‘लक डाउन’मा खुलै छन् बैँकहरु, कुन बैँक कुन समयमा खुला?

काठमाडौँ– कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले एक साताका लागि देशभर ‘लक डाउन’ गरेको भएपनि बैंकहरु भने पूर्णरुपमा बन्द भएका छैनन्।

नेपाल बैंकर्स एशोसियशन कार्यकारी निर्देशक अनिल शर्माले बैंक पूर्णरुपमा बन्द नभएको जानकारी दिए। उनले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ‘लक डाउन’ गरेको अवस्थालाई मध्यनजर गर्दै बैंकहरु केही समयको लागि खुल्ला हुने बताए।

उनले स्थानीय तहको हकमा भने स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र बैंक खुल्ने जानकारी दिए। उनले भने, ‘स्थानीय तहको प्रशासनसँग बैंक शाखाले समन्वय गरेर प्रशासनको भनाइ तथा आवश्यकता अनुसार प्रशासनले जति समयका लागि खुल्छ भन्यो त्यति समयका लागि खुल्छ।’

उनले बैंकहरुले आ–आफ्नोे वेबसाइटमार्फत बैंक खुल्ने वा बन्द रहनेबारे पनि जानकारी दिएको बताए।

माछापुच्छ्रे बैंकले सातै प्रदेशका १२ वटा शाखा कार्यालयबाट ग्राहकलाई सेवा दिने भएको छ। बिहान ११ बजेदेखि दिउँसाे २ बजेसम्म कार्यालय सञ्चालन गर्ने बैंकले जनाएको छ।

ती शाखा कार्यालयका १४ जना कर्मचारीको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको बैंकले जानकारी दिएको छ।

सानिमा बैंकले पनि उपत्यका भित्र र बाहिरका शाखाका लागि ७९ जना कर्मचारीहरुको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको छ। बैंकले तोकेको शाखा कार्यलयबाट ती कर्मचारीले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सेवाग्राहीलाई सेवा प्रदान गर्ने जनाएको छ।

यस्तै प्रभु बैंकले पनि उपत्यकामा बबरमहलस्थित मुख्य कार्यालय, ललितपुरको जावलाखेल र भक्तपुरको कौशलटार शाखा खुला रहने जानकारी दिएको छ।

बैंकले उपत्यका बाहिरको हकमा भने स्थानीय प्रशासनले खोल्न दिए जति ठाउँमा शाखा खुला रहेको जनाएको छ। बैंकले खुल्ने शाखा, कर्मचारीहरुको नाम र सम्पर्क नम्बर वेवसाइडमा राखेको जानकारी दिएको छ।

यसैगरी सेञ्चुरी बैंकले सेवाग्राहीका लागि २ सय १६ जना कर्मचारी र शाखा कार्यालयको नाम वेवसाइटमार्फत सार्वजनिक गरेको छ।

एनआईसी एशिया बैंकले भक्तपुर, कौशलटार, थापाथली, पुल्चोक र कमलादी शाखा खोल्ने भएको छ। यस्तै बैंकले उपत्यका बाहिरका लागि पनि शाखा, सम्पर्क नम्बर र सम्बन्धित व्यक्तिको नाम तोकेको छ।

सिद्धार्थ बैंक, सिटिजन्स बैंक, एनबी बैंक र सनराइज बैंकले पनि आफ्नो वेवसाइटमार्फत बैकका खुल्ने शाखा, सम्पर्क नम्बर र सम्बन्धित व्यक्तिको नाम सार्वजनिक गरेका छन्।

एनएमबी बैंकका कार्यकारी निर्देशक सुनिल केसीले उपत्यकाभित्र सीतापाइला, भक्तपुर, कुमारीपाटी शाखा खुल्ला रहेको जानकारी दिए।

उनले भने, ‘केही शाखा खोले पनि हामी ग्राहकहरुको सेवाका लागि बसेका छौँ। उहाँहरुले जति बेला पनि सम्पर्क गर्न सक्नुहुन्छ।’ उनले उपत्यकका बाहिर भने ग्राहकको माग बमोजिम शाखा खोलेर सेवा दिने बताए।

मेगा बैंकले उपत्यका भित्र र बाहिरका गरेर २९ वटा शाखा कार्यलय खोल्ने छ।

नेपालइनभेष्टमेन्ट बैंकले भने बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने गरी उपत्यकाभित्र दरबारमार्ग, लगनखेल र सिपाडोल शाखा खुला रहने जनाएको छ। उपत्यका बाहिर भने ११ बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंकको रामशाह पथस्थित कर्पोरेट कार्यालय र सरकारी कारोबारका लागि सिंहदरबार भित्रको शाखा बिहान १० बजेदेखि दिउँसोको १ बजेसम्म खुल्ने छन्।

बैंकले अत्यावश्यक परेको खण्डमा ग्राहका लागि सम्पर्क नम्बर र विभिन्न कर्मचारीको नामसमेत सार्वजनिक गरेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले नयाँ बानेश्वर शाखा ग्राहकहरुका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म रकम जम्मा गर्न र झिक्नका लागि मात्र खोल्ने सूचना जारी गरेको छ।

यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले प्रदान गरिरहको विद्युतीय बैंकिङ सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी बैकिङ्ग सेवा लिन ग्राहकलाई आग्रह गरेको छ।

बैंकले ग्राहकहरुलाई दिने सेवामा कठिनाई हुनेतर्फ सजग रहेको भन्दै आधारभूत बैकिङ सेवा सम्बन्धि कुनै कठिनाई भएमा विभिन्न शाखाका व्यक्तिलाई सम्पर्क गर्न सक्ने विज्ञिप्तमार्फत जानकारी दिएको छ।

बैंकर्स संघले ग्राहकहरुलाई सकेसम्म डिजिटल कारोबार गर्न आग्रह गरेको छ।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्