क्वारेन्टाइन गाइडलाइन पालना गर्न सबैसँग सरकारको आग्रह

फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइनमा बस्न तयार गरेको गाइडलाइनको पालना गर्न स्थानीय निकायलगायत सबै सर्वसाधारणहरुसँग आग्रह गरेको छ।

कोभिड १९ बारे स्वास्थ्य मन्त्रालयको नियमित लाइभ पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव यादव कोइरालाले स्थानीय पालिकाहरुले विदेशबाट आएका व्यक्तिलाई आफ्नो एरियामा राख्न र लक्षण देखिए आइसोलेसनमा राख्न आग्रह गरेका छन्। त्यस्तै, श्वासप्रश्वासमा असजिलो देखिए वा अझ गम्भीर लक्षण देखिए स्वाब परीक्षण गर्न पनि उनले आग्रह गरेका छन्।

उनले पालिकाका प्रमुखहरुलाई दैनिक क्वारेन्टाइन भ्रमण गर्न र त्यसबारे गृहमन्त्रालयलाई लेखिपठाउन पनि आग्रह गरेका छन्।

त्यस्तै पीपीई गाइडलाइनबारे जानकारी गराउँदै उनले रुघाखोकी र ज्वरो आएको छ भने सुरक्षित तरिकाले जाँच्न र लक्षण देखिएमा अर्को हस्पिटलमा राखेर विशेष उपचार गर्न पनि आग्रह गरेका छन्।

सरकारले २५ वटा हस्पिटललाई हब हस्पिटल तोकेको उल्लेख गर्दै उनले फिबर क्लिनिक सञ्चालन गर्न ती अस्पताललाई १० लाखका दरले रकम उपलब्ध गराएको जानकारी दिए।

७ सयभन्दा बढी परीक्षण गर्दा तीनवटाबाहेक अन्य नेगेटिभ आएको उल्लेख गर्दै सचिव कोइरालाले बाहिरबाट आएका व्यक्ति क्वारेन्टाइनमा बस्न र ज्वरो देखिँदा तथा खोकी लाग्दा रोगको निश्चित नहुञ्जेल नअत्तालिन पनि आग्रह गरेका छन्।

विश्व स्वास्थ्य संगठनको निर्देशिकाअनुसार ६ फिट टाढा बस्न र बाहिर जाँदा साबुनपानीले हात धुन पनि उनले आग्रह गरेका छन्।

‘आयातीत रोग भएकाले कसैसँग घुलमिल गरेको छैन भने रोग लाग्दैन,’ उनले निश्चिन्त पारे।

 

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्