लकडाउनमा के गर्दैछन् गायक-संगीतकार

शम्भुजीत बास्कोटा संगीत सुनाउँदै, अन्जु करेसाबारीमा, रामकृष्ण जिम गर्दै

अञ्जु पन्त।

मेलोडी किङ शम्भुजित बाँस्कोटा नयाँ गीत रेकर्डिङको काम आधामै छाडेर यतिबेला घरमै बसिरहेका छन्। कारण नेपालमा कोरोनाको संक्रमण देखिएपछि उनी बाध्‍य भएर घरभित्र क्वारेन्टाइनमा बस्नु परेको छ। संसारभरी महामारीको रुपमा कोरोना फैलिएपछि आफू पनि बचौं र अरुलाई पनि बचाऔं भनेर सेल्फ क्वारेन्टाइनमा बस्नु परेको उनी बताउँछन्।

देश सञ्‍चारसँग कुरा गर्दै उनले भने, ‘ के गर्ने? कोरोनाले विश्‍व हल्लाइसक्यो। विश्‍वयुद्धभन्दा पनि खतरनाक भैसक्यो। तर हामी नेपालीले भने ख्याल ठट्टाको रुपमा लिइरहेका छौँ। कृपया यो समय साहस देखाउने र पराक्रम देखाउने बेला होइन। कसरी हुन्छ, सतर्कता अपनाऔँ र समाजमा चेतना फैलाऔँ। शहरमा मानिसहरु घरभित्र बसे पनि गाउँमा भने उल्टै भेला भइरहेका छौँ। सबै माध्यमबाट चेतना जगाऔँ। जागरुक बनौँ।’

उनी आफ्ना पुराना गीतहरुमा भरेको संगीत सुन्‍न थालेका छन, रिपिट गरेर। साथै कोरोना भाइरसबारेको जनचेतनामूलक सन्देश बनाउने तयारीमा गरिरहेका छन्। उनी भन्छन्, ‘समाजमा चेतनाको खाँचो छ। अब अरु गीत भन्दा पनि कोरोनाबारे सचेतना फैलाउने सन्देशमूलक गीत बनाउने तयारीमा छु घरबाटै।’

यस्तै चर्चित गायिका अन्जु पन्त भने करेसाबारीमा काम गरिरहेकी छिन्। उनले छोरीसँगै तरकारी केलाइरहेको,करेसाबारीमा धनियाँ टिप्दै गरेको फोटो सामाजिक सञ्जालमा राखेकी छिन्। सेतो ज्याकेट र निलो पाइन्ट लगाएकी उनी हातमा सेतो पञ्‍जा लगाएर बारीमा धनियाँ टिपिरहेकी छिन् एक सूरले। उनलाई धनियाँ टिप्न एकदमै मन पर्छ। उनी भन्छिन्, ‘मलाई कृषिप्रति धेरै नै लगाब छ। मलाई फुर्सद भयो कि साग लगाउने, तरकारी टिप्ने, खाना पकाउने र फूलहरु गोड्ने काम एकदमै मन पर्छ। अहिले लक डाउनमा यी सबै कामहरु गर्न पाएको छु।’

लकडाउनमा समयमा उनी खासगरी बिहान व्‍यायामपछि रियाज र गिटार बजाउन सिकिरहेकी छिन्। उनलाई गिटारसँगै तबला र सेक्सोफोन बजाउन पनि खुब रहर छ। भन्छिन्, ‘पहिला समय नै थिएन, बिहानै ७ बजे गाडी लिन आउँथ्यो। एकैपटक बेलुका ७ बजे रेकर्डिङ स्टुडियोमा बित्थ्यो मेरो। अहिले घरमा छोरीसँग कुराकानी, आमासँग भन्सामा आफैँले मिठा-मिठा पकवान पकाएर खान पाएकी छु। समय बितिरहेको छ घरपरिवारसँग। निक्कै खुसी भएकी छु।’

योसँगै उनी चाँडै छोरीको स्वरमा पहिलो पटक गीत ल्‍याउने तयारी गरिरहेकी छिन्। उनले देश सञ्‍चारसँग भनिन्.’ अब तपाइहरुले चाँडै मेरो छोरीको आवाजमा पनि गीत सुन्‍न सक्‍नुहुनेछ।म त्यसको लागि संगीत र शब्द आफैले तयारी गरिरहेकी छु।’

यस्तै संगीतकार आलोक श्री पनि यतिबेला घरमै बसेर गार्डेनमा फूलहरु गोडमेल गरिहरेका छन्। उनलाई बँगैचामा काम गर्न निक्कै मन पर्छ। नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो ‘नेपाल स्टारका निर्णायक उनी भन्छन्, ‘ कोरोनाको कारण नेपाल स्टारको पियानो राउण्डको पनि सुटिङ पनि सर्छ कि क्या हो।’


गायक रामकृष्ण ढकाल, उदित र दीपा झा, आदित्य झाको नयाँ गीतको तयारी गरिरहेका उनी अचानक कोरोनाले बीचैमा रोक्नु परेको बताए। उनले भने, ‘नयाँ एल्बमको तयारी गरिरहेका थियौं। कोरोनाको संक्रमणले नयाँ गीतको रेकर्डिङ नै रोकियो।’

अहिले उनी घरमा आफ्ना पुराना संगीतहरु पुन: दोहोर्‍याएर सुनिरहेका छन्। बाहिर घुम्‍ने कार्यक्रम पनि तत्काल स्थगित गर्नु परेपछि उनी घरमै विरुवा रोपिरहेका छन्। गोर्खामा उनको फार्मिङ हाउस भएकाले कोरोनाका कारण त्यहाँ पनि जान सकेका छनन्।

यस्तै कोरोनाले गर्दा युवा गायक विश्व नेपालीको नयाँ आउँदै गरेको गीत ‘टेस्ट गरुम माया’को सम्पूर्ण काम रोकिएको छ। उनी भन्छन्, ‘मेरो गीतको सबै काम रोकिएको छ।अहिले घरमै बसेको छु।’

संगीतकार शम्भुजीत बाँस्कोटासँग सातै प्रदेशको सांगीतिक महोत्सव, बजाज टूर प्याकेज र विदेश यात्रा समेत तत्कालका लागि रोकिएको गायक नेपालीले बताए।

यता, गायक रामकृष्ण ढकालले भने लकडाउनको बेला घरमै जीम गर्न थालेका छन्। विभिन्‍न टूर प्याकेज, स्टुडियोमा रेकर्डिङको काम तत्कालका लागि स्थगित गरेको गायक ढकालले देशसञ्‍चारसँगको कुराकानीमा बताए। उनले भने, ‘मैरो अस्ट्रेलिया टुरपछि क्यानाडा, अमेरिका पनि टूर थियो। तर कोरोनाको माहामारी फैलिएपछि सबै क्यान्सिल गरे।’

यस्तै संगीतकार जुगल डंगोलले कोरोना भाइरसको कारण दुई हप्ताको लागि रेकर्डिङको मिति सार्नु परेको बताए।उनले भने, ‘रेकर्डिङको लागि मिति तय भएको पनि दुई हप्ताको लागि सार्नु पर्‍यो।’

उनी अहिले घरमै बसेर इथ्नो म्युजिकको किताबबारे अध्ययन गरिरहेका छन्। यसका साथै हार्मोनियममा नयाँ गीतको कम्पोजिशन पनि गरिरहेका छन्। उनी भन्छन्, ‘लकडाउनले असर गरे पनि मलाई भने खोजमुलक अनुसन्धान र नयाँ गीतको संगीत कम्पोज गर्न सजिलो भएको छ।घरमै बसेर सेनिटाइजर लगाउँदै संगीत सुन्दै काम गरिहरेको छु।’

यस्तै गायिका केन्जुमा सुब्बा भने लकडाउनको समयमा घर सफा गर्ने, फूलहरु गोड्नमा व्‍यस्त छिन्। उनले भनिन्, ‘भर्खरै नयाँ घर बनाएकाले काम धेरै गर्नु पर्नेछ।म फूलहरु मिलाउँदैछु।’ उनलाई मासु पकाउन खुब मनपर्छ।’

 

यता, त्रिभुवन विश्‍वविद्यालय संगीत विभागकी प्रमुख एवं गायिका संगीता रानाप्रधान कुलेश्वरमा अपार्टमेन्टमा बस्दै आएकी छिन्। उनी अहिले राम नवमीको लागि भजन अभ्यास गरिरहेकी छिन्।

उनी भन्छिन्, ‘रामनवमीको लागि भजन तयार गर्दैछु। कोरोनाले मलाई त सुर्वण अवसर दिए जस्तो लाग्छ। काम गर्न पाएकी छु। तर देश भक्तिको गीत रेकर्डिङमा थियो।लकडाउनले रोकिएको छ।’

बिहान- मर्निङ वाक आफ्नो अपार्टमेन्ट अगाडि गर्ने गरेको उनी बताउँछिन्। उनी भन्छिन्,’बिहान मर्निङवाकपछि भजन, गीतसंगीत रियाज गर्दै आएकी छु।’

यस्तै संगीतकार आनन्द राईले भने कोरोना फैलिदाँ चेतना मूलक गीत बनाएका छन्। उनी भन्छन्, ‘कोरोना त माहामारी पो रहेछ। त्यसकारण मैले त यसैबारेमा गीत पो बनाएको छु।’ साथै उनले विहान विहान गायत्री मन्त्र सुन्दै योगा पनि गर्दै आएको  बताए।

https://www.facebook.com/anand.rai.98871/videos/2992047680858548/

हे सृष्टिकर्ता के रोग आयो
कोरोना कोरोना कोरोना

बचौ र बचाऔ
नगरौ हामी ख्याल र ठट्टा
सबैले आफ्नो जोगाऊ
नत्र हुनेछ उल्टै घाटा….

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्