गुरिल्ला र चिम्पाञ्जीलाई कोरोना भाइरसको जोखिमबाट बचाउन संरक्षणविद्‌हरुको माग

विश्वभर महामारीका रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको छ। नोवेल कोरोना भाइरसको संक्रमणका कारण विश्व मानव समुदायमा जोखिममा आएको छ।

यो जोखिम मानवजातिसँग निकटको सम्बन्ध रहेका प्रजाति (द ग्रेट एप्स) मा पनि रहेको भन्दै संरक्षणविदले चिन्ता व्यक्त गरेका छन्।

द नेचरमा प्रकाशित भएको उनीहरुको संयुक्त पत्रमा गुरिल्ला, चिम्पान्जी तथा ओराङ्गटानमा कोभिड–१९ को कारक नोवेल कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै तत्काल त्यसविरुद्ध काम आह्वान गरेका छन्।

उनीहरुलाई भाइरसको पहुँचमा आउन नदिन वा उनीहरुसम्म भाइरस नपुगोस् भन्नका लागि तत्काल प्रयासको खाँचो रहेको उनीहरुले बताएका छन्।

बासस्थानको बिनास तथा चोरी–शिकारका कारण गुरिल्ला, चिम्पान्जी तथा ओराङ्गटानको अस्तित्व जोखिममा परेको छ। योसँगै भाइरस पनि अर्को जोखिम बनेर आएको वैज्ञानिकले बताएका छन्।

अहिले फैलिएको कोरोना भाइरसको महामारीले यी प्रजातिमा उच्च तहको जोखिम सिर्जना गरेको वैज्ञानिकको पत्रमा उल्लेख छ। संक्रामक रोग अहिले यी प्रजातिका लागि जोखिमको सूचिमा शीर्ष तीनमा छन्।

धेरै भाइरस, ब्याक्टेरिया र पारासाइट यी प्रजातिको शरीरमा कुनै पनि क्षति नगरी जीवित छन्। केहीले भने रोगको अवस्था पनि सिर्जना गरेका छन्।

यो क्षेत्रमा भएका अध्ययनहरुले चिम्पान्जीमा रुघाखोकीको भाइरसको संक्रमण हुने देखिएका थिए। यस्तै इबोला भाइरसले अफ्रिकामा हजारौँ चिम्पान्जी तथा गुरिल्लाहरु मरेको बताइन्छ।

लिभरपुलको जोन मोरिस विश्वविद्यालयका प्राध्यापक सर्गेई विचले कोरोना भाइरसकाबाट ग्रेट एप्समा पर्न सक्ने जोखिमबारे थाहा पाउन विस्तृत अध्ययनको खाँचो रहेको बताएका छन्।

अहिले विश्वमा चार प्रकारका ग्रेट एप्स जीवित छन्। गोरिल्ला अफ्रिकामा, बोनोबोस अफ्रिकामा, ओराङ्गटान दक्षिण पूर्वी एसियामा तथा चिम्पान्जी अफ्रिकामा छन्।

यिनीहरुलाई मानवका नजिकका आफन्त मानिन्छ। लाखौँ वर्ष पहिले मानव र यी प्रजातिका पुस्ता एकै रहेको वैज्ञानिकले बताउने गरेका छन्।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू