कोशीमा कोरोना परीक्षणः दुईजनाको रिपोर्ट नेगेटिभ, नयाँ दुईजना आइसोलेनमा

विराटनगर- विराटनगरस्थित कोशी अस्पतालमा कोरोना भाइरस (कोविड १९) को शंकास्पद मानिएका दुई जना विरामीको रिपोर्ट नेगेटिभ आएको छ।

तीन जनाको थ्रोट स्वाब परीक्षणका लागि काठमाडौं पठाइएकोमध्ये दुईजनाको रिर्पोट नेगेटिभ आएको अस्पतालका चिकित्सक लक्ष्मीनारायण यादवले जानकारी दिए।

डा. यादवका अनुसार सप्तरीबाट शंकास्पद लागेर ल्याइएका पुरुषको रिपोर्ट र अर्का एकजनाको रिपोर्ट नेगेटिभ आएको हो। अर्का एकजनाको रिर्पोट भने आउन बाँकी रहेको उनले जानकारी दिए।

हाल अस्पतालमा इलामबाट दुईजनालाई ल्याएर आइसोलेसनमा राखिएको छ। डा. यादवले भने, ‘हाल अस्पतालमा तीन जना आइसोलेसनमा हुनुहुन्छ। आजैमात्र इलामबाट एक महिला र एक पुरुषलाई ल्याइएको छ। उहाँ दुवैजना विदेशबाट आउनुभएको हो।’

दुवै जनाबाट कोरोना परीक्षणका लागि नमूना संकलन गरिने भएको छ।

त्यसैगरि, मोरङको टाँडीमा ५६ जनालाई क्वारेन्टाइनमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार बिहीबार ५ जनालाई होम क्वारेन्टाइनका लागि पठाइएको छ। यसअघि टाँडीमा ६१ जना राखिएको थियो।

लक डाउनको अवस्था

विराटनगर महानगरमा लक डाउन घोषणा गरिएको तेस्रो दिन सर्वसाधारणको चहलपहलमा कमी आएको छ। तथापि बिहान र बेलुका सब्जीमण्डी गुद्री बजारमा तरकारी तथा खाद्यान्न खरिद गर्नेहरुको चहलपहल थियो।

सर्वसाधारणलाई घरबाहिर ननिस्कनका लागि स्थानीय प्रशासन तथा प्रहरीले सूचना जारी गरिरहँदासमेत सर्वसाधारण विभिन्न बहानामा घर बाहिर निस्किने गरेको प्रहरीको भनाइ छ।

लकडाउन अवज्ञा गर्ने क्रममा बिहीबार २ जनालाई नियन्त्रणमा लिइएको छ। प्रहरीले बेलुकासम्म लक डाउन उल्लंघन गर्ने ८८ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। मोरङमा लक डाउन अवज्ञा गर्दै हिँडेको अवस्थामा ७० वटा मोटरसाईकल, २ वटा ट्रयाक्टर, ५ वटा सिटी सफारी तथा ट्याम्पो, २ वटा स्कुटी तथा ९ वटा साइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू