कोरोनाको प्रभावः प्रदेश–२ सरकारले बनायो २५ करोड रुपैयाँको राहत कोष

जनकपुरधाम– कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा प्रभावितहरुलाई राहत वितरणका लागि प्रदेश–२ सरकारले २५ करोड रुपैयाँको राहत कोष स्थापना गरेको छ।

बिहीबार बसेको प्रदेश–२ सरकारको मन्त्रिपरिषद् बैठकले राहत कोष स्थापना गर्ने निर्णय गरेको हो।

कोषमा प्रदेशका सबै मन्त्रीले आफ्नो एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत भएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए।

प्रदेश सरकारले स्थापना गरेको कोषमा सहयोगको लागि आह्वानसमेत गरिएको छ।

बैठकले महामारी नियन्त्रण गर्न मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा सबै मन्त्री रहने गरी उच्च स्तरीय निर्देशन समितिसमेत गठन गरेको छ।

बैठकले महामारी नियन्त्रणका लागि आवश्यक व्यवस्थापन गर्न निमित्त प्रमुख सचिव नारायण दवाडीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी विशेष कार्यकारी समितिसमेत गठन गरेको छ।

कार्यकारी समितिलाई मन्त्रिपरिषद् बैठकले विशेष परिस्थितिमा महामारी नियन्त्रणका लागि आवश्यक व्यवस्थापन गर्न निर्देशनसमेत दिएको छ।

कार्यकारी समितिले महामारी नियन्त्रणका लागि चाहिने आवश्यक सामग्रीहरुको विशेष परिस्थितिको लागि व्यवस्था गरिएको खरिद नियमावली बमोजिम खरिद गर्न पाउने छ।

त्यस्तै मन्त्री परिषद्को बैठकले प्रादेशिक अस्पताल जनकपुरका साथै वीरगञ्ज र राजविराजमा कोरोना भाइरसको जाँच गर्ने ल्याबको स्थापना गर्ने निर्णयसमेत गरेको प्रदेश सरकारका प्रवक्ता यादवले बताए।

मंगलबारदेखि सुरु भएको ‘लक डाउन’मा प्रदेशवासीका लागि आवश्यक राहतको व्यवस्था गर्न स्थानीय तहसँग समन्वय गरेर अघि बढने निर्णय समेत भएको छ।

चैत १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्