धनुषा बम काण्डमा संलग्न भएकाे आरोपमा थप एकजना पक्राउ

फाइल तस्बिर।

जनकपुरधाम– एकजना प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जानेगरी धनुषामा भएको बम बिस्फोटको घटनामा संलग्न भएको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ स्थित महेन्द्रनगरमा बम बिस्फोटको घटनामा संलग्न रहेको भन्दै प्रहरीले धनुषाधाम नगरपालिका वडा नं. ५ का गंगा मण्डल खत्बेलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

पक्राउ परेका खत्वे नेकपा विप्लवको कार्यकर्ता रहेको कार्कीले बताए।

गत मंसिर २७ गते राति मेडिकल व्यवसायी राजेश साहको घरमा बम बिस्फोट हुँदा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहाल, घर मालिक ४८ वर्षीय राजेश साह र उनका १६ वर्षीय छोरा आनन्द साहको मृत्यु भएको थियो।

यस घटनामा अहिलेसम्म प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्