कोभिड -१९ को उपचारमा संवेदनहीनता प्रदर्शन

सुध्र या छोड, स्वास्थ्यमन्त्री ढकालसँग दुई विकल्प

काठमाडौँ- मुलुकमा कोभिड-१९ ले महामारीको रुप नलियोस् भनेर अहोरात्र कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु विभागीय मन्त्री भानुभक्त ढकालको अभिव्यक्ति, व्यवहार र कार्यशैलीबाट क्षुब्ध तथा निराश बनेका छन्।

सन्त्रासको यो वातावरणमा एकपछि अर्को संवेदनहीन अभिव्यक्तिहरु दिएका मात्र हैनन्, मन्त्री ढकालले विज्ञ र उपचारको जिम्मेवारीमा रहेकाहरुलाई समेत उपेक्षा गरी एकलौटीरुपमा ‘प्रचार’ को भोक देखाइरहेको उनीहरुको आरोप छ।

कतिले त मन्त्री ढकालले संवेदनशील र जवाफदेही भएर काम गर्नु पर्ने या तत्काल राजीनामा दिएर स्वास्थ्य विषय बुझेको नेता स्वास्थ्यमन्त्री बन्न पाउने मार्ग प्रशस्त गरिदिनु पर्ने माग समेत उठाउन थालेका छन्। यस्तो माग खासगरी सामाजिक सञ्जालमा ब्यापक बनेको छ।

मन्त्री ढकाल बुधबार कोभिड-१९ पुष्टि भएका १ संक्रमितबारेको सूचना सार्वजनिक गर्ने क्रममा संक्रमितको उपचार गरिरहेको, उनीहरुको नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको र त्यसको रिपोर्टको प्रतिक्षा गरिरहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशकलाई ‘बाइपास’ गरेर आफैँ क्यामेराअघि उभिए।

तर संक्रमतिबारे जानकारी सार्वजनिक गर्ने क्रममा दुबईबाट आएका बिरामीलाई कतारबाट आएको भन्दै गलत अभिव्यक्ति दिएर विवादमा तानिए उनी। त्यसको केही घण्टामै मन्त्रालयले भूलसुधार जारी गर्‍यो।

‘गल्ती थियो मन्त्री ढकालको तर क्षमयाचना मन्त्रालयका प्रवक्ताबाट आयो, कस्तो विडम्बना’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारी भन्छन्।

चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित उपचारका लागि अत्यावश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट(पीपीई) माग गरेको प्रसंगमा मन्त्री ढकालले भने, ‘म पीपीईबारे जान्दा पनि जान्दिन थिएँ। अहिले आएर बल्ल नाम कण्ठ भयो। तर यो घरमा भात पकाउनेलाई पनि नभई नहुने भन्ने जस्ताे मनोवैज्ञानिक स्थापित हुनु राम्रो होइन।’

पीपीईबारे यस्तो अभिव्यक्ति दिएर मन्त्री ढकालले आफ्नो संवेदनहीनता र अज्ञानता दुवै प्रदर्शन गरेका छन्।

दुई महिनाअघि चीनमा कोभिड-१९ पुष्टि भएलगत्तै स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले नेपालमा त्यसको रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका क्रममा अत्यावश्यक ‘पीपीई’ पनि खरिद गर्न दिएको सुझावकाे बेवास्ता गर्ने मन्त्री ढकालनै थिए।

समग्र चिकित्सक तथा स्वास्थ्यकर्मीको अभिभावकको भूमिकामा रहेका मन्त्री ढकालबाट यस्तो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आएपछि कोभिड-१९ को उपचारका लागि सरकारले जिम्मा लगाएका अस्पतालमा ‘ओभर टाइम’ खटिरहेका प्राय सबै चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु हतोत्साहित भएका छन्।

आइतबार सरुवा रोग अस्पतालमै उपचार गराइरहेकी एक युवतीलाई कोभिड-१९ पुष्टि भएको सूचना सार्वजनिक गर्दा पनि उनले हस्तक्षेप गरे।  संक्रमितबारे सम्बन्धित अस्पतालले हैन, स्वास्थ्य मन्त्रालयले मात्रै जानकारी दिनुपर्छ भन्ने निर्देशन मातहतका निकायलाई दिए उनले।

बिरामीको उपचार गरिरहेको अस्पतालका निर्देशकले कोभिड-१९ ‘कन्फर्मेसन टेष्ट’बारे सञ्चारमाध्यमबाट थाहा पाउनु पर्ने परिस्थिति उत्पन्न भयो। कोभिड-१९ का बिरामीको उपचारको व्यवस्थापनमा अहोरात्र खटिरहेका सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारी मन्त्री ढकालको गतिविधिबाट असन्तुष्ट देखिन्छन्।

मन्त्री ढकालको नाम प्रत्यक्षरुपमा नलिए पनि डा. राजभण्डारी भन्छन्, ‘बिरामीको जोखिमपूर्ण उपचार गर्ने नमूना संकलन गरेर पठाउने हामीलाई संक्रमितबारे सञ्चारमाध्यमबाट थाहा हुनु विडम्बना हो। यस्तो बिरामीको उपचारमा संक्रमणबारे एक मिनेट ढिलो आउनुले पनि धेरै अर्थ राख्छ तर यस्तै छ हाम्रो देशमा।’

स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा. सेनेन्द्रराज उप्रेतिले प्राविधिक विषय (चिकित्सा सेवा वा रोग) बारे जानकारी सम्बन्धित अस्पताल, प्रयोगशाला या स्वास्थ्य मन्त्रालयका प्रवक्ताले सार्वजनिक गर्ने यसअघिको अभ्यास हाल आएर उल्लंघन भएको बताउँछन्।

मन्त्रीको अभिव्यक्तिबारे टिप्पणी गर्न नचाहे पनि डा. उप्रेती भन्छन्, ‘स्वास्थ्य अति संवेदनशील विषय हो। त्यसमाथि यस्तो संकटका बेला स्वास्थ्य सेवा प्रदायक निकायको नेतृत्व गर्नेहरुले निकै संवेदनशील भएर बोल्नुपर्छ। आफ्नो ज्यानको प्रवाह नगरी काममा खटिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाउनेगरी बोल्नुपर्छ।’

यता स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. यशोवर्द्धन प्रधान कोभिड–१९ जस्तो महामारीको रोकथामका लागि स्वास्थ्यमन्त्रालयले पीपीई लगायत सामग्री समयमै खरिद नगर्नु र हाल आएर त्यसको अत्यावश्यकता नबुझी विभागीय मन्त्रीले अभिव्यक्ति दिनु गलत भएको बताउँछन्।

उनी भन्छन्, ‘पीपीई के हो? यो कसरी बन्छन्।? कहाँ बन्छ र यसको महत्व के छ भन्नेबारेमा मन्त्रीलाई जानकारी थिएन भने त्यसबारे बोल्न हुँदैन थियो। बोल्नुअघि राम्ररी बुझ्न जरुरी थियो।’

पीपीईको अभावमा अस्पतालमा अघिपछि उपचारका क्रममा लगाइने गाउन लगाएर बिरामीको स्क्रिनिङ गर्दै वीर अस्पतालका नर्स। तस्बिर- दीपा दाहाल

यसअघि एक टेलिभिजनलाई ‘घरमा पाहुना आएको र अहिले नबोल्ने’ अभिव्यक्ति दिएर मन्त्री ढकाल विवादमा तानिएका थिए।

विज्ञहरुसँग समन्वय होइन, आफ्ना निर्णय मात्रै सुनाउँछन्

जनस्वास्थ्यको यस्तो संकटकालीन अवस्थामा विज्ञहरुसँग पनि पर्याप्त समन्वय नगरी काम गरेको आरोप मन्त्री ढकालमाथि लागेको छ। स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘यस्तो संकटका बेला बैठक बस्दा या निर्णय गर्दा सम्बन्धित विज्ञहरुको सुझाव लिनु महत्वपूर्ण मानिन्छ। र सुझाव कार्यान्वयनका सिलसिलामा आउने व्यवधान फुकाउन पनि विज्ञहरुको सुझाव लिनुपर्छ।’

उनी थप्छन्, ‘तर मन्त्रीले हाम्रा कुरा सुन्दै सुन्नुहुन्न। सिंहदरबारबाट जे निर्देशन आउँछ त्यो मात्रै कार्यान्वय गर्नुपर्छ भन्दै झोक्किनुहुन्छ।’

वीर, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौँ विश्वविद्यालयको धुलीखेल अस्पतालमा कोभिड–१९को परीक्षण सेवा सुरु गर्ने सम्बन्धमा मन्त्री ढकालले सम्बन्धित अस्पतालसँग उनीहरुको विद्यमान क्षमताबारे अध्ययननै नगरी उच्चस्तरीय समितिबाट निर्णय गराएको गुनासो गर्दै आएका छन्।

यस्तै मन्त्री ढकालले कोभिड–१९को उपचारका लागि तत्कालै हरेक अस्पतालमा २० वटा आईसीयु बेड विस्तार गर्ने भन्दै उच्चस्तरीय समितिबाट गराएको निर्णय पनि अव्यवहारिक भएको बताउँछन् सम्बन्धित अस्पतालका निर्देशकहरु।

‘विश्वव्यापीरुपमा संकट आइलागेका बेला हामीलाई आवश्यक पर्ने सामग्री कसैले दिँदैन। नेपालमा कुनै पनि सामान बन्दैन। र, आवश्यक सामग्री अत्यन्तै न्यून मात्रामा छ। पहिले–पहिले मन्त्रालयमा आइसीयु निर्माणको प्रस्ताव लिएर जाँदा अहिले बजेट छैन भन्दै पन्छाइयो । अहिले तत्कालै आइसीयु बनाऊ भन्ने निर्देशन आउँछ। यो जस्तो अव्यवहारिक निर्णय के होला?’ एक अस्पतालका निर्देशकले भने।

डा. प्रधान आफूहरुको पालामा कोभिड–१९ जस्तै कयौँ सरुवा रोग देखिएको तर स्वास्थ्यकर्मीलाई पीपीई लगायत सामग्री बेलैमा उपलब्ध गराउँदा उनीहरुले डटेर त्यसको उपचार तथा रोकथाम गरेको सुनाउँछन्। अहिले त्यस्तो काम गर्नबाट स्वास्थ्य मन्त्रालय चुकेको डा. प्रधानको भनाइ छ।

वीर अस्पतालमा कार्यरत नर्स निकिता चौलागाईँ भन्छिन्, ‘हाम्रो कर्तव्य बिरामीलाई बचाउने हो । हामीलाई बचाउने कर्तव्य सरकारको हो। पीपीई जति सक्दो छिटो आउँछन् त्यति हामीले आफू सुरक्षित भएको महशुस गर्ने छौँ।’

प्रचारप्रसारका लागि मात्रै अनुगमन गर्न रुचाउने

मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्री ढकालको अनुगमनमा निकै रुचि छ। तर त्यो काम भन्दा बढी प्रचारका लागि हुने गरेको छ। मन्त्री ढकाल आफ्नो अनुगमनमा सकेसम्म धेरै विज्ञहरु लिएर जान चाहन्नन्।

ती अधिकारी भन्छन्, ‘यसअघि स्वास्थ्यमन्त्रीले यस्तो गरेनन्। उनीहरुले अनुगमनका लागि विज्ञहरु सम्मिलित कार्यदल निर्माण गर्थे। कार्यदललाई अनुगमनमा पठाउँथे, त्यसको रिपोर्ट सुन्थे र कार्यान्वयका क्रममा आउने जटिलता फुकाउन कानुन संशोधनका लागि लबिङ गर्थे।’

अनुगमनका क्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल।

मन्त्री ढकाल प्राय सबै ठाउँमा आफैँ अनुगमनमा जाने गर्छन्। तर अनुगमनका क्रममा उनले सम्बन्धित निकायका अफठ्याराबारे गरिएका कुरा सुन्दैनन्। हतारोमा हुन्छन् प्राय मन्त्री ढकाल।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र मन्त्री ढकालले उच्चस्तरीय समितिको बैठकमा भने कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि भयंकर काम भइरहेको र ढुक्क हुन अन्य मन्त्रीलाई आग्रह गर्दै आएका छन्।

तर समितिका सदस्य समेत रहेका एक मन्त्रीकाअनुसार स्वास्थ्यमन्त्रीले एकपछि अर्को गर्दै दिएका विवादास्पद अभिव्यक्ति र अव्यवहारिक निर्णयको विषयले हालैको समिति बैठकमा पनि प्रवेश पाएको छ।

‘अहिलेको सबैभन्दा ठूलो प्राथमिकता जनताको जीवन बचाउने हो । त्यसका लागि जीवन बचाउन प्रयासरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई अघि सारेर मन्त्रीले काम गर्नुपर्छ । स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्ने संवेदनशील त हुनैपर्छ । राम्रो काम गर्न सकिदैन भने राजीनामा दिनुपर्छ,’ ओली सरकारकै एक मन्त्रीले भने।

कानुन मन्त्रालयको जिम्मेवारीमा रहेका मन्त्री ढकालले करिव ४ महिना अघि उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजीनामा गरेपछि कानुको अतिरिक्त स्वास्थ्यमन्त्रीकाे जिम्मेवारी पाएका थिए।

तर शिवमाया तुम्बाहाङफेलाई कानुनमन्त्रीको जिम्मेवारी दिएपछि ढकाललाई स्वास्थ्यको विभागीय मन्त्री बनाइएको थियो।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू