‘लक डाउन’को असरः ‘दाना किन्न नसक्दा १७ लाख मूल्य बराबरका कुखुरा नष्ट गरेँ’

जनकपुरधाम– मंगलबारदेखि सुरु भएको ‘लक डाउन’ले आफ्नो व्यवसायमा गम्भीर असर परेपछि जनकपुरधामका एक जना कुखुरा व्यवसायीले कुखुरा र चल्ला नष्ट गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मिल्स एरियामा सञ्चालनमा रहेको साह कृषि तथा पशुपंक्षी फार्मका सञ्चालक मनोज साहले आफ्ना कुखुरा र चल्ला नष्ट गरेका हुन्।

उनले करिब दुई सातादेखि आर्थिक मन्दीका कारण रकम अभाव भएपछि दाना उपलब्ध हुन नसक्दा कुखुरा र चल्ला नष्ट गरेकाे बताए। २०६४ सालदेखि साहले सञ्चालन गर्दै आएको फार्ममा रहेका करिब १७ लाख रुपैयाँ बराबरका कुखुरा र चल्ला नष्ट गरेका हुन्।

नेपालमा पनि विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९)को जोखिम बढ्दै गएपछि एक साताका लागि सरकारले लकडाउन गरेको छ। जसका कारण आफ्नो पुँजी फँसेकाले कुखुराका चल्लालाई दाना खुवाउन नसकेर कुखुरा र चल्ला नष्ट गरेको शाहले जानकारी दिए।

उनले करिब १२ हजार ६ सयवटा कुखुरा र चल्ला नष्ट गरेका छन्।

फर्मबाट काठमाण्डौँसम्म कुखुराहरु सप्लाई गर्ने गरेका साहले भने, ‘व्यापारीले बैंक बन्द रहेको कारण देखाउँदै रकम नपठाई दिँदा कुखुरा र चल्लालाई दाना खरिदका लागि रकम नरहेपछि दुःखद अवस्थामा सबै नष्ट गरेँ।’

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू