लण्डनमा अर्का नेपालीको पनि कोरोना भाइरसका कारण मृत्यु

तस्बिर: वीनेपालीडटकम

काठमाडौँ- लण्डनमा तीन दिनअघि निधन भएका ४० वर्षीय प्रशान्त अर्यालको कोरोना भाइरसका कारण निधन भएको अस्पतालले पुष्टि गरेको छ।

लण्डनबाट अर्याल उपचाररत रहेको अस्पताललाई उद्धृत गर्दै पत्रकार भगीरथ योगीले दिएको जानकारीअनुसार निधनको ७२ घन्टापछि उक्त अस्पतालले कोरोना भाइरसका कारण उनको निधन भएको पुष्टि गरेको हो।

चितवन बसेनीका ४० वर्षीय अर्याल लण्डनको साउथ इस्ट क्षेत्रमा बस्थे।

शनिबार बिहान अचानक अस्वस्थ भएका स्थानीय क्विन एलिजावेथ अस्पताल पुर्‍याइएका अर्यालको सोमबार निधन भएको थियो। अर्याल श्रीमती तथा एक छोरा र एक छोरीसहित लण्डनमा बस्दै आएका थिए।

यसअघि लण्डनकै ह्यारोका ६५ वर्षीय लीलाबहादुर राईको पनि कोरोना भाइरसका कारण निधन भएको थियो। ६५ वर्षीय राई भूतपूर्व गोर्खा सैनिक थिए।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्