छ सय जर्मन यात्रु चार्टर्ड कतार एयरबाट फर्कँदै छन् आफ्नै देश

फाइल तस्बिर।

सरकारले कोरोना भाइरस (कोभिड १९) महामारीको संक्रमण रोक्न सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेकै अवस्थामा जर्मन सरकारको अनुरोधमा कतार एअरलाई दुई चार्टर्ड उडानको अनुमति दिएको छ।

जर्मन सरकारले परराष्ट्र मन्त्रालयमार्फत पठाएको अनुरोधस्वरुप हवाई विभागले शुक्रबार र शनिबार एक/एक विशेष उडानको अनुमति दिएको हो। शुक्रबार र शनिबार बिहान १०:१५ मा ल्यान्ड गरी ११:३० मा दोहाका लागि र त्यहाँबाट ती जहाज फ्र्याँकफर्ट जानेछन्। ती हरेक जहाजमा ३/३ सय यात्रु हुने आधिकारिक स्रोतले जानकारी दिएको छ। जर्मन दूतावास र युरोपेली युनियनको पहलमा जर्मनीले आफ्ना नागरिक लैजान लागेको हो।  तीमध्ये कोही पनि कोरोना भाइरस संक्रमित छैनन्।

दुवै जहाज रित्तो आउने र यताबाटमात्रै यात्रु लैजाने स्रोतले जानकारी दियो। अहिलेको अवस्थामा विशेष अनुमतिका लागि पनि प्रक्रिया लाग्ने भएकाले केही अन्य दूतावासहरुले पनि नेपालमा अड्किएका आफ्ना नागरिकहरुको सुरक्षाका लागि अनौपचारिक रुपमा केही विमान सेवासँग कुरा गरिरहेको पनि बुझिएको छ।

माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, बेलायत, फ्रान्स तथा केही युरोपेली मुलुकका करिब ९०० नागरिकहरु कतार एयरका यी दुई विमान गईसकेपछि पनि नेपालमा रहनेछन्।

तिनीहरुमध्ये अधिकांश ट्रेकिङ र पहाडी क्षेत्रमा रहेकाले उनीहरु काठमाडौँमा आइपुगेपछि मात्र सम्बन्धित दूतावासहरुले चार्टर्ड विमानको अनुमति लिने प्रक्रिया सुरु गर्ने बुझिएको छ।

हालको अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध चैत १९ सम्म जारी रहनेछ। प्रतिबन्ध जारी रहेमा विशेष उडानको व्यवस्था गर्नुपर्ने हुन्छ।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू