महावीर पुनलाई नेपालमै पीपीई बनाउन मेडिकल काउन्सिलकाे स्वीकृति

काठमाडाैँ– नेपाल कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेको भन्दै लामो समयदेखि विश्व स्वास्थ्य संगठनले पर्सनल प्रोटेक्टिभ इक्वीप्मेन्ट (पीपीई)को व्यवस्था गर्न नेपाललाई आग्रह गर्दै आइरहेको थियो।

तर नेपाल सरकारले विश्व स्वास्थ्य संगठनको कुरालाई वेवास्ता गर्दै नेपालमा भाइरसको संक्रमण फैलिने अवस्थामा पुग्दासम्म पनि पीपीईको व्यवस्था गर्न सकिरहेको छैन।

भरपर्दो सुरक्षा सामाग्री नहुँदा चिकित्सकहरु ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका खटिरहेका छन्। चिकित्सकलाई मात्र नभई बिरामीको उपचारका खटिने नर्स, स्वास्थ्यकर्मी आइसोलेसन वार्डमा रहेका सबैले पीपीई लगाउन अनिवार्य छ। तर यही अनिवार्य लगाउनु पर्ने सामाग्री सरकारले जुटाउन सकिरहेको छैन।

यो आपत्‌को घडीमा महावीर पुनकाे राष्ट्रिय आविष्कार केन्द्रले पीपीई बनाउने भएकाे छ।

चैत ११ गते शिक्षण अस्पताल महाराजगञ्ज र विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पीपीई बनाइदिन राष्ट्रिय आविष्कार केन्द्रका संयोजक पुनलाई आग्रह गरेको थिए। पुनले सोही दिनबाट काम सुरु गरे।

बुधबार पीपीईको पहिलो चरणको नमुना तयार भयो। तयार परिएको नमुनाको परीक्षण नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालको टोलीले गर्‍यो। डा. कोइराला पछिल्लो समय सरकारले गठन गरेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्य समेत हुन्।

पीपीईको परीक्षणपछि मापदण्ड अनुरुप नै भएकाे भन्दै नेपाल मेडिकल काउन्सिलले पुनलाई पीपीई बनाउन स्वीकृति दियो।

काउन्सिलले स्वीकृत दिएसँगै बिहीबारबाटै पीपीई सिलाउने काम सुरु गरिएको पुनले बताए। उनले देश सञ्चारसँग भने,‘हामी दुई ठाउँबाट काम गरिहेका छौँ, एउटा चप्पल कारखाना र अर्को पेप्सीकोलाबाट। यसका लागि हामीले १५ सय मिटर जस्तो मेटेरिइल पाएका छौँ। जुन आजैबाट बनाउन सुरु गरिएको छ।’

गार्मेन्ट कम्पनी तयार गरेपनि कालीगढ नपाउने समस्या भइरहेको उनले बताए।  ‘एक जना कालीगढले एक दिनमा ७/८ वटा बनाउन सक्ने रहेछन्। तर धेरै जसो कालीगढ अहिले उपत्यका बाहिर छन्। अहिले हामीसँग जति छन् तिनैले बनाइरहेका छन्’, उनले भने।

आविष्कार केन्द्रले पीपीई बनाउनका लागि चाहिले वाटर र एयर प्रुफ मेटेरियल (कपडा), इलास्टिक र चेनको जोहो गरे पनि पीपीई बनाउनका लागि चाहिने आवश्यक सामाग्रीको अभाव हुने पुनको भनाइ छ।

उनले भने, ‘हाम्रा लागि मुख्य समस्या भनेकै पीपीईका लागि आवश्यक सामान जुटाउनु हो। जुन पाउन मुस्किल छ। तर पनि हामीले सक्दो ठाउँमा सम्पर्क गरेर समाग्री जुटाउने कोशिस गरिरहेका छौँ।’

पीपीईको प्रयोग बिना कोरोना संक्रमितको उपचार गर्दा चिकित्सक र स्वास्थ्यकर्मीहरु समेत संक्रमणको जोखिममा पर्न सक्छन्। उनीहरुले उपचारका क्रममा टाउकोदेखि खुट्टासम्म छोपिने गरी मास्क, गाउन, फेस सिल्ड, जुत्ता लगाउनु पर्दछ।

सरकारसँग पछिल्लो समय करिब साढे ३ सय पीपीई छ। तर नेपाललाई करिब १ लाख थान पीपीई सामाग्री आवश्यक छ।

त्यसैगरी नेपालमा मात्र नभएर पीपीईको अभाव विश्वभर नै छ।

चैत १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्