वडाध्यक्षले सामाजिक दूरी कायम गर्दै बजारभन्दा सस्तोमा बेचे आलुप्याज

तस्बिरहरु: राजा झा

जनकपुरधाम- विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न अहिले पूरा नेपाल लकडाउन छ। देश लकडाउन भएपछि दैनिक उपभोग्य सामानहरुको अभाव देखिएको छ भने कालोबजारी समेत बढेको छ। लकडाउन सर्वसाधारणलाई भएको समस्यालाई मध्यनजर गर्दै जनप्रतिनिधि अगाडि आएका छन्।

जनकपुरधाम उपहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले यस आपदाको समयमा आफ्नो वार्डबासीलाई सहज रुपमा र उचित मूल्यमा आलु प्याज तथा नून उपलब्ध गराएका छन्।

वडा नं. ७ का वडाध्यक्ष साहले लकडाउनका कारण आफ्नो वडावासीलाई पीडित हुनु नदिनका लागि गोदामबाटै आलु प्याज तथा नून उठाएर उचित मूल्यमा वडावासीलाई उपलब्ध गराएका हुन्। उनले आफ्नो वडाका स्थानीयलाई ५ किलो आलु, २ किलो प्याज र एक प्याकेट नून उपलब्ध गराएका हुन्। यसबाट जनकपुरधाम वडा नम्बर ७ का लगभग १ हजार घर परिवार लाभान्वित भएका छन्।

लकडाउनका कारण कालाबजारी बढिरहेको समयमा वडाध्यक्ष जानकीराम साहको यो कदमले वडावासी खुशी देखिएका थिए। कोरोनाको महामारी विश्वभरी फैलिरहेको समयमा यसको संक्रमणबाट बच्नका लागि वडावासीलाई सहज रुपमा कमसे कम आलु प्याज उपलब्ध गराउने सोच अनुरुप आफूले यो कार्य गरेको अध्यक्ष साहले बताए। उनले तरकारी उपलब्ध गराउँदा लाइनमा सामाजिक दुरीको समेत पालना गरेका थिए।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ मा आलु, प्याज सरल तरिकाले उचित मुल्यमा उपलब्ध गराए पनि अन्य वडामा भने त्यस्तो कुनै प्रयास भएको छैन।

प्रत्येक व्यक्तिका लागि गोलबन्द घेरा बनाइएको थियो। ती गोलबन्द घेराको दुरी ८ फिट राखिएको थियो। वडाध्यक्ष साहले तरकारी लिन आउनेहरुलाई अनिवार्य रुपमा साबुन पानीले हात धुन लगाइएको थियो भने मास्क समेत अनिवार्य गरिएको थियो। वडाध्यक्षले ३५ रुपैँयाको दरले आलु, ४५ को दरले प्याज उपलब्ध गराएका छन् भने जनकपुरधाम उद्योग वाणिज्य संघले लकडाउनको फाइदा उठाउँदै आलुको प्रति केजी ४५ रुपैया र प्याज प्रति केजी ५०/५५ रुपैँया निर्धारण गरेको छ।

जनकपुरधाममा वुधबार मात्र झण्डै दोब्बर मुल्यमा आलु र प्याज बेच्ने तीन जना व्यापारीलाई पक्राउ गरिएको थियो।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्