स्वास्थ्य सचिवको विवादास्पद अभिव्यक्ति, ‘स्क्रिनिङ गर्ने स्वास्थ्यकर्मीले पीपीई लगाउनु पर्दैन’

काठमाडौँ- स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड -१९ को उपचारलाई लिएर संवेदनहीन अभिव्यक्ति दिएर विवादमा तानिएका बेला स्वास्थ्य सचिव यादव कोइरालाले पनि त्यस्तै विवादस्पद अभिव्यक्ति दिएका छन्।

सचिव कोइरालाले बिरामीको जाँचका क्रममा जथाभावी पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट ‘पीपीई’ लगाएका कारण त्यसको अभाव भएको भन्दै गैरजिम्मेवारी पूर्ण अभिव्यक्ति दिएका हुन्।

यस्तै उनले बिरामीको उपचारको पहिलो चरण ‘स्क्रिनिङ’ का क्रममा पीपीई लगाउन आवश्यक नभएको र त्यतिबेला साधारण मास्क, पञ्जा, चस्मा र क्याप लगाए सुरक्षा हुने मापदण्ड आफूहरुले बनाएको बताए।

मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोभिड -१९ देखिएका बिरामीको उपचारका क्रममा पूर्णरुपमा पीपीई लगाउनु पर्ने मापदण्ड बनाएको सुनाए।

उनले भने,‘ कोभिड १९ को उपचारका लागि तोकिएका केन्द्र र प्रदेशमा २५ वटा अस्पतालमा फिबर क्लिनिक सञ्चालन गर्नलाई १० लाखका दरले रकम उपलब्ध गराएका छौँ। त्यहाँ जाँच गर्दा कोराना भाइरसको संका लाग्यो भने मात्रै आइसोलेसनमा राखेर नमूना जाँच गराउने हो।’

सचिव कोइरालाले ७ सय भन्दा बढी बिरामीको नमूना जाँच गरेको र त्यो पर्याप्त भएको बताए।

अर्कोतिर उनले कोरोना भाइरसको कतिपय अवस्थामा लक्षण नदेखिने भएकाले ‘होम क्वारेन्टाइन’ मा बस्नु पर्ने बताए।

उनले भने,‘ ज्वरो आउँदैमा, रुघाखोकी लाग्दैमा अत्तालिनु पर्दैन । जाँच गरेपछि मात्रै थाहा हुन्छ।’

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्