित छ, सँगै जोडिएर रहेको रोयल गार्डेनले स्मृतिभवनको शोभा अझ धेरै बढाइदिएको छ। नजिकै यारा नदी बगिरहेको छ। निर्मित झरनाको झर्रो आवाजमा भुलिरहेका बेला सहजनले डिपी सरका बारेमा सन्देश दिन्छन्।

लाग्यो- यारा रिभरमा सरसँगका पुराना यायावर कहानीहरु सलबलाउन थाले। गान्धीको मृत्युशोकमा सन्देश पठाउने अल्बर्ट आइन्स्टाइन, नेहरु र मर्टिन लुथर किंग सम्झेर बिह्वल भएको छ। इतिहास भन्छ- भूगोलको अर्को कोणमा चे ग्वभेराको मृत्युपछि क्रान्तिकारी मित्र फिडेलले देखाएको दिलोज्यान अमरकथा उनले चलाएको मुद्रामा अंकित भयो, देशको गीत बनेर हरेक नागरिकको हृदयमा बस्यो।

ती उदार विश्वमामलामा अंकित प्रेम, सम्मान र समर्पणका प्रेरक पुञ्जहरुका कथा पढेर हुर्केको युवा उमेरमा डिपी सरसँग साक्षात्कार भएको थियो। सम्झनामा आउने ती मृत्युका कहालीलाग्दा अन्तिम प्रहरहरु स्मृतिहासमा कहिले उघ्रन्थे र कहिले बन्द हुन्थे।

सराइन अफ रिमम्ब्रेन्सको इतिहास विश्वयुद्धमा जीवनाहुती गर्नेहरुका सम्झना सम्मानमा भिक्टोरियाबासीहरुको अमरोपहार हो, कालजयी गाथा हो तर म सुनिरहेको छु- निरोको बाँसुरी र रोम जलिरहेको कारुणिक दृष्य। म देखिइरहेको छु- शहरको सिरानमा बसेर झलकमान गन्धर्वको सारंगी धुन र निरोली गाउँमा पुतली छोप्न दौडिरहेको बालक। तराईको फराकिलो फाँटमा साइकलको डण्डीमा बसेर स्तनआस गरिरहेको रमाइलो युवक। कालान्तरमा सोही युवक कसरी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पुगेर तमाम् कीर्तिहरु छोड्न सफल हुन्छ। म सुनिरहेको छु- साइकलको तिखो किरिंग किरिंग घण्टीको आवाज र सुँघिरहेको छु, मोटरसाइकलले छोडेर गएको इन्धनको तेलगन्ध। कर्ता दृष्यबाट अलप भएपनि साइकल, मोटरसाइकल हिँडेको त्यो माटोको बाटो यही छुटेको छ। अहिले मेरो सम्झना बोकेर मालबाहक गाडीहरु बिस्तारै गुडिरहेका छन्।

 

नेपाली भाषाको झर्रोवादलाई शिरोपर गर्दै त्यसलाई हामी लुतेहरुले छुनु हुँदैन नत्र तारानाथले हाम्रो दाह्रा झार्छ भन्ने डीपीसरले युवा युवतीहरुलाई आध्यात्म, दर्शनलाई जोडेर साहित्यक भावमा हास्यरस थपेर बिनोदी प्रशाद बाँड्ने कला देखि धेरै जना नतमस्तक छन् । ती तमाम् श्रोता दर्शकको लाइनमा म पनि पञ्चामृत खान अञ्जुली लिइ उभिएको छु ।

कृषिप्रधान देशमा साहित्यको कुरा गर्नु त्यसमाथि दर्शनको रुख्खासुख्खा ज्ञान आर्जन गर्नु एकलयात्रामा धकेल्न प्रेरणा दिने तत्वहरु दालभात खाने खेतीपाती भइदिए। ज्ञानगहमा गोडमेलका प्रहरमा साइकल, मोटरसाइकल, मोटर, टेम्पो आदि अस्थायी साधनहरु प्रयोग गरेर जीवनमा नूतन रंग भरिरहेको फक्कड मसिहा र अलमस्ता फकिर।

एउटा औसत मान्छे तर भिन्दै भंगिमा ओढेर स्वर्ग पुगिने डरले पृथ्वीमा मानवइतर वितरागी, मनरागीहरुको गहिरो कुलतमा डुलिरहेको। त्यसैलाई सत्सगं मान्दै स्तुतिका बिस्कुट बाँडिरहेको चलदृष्य स्पष्ट आवाज लिएर मेरो कान नजिकै फुसफुसाइरहेकोछ, साउती मारिरहेकोछ । भित्तामा हरियो चरा छ, चरा मानवाकृतिको कुममा बसेको छ, त्यो चरा देख्यौ नि तिमीले, म मनिला गएको बेला समुन्द्रीतटमा एकजनाको कलाकृति कुममा राखेको थिएँ ।

तर झट्ट तस्विर हेर्दा मान्छेहरु यसलाई सक्कली सुँगा भन्ठान्छन्, म पनि हो हो, मेरो आध्यात्मिक शक्तिले गर्दा उडीरहेको चरालाई मेरो कुममा ओराल्न सफल भएको थिएँ । बाप रे बाप, समुन्द्रीतटमा नुहाउनेहरु सारा चकित भएका थिए  भन्दिन्छु बुझ्यौ तिमीले ? के बुझ्यौ तिमीले भन त ?भन्दै लामो हाँसो हाँसीरहेको पुलकीत मनुवासँगै म पनि चंखचेत लिइ हाँसेको थिएँ । स्मृतिपिर्कामा थपक्क बसिरहेको ठेकी भित्र चुलबुल मदानीको घर्र, घर्र आवाजले आउने नौनीको लोभमा सारा यौवनकाल सकायो । म सम्झन्छु फैज अहमद फैजको रचना, जो सरको प्रिय उक्ती थियो,

कुछ इश्क किया कुछ काम किया
वो लोग बहुत खुश किस्मत थे
जो इश्कको काम समझते थे
या काम से आशिकी करते थे ।
हम जीत जी मसरुफ रहे
कुछ इश्क किया कुछ काम किया
काम इश्क के आडे आता रहा
और इश्क से काम उलझता रहा
फिर आखिर तंग आकर हम ने
दोनों को अधूरा छोड दिया ।

पहिलो कविता संग्रह प्रभात फेरि सन्ध्या विमोचनका अवसरमा डिपीसर गुरुकूल डाँडो पुरानो बानेश्वर आउनुभयो र हौसला बढाउनुभयो । उहाँका चाउरे मित्र खगेन्द्र संग्रौला, लगायत जवान लेखक पाठकको बाक्लो जमघट भएको थियो । मोमीलाको उद्घोषण कवि मञ्जुलको काव्यघर्षण, अर्का प्रिय कवि शैलेन्द्र साकारसहितको पहिलो महाभोज थियो त्यो ।

त्यसपछि बिजौला उपन्यासमाथिको मन्तव्यले बजारमा कोलाहल पैदा गरीदियो । उपन्यासको अन्तिमभागमा डिपीसर उपर मेरो दृष्टिदोष (कोण) थियो, साथमा अन्य समकालिन् दर्जन मित्रहरुका बारेमा पनि लेखेको थिएँ । तर अरुको भन्दा पनि डिपीसरमाथिको स्तुति निकै भयो भनेर आगामी प्रकाशनमा सम्पादन वा हटाउन सल्लाह दिने समालोचक साथीहरुलाई जिल पार्दै पूनः प्रकाशन गरेको थिएँ ।

सानो नेपालमा धेरैजनालाई चिन्नु वा धेरैजजनामाँझ चिनिनु कुनै भयानक कृत्य होइन । त्यसका लागि बहादुर होनहार हुनैपर्छ भन्ने छैन । दशक अघिको समयको मात्र कुरा गर्ने हो भने पनि अहिलेको जस्तो चुस्त इन्टरनेट मैत्री, तथा सोसल साइटहरुको चर्को दबदबा पनि थिएन । त्यसैले अहिले घण्टाभरमा भाइरल हुने र भोलिपल्ट सुस्ताउने कलाकारहरुको अभाव थियो ।

साप्ताहिकको नियमित स्तम्भमा डीपीसरले जीवन र जगतबारे भव्य तर सटिक रुपमा पस्केका प्रेमपत्रहरुले अर्कै खाले संस्कृतिको विकास गरिदिएका थिए । बिजौला उपन्यासमाथि सभ्य, सलिल, तथ्यले समालोचकहरुको धुवाँ उडाएको मौसम थियो । आफूले माया गरेको गुरुप्रति भजन गीतगोविन्द नै भएपनि जयदेवको पुकारा गर्दै त्यसवापत आएका प्रतिक्रियालाई अनुपम सौभाग्य ठानी स्विकार गरेको थिएँ ।
दिनहरु जन्मदै गए । रातहरु बिलाउदै आए ।

पहिलो कथा संग्रह एकादेशमा आयो । सुस्वामी सुशील शर्माजीले विमोचनस्थलका लागि तपोवन सुझाए र आफै अग्रसर देखाए । सद्गुरु ओशोलाई समर्पण गरिएको उक्त पुस्तक विमोचनका निम्ति तपोवनसम्म जानलाई डीपीसर तयार हुनुभयो । त्यसको मोटो कारण ओशो भए भने कृति अनुष्ठान पातलो कारण थियो ।

दुर्गाप्रशाद विद्यार्थी र आचार्य रजनीशको कलेजकालिन् कुस्तीकथा प्रेममय भावमा धेरै पल्ट सरकै मुखबाट सुनेको थिएँ । विश्वविद्यालयमा अध्यापक हुँदाका लिलामयी प्रेरक प्रशगंहरुका साक्षी मित्र तथा पात्रहरु अहिले पनि बेलाबखत साक्षात्कार हुन्छन् । सरका प्रिय रंगिन पात्रहरुमा गजल लेखनमा विशिष्ट पहिचान बनाएका ज्ञानवाकर पौडेल देखि वैभवसाली समालोचना गरी प्रशिद्धी कमाएका गोविन्द भट्टराई र अभि सुवेदीलाई होलीकाबधका क्रममा स्वनिर्मीत लोलाद्वारा करगं हल्लाउने छोडुवा हाँसोका खित्काहरु उपत्यकाका धेरै सार्वजनिकसभा स्थलहरुका भित्ताहरुमा थपक्क बसेका छन् ।

नेपाली भाषाको झर्रोवादलाई शिरोपर गर्दै त्यसलाई हामी लुतेहरुले छुनु हुँदैन नत्र तारानाथले हाम्रो दाह्रा झार्छ भन्ने डीपीसरले युवा युवतीहरुलाई आध्यात्म, दर्शनलाई जोडेर साहित्यक भावमा हास्यरस थपेर बिनोदी प्रशाद बाँड्ने कला देखि धेरै जना नतमस्तक छन् । ती तमाम् श्रोता दर्शकको लाइनमा म पनि पञ्चामृत खान अञ्जुली लिइ उभिएको छु ।

महाकवि देवकोटा र पन्त, प्रशाद, निरालालाई तराजुमा राखेर गरिएका कथित तुलनात्मक सतही अध्ययनलाई धोइ पखाल्ने काम देवकोटा विषयक धेरै कार्यक्रमहरुमा गर्नुभएको सम्झना आलै छ । कवि माधव घिमिरेको कृति आफैमा उत्कृष्ट भएपनि नोबल पुरुस्कारका लागि किन योग्य थिएन देखि जथाभावी पुस्तक प्रकाशन गरेर वनस्पति सिध्याउने, वातारणलाई खलल पुर्‍याउने पर्यावरणका भंक्षकहरुलाई कारबाही गर्नुपर्छ भन्ने भण्डारीसरसँग थोरैपल्ट काम विशेषले र धेरै पल्ट बिनाकाम भेटेका श्रृंखलामालाको सुवास नूननकालीन् छ ।

ओशोले डिपीसरको नाम उच्चारण गरिदिनुले मात्रले पनि अष्टाबक्र गीताको रससागरमा अबेरसम्म डुबाइराख्न मद्दत गर्यो । नेपालमा ओशो ओशो भनेर कोकोहोलो गर्नेहरुभन्दा धेरै पहिले आचार्यकालमा साक्षात्कार पाएर पनि, सो कल्ड सन्यास नलिइकन पनि ताली बजाइरहेका भण्डारीसरको ओशोप्रेम भारतीय लेखक खुशवन्त सिंह र अमृता प्रितमको जस्तो लाग्थ्यो ।

प्रितमले त काल्पनिक संसार चाहार्दै मन मिर्जा तन साहिबा भनेर सिंगै किताब लेखिन् उता सिंह भने ओशोको सुवासले आफ्नो सारा जीवनलाई साज लाउनतर्फ लागे । शारीरिक रुपमा दुवैजना ओशोको साक्षात्कारदेखि बञ्चीत भएपनि डिपी सरले भने ६०, ७० को दशकतिर नै कलेजमा पढ्ने साथीको लहलहैमा लागेर मन नलागी नलागी सुन्न गएको थिए भन्नुहुन्थ्यो । त्यहीदिन देखि प्रेममा लिन् भएको रुमानीकथाबारे धेरैपल्ट धेरै रंगमा दोहोर्याएको पाएको छु ।

आध्यात्म दर्शनको कुरा गर्दा सधैँ भन्नुहुन्थ्यो, ओशो पहिले र पछि भनेर इतिहासले दुइखेमामा विराट दर्शनको कालखण्डलाई वर्गिकरण गर्छ । महाचेतनाका रहस्यमयी संकेतलाई सजिलो रुपमा व्यक्त गरिदिने सरको स्वभाव देखि अचम्म हुनेहरु पत्रिकामा आउने नियमित लेखहरु देखि रेडियोमा आउने वक्तव्यहरुका गाँठ सुनेर परेको, अड्केको गाह्रो साह्रो खोल्नेहरु धेरैलाई भेटेको छु ।

कहिलेकाहिँ मात्र प्रयोगमा आउने पुरानो गाडी बिटल्समा प्रायः जोन लेनन नै गुञ्जन्छन् । उनीहरुले बिताएका स्वर्णीम दिनहरु ऋषिकेशको जंगलमा महर्षिको सानिध्यमा थपक्क बसिरहेपनि उनीहरुको आभा हरेक पल्ट ताजा भएर मोटरमा यसरी नै गुञ्जीरहन्छ । म सुनीरहेको छु कालजयी संगीतका साथमा अमरसर्जक डिपीभण्डारीका शब्दहरु यारा रिभरको किनारी बाटो भएर . . .

And in the end,

The love you take,

Is equal to the love

You make.

 colornepal@gmail.com

चैत १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्