‘घरमा बस्न अल्छी मानेर यताउता गर्नका लागि सवारी पास माग्नेलाई दिएर साध्यै छैन’

तस्बिरहरु: बर्षा शाह

काठमाडौँ– ‘यस जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको ‘सवारी पास’ अर्को सूचना जारी नभएसम्मको लागि स्थगन गरिएको व्यहोरा जानकारी गराइन्छ’ लेखिएको सूचना बुधबार काठमाडाैँ जिल्ला प्रशासन कार्यलयको गेटमा टाँसियो।

बुधबार जिल्ला प्रशासन कार्यलयले जारी गरेको उक्त सूचनाका बारेमा धेरै जानकार भएनन्। सवारीको पास लिन प्रशासन कार्यलय पुगे पनि रित्तै घर फर्किए। तर पास लिन प्रशासन कार्यलय पुग्ने सर्वसाधारणलाई बिहीबार पनि उक्त सूचनाले रोक्न सकेन। कार्यलयको गेट अगाडि पास पाइन्छ कि भन्ने लोभमा सर्वसाधारणको भीड लागेको थियो।

सुरक्षाका लागि गेटमा उभिरहेका सुरक्षाकर्मी बारम्बार कराइरहेका थिए, ‘तपाईहरु भीड नगर्दिनुस्, यसरी झुम्म भएर नउभिनुस्, पास बाहेक अन्य कामका लागि आएकाहरु मात्रै बस्दिनुस्।’

तर ग्रुप बनाएर बसिरहेका व्यक्तिहरुले सुरक्षाकर्मीको कुरा सुनेर पनि नसुनेझैँ गरे। उभिरहेको ठाउँबाट कसैले हलचल गरेनन्। भीडको बीचबाटै एक जान कराए, ‘पास दिइरहेको छैन भन्दा पनि किन भीड लागेर बसिरहेको होला। तपाईहरुले गर्दा हाम्रो काममा ढिलाइ भइरहेको छ।’

उनले आफू भने जरिवाना तिर्न जिल्ला कार्यलयमा पुगेको बताए।

अनावश्यक कामका लागि पास लिन आउने व्यक्तिको संख्या बढ्न थालेपछि पास दिन बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताए।

उनले भने ,‘सरकारले घर बाहिर ननिस्कनु भनेको छ। तर सर्वसाधारण सरकारको यो आग्रहलाई मान्न तयार छैनन्। पास दिन बन्द गरेपनि लिन आउनेको संख्या कम भएको छैन।’

प्रशासन कार्यलयले सवारी पास बन्द गरेको सूचना जारी गरेपनि अत्याआवश्यक कामका लागि भने पास दिइरहेको उनले बताए।

 

‘आवश्यक कामको विवरण खुलाई प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर गरिएको निवेदन ल्याएको खण्डमा पास दिने गरेका छौँ। अन्यथा घरमा बस्न अल्छी मानेर यताउता गर्नका लागि पास माग्न आउनेलाई दिएर साध्यै छैन’, कटुवालले भने, ‘हामीले पास मात्र होइन, कार्यालयमा हुने अत्यावश्क काम बाहेक सबै बन्द गरेका छौँ।’

सरकारले सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गर्नुका साथै एक अर्कासँग दूरी कायम गर्न आग्रह गरेकाे छ। तर जिल्ला प्रशासन कार्यालय अगाडि पास लिन उभिरहेका उनीहरुले सरकारको आग्रहलाई मानेकाे देखिँदैन।

यसरी संख्यात्मक रुपमा जम्मा भइरहँदा संक्रमणको जोखिम बढ्न सक्ने ईपिडिमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले बताए।

उनले भने, ‘सरकारले संक्रमण फैलिन नदिनका लागि देश ‘लकडाउन’ गरेको हो। यो समयमा सरकाले भनेको नमान्दा परिणाम नराम्रो हुन सक्छ। जम्मा भइरहेको ठाउँमा कुनै पनि व्यक्ति संक्रमित भएको खण्डमा अरुलाई सर्ने सम्भावना उच्च हुन्छ। त्यसैले हामीले बारम्बार भन्दै आएका छौँ– दूरी कायम गनुहोस्, आवश्यक कामबोहक अन्यथा घर बाहिर निस्कदै ननिस्कनुहोस्।’

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हाल विश्वका १ सय ९८ देशमा फैलिसकेको छ। अहिलेसम्म विश्वमा ४ लाख ८८ हजार भन्दा बढी मानिसहरु कोरोनाबाट संक्रमित भइसकेका छन् छन् भने संक्रमणकै कारण ज्यान गुमाउनेहरुकाे संख्या २२ हजार नाघ्याे।

नेपालमा कोरोना भाइरसको संक्रमण अहिलेसम्म ३ जनामा देखिसकेको छ। संक्रमित २ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ भने एक जना निको भएर घर फर्किसकेका छन्।

संक्रमित तीनै जना विदशबाट नेपाल फर्केका हुन्।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू