श्रमिकका लागि विशेष प्याकेज घोषणा गर्न सरकारसँग माग

काठमाडौं-विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना संक्रमण (कोभिड १९) नियन्त्रणका लागि नागरिक अगुवाहरुले श्रमिकका लागि विशेष प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन्।

पूर्वन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की तथा शिक्षाविद् केदारभक्त माथेमा, दुर्गा सुवेदी र रवीन्द्र मिश्रले बिहीबार एक विज्ञप्तिमार्फत यस्तो माग गरेका हुन।

उनीहरुले (कोभिड १९) नियन्त्रणका लागि नेपाल सरकारले हालैका दिनमा देखाएको गम्भीर चासो र लिएका कदमहरूलाई स्वागतयोग्य पनि भनेका छन्।
विज्ञप्तिमा भिनएको छ, ‘यो अभूतपूर्व मानवीय संकटबाट पार पाउन राजनीतिक आरोप, प्रत्यारोपबाट माथि उठेर गर्नु पर्ने कामहरू प्रशस्तै छन्। हाम्रो सम्पूर्ण ध्यान रोगको नियन्त्रण कसरी गर्ने भन्नेमा केन्द्रित भएको देखिन्छ, जुन जरुरी छ। तर दैनिक ज्यालादारीमा आफ्नो र परिवारको जीवन निर्वाह गर्ने न्यून आय भएकाहरूका लागि तुरून्तै विशेष प्याकेजको घोषणा गरोस् भनी हामी सरकारसँग जोडदार माग गर्दछौँ,’

यसका साथै उनीहरुले नेपालमा दिनदिनै कमाएर जीवन गुजारा गर्नुपर्नेहरूको संख्या ठूलो भएकाले तत्काल सरकारले नि:शुल्क रासन, बेतनसहितको बिदा, बालबच्चाको विद्यालयको शुल्क मिनाह, नि:शुल्क उपचारको व्यवस्था मिलाउन आग्रह गरेका छन्।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्