१७ रुपैयाँमा किनेको पञ्जा ५० रुपैयाँमा बेच्ने औषधि पसललाई २० हजार जरिवाना

वीरगञ्ज– बढी मूल्य लिएर पञ्जा बिक्री गर्ने एक औषधि पसललाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ।

वीरगञ्जको घण्टाघर नजिकै रहेको सुरेश मेडिकल हलले बढी मूल्य लिएर पञ्जा बेचेको भेटिएपछि जरिवाना तिराइएको हो।

उक्त औषधि पसलले ३५ रुपैयाँमा पाइने पञ्जालाई ५० रुपैयाँमा बिक्री गरेको पाइएपछि अनुगमन टोलीले २० हजार रुपैयाँ जरिवाना तिराएको हो

अनुगमनका क्रममा खरिद गरेको बिल बिजकबाट उक्त पञ्जाको खरिद मूल्य १७ रुपैयाँ रहेको पाइएको थियो।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतसहितको टोलीले अनुगमन गर्ने क्रममा पसलले बढी मूल्य लिएर पञ्जा बिक्री गरेको पाइएपछि जरिवाना गरेको उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जका अध्यक्ष अजित भुजेलले जानकारी दिए।

‘लक डाउन’को मौका छोपी व्यापारीहरुले बढी मूल्यमा सामान बिक्री गर्ने गरेको गुनासो बारम्बार आइरहेकोले अनुगमन गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए।

चैत १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्