अमेरिकीलाई मेक्सिको प्रवेशमा रोक लगाउन माग, एउटा सीमा नाका बन्द

अमेरिकीहरुले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण फैलाउन सक्ने भन्दै मेक्सिकोका प्रदर्शनकारीले अमेरिकासँगको एक सीमा नाका बन्द गरेका छन् ।

कोरोना भाइरसको परीक्षण नभएका अमेरिकी प्रवेश गर्ने र उनीहरुबाट संक्रमण फैलिन सक्ने भन्दै मेक्सिकन प्रदर्शनकारीले दक्षिणी सीमा नाका बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकामा कोरोना भाइरसको संक्रमण पछिल्लो समय विश्वका अरु देशमा भन्दा तीव्र गतिमा बिस्तार भइरहेको छ । एकै दिन झण्डै १५ हजार नयाँ संक्रमित थपिएपछि अमेरिका कुल संक्रमितको संख्यामा चीन भन्दा पनि अघि पुगेको छ ।

अमेरिकामा ८३ हजार भन्दा धेरै मानिसमा कोरोनाको संक्रमण पुषिट भएको छ । अझै धेरै शंका लागेकाहरुले परीक्षण गर्न नपाएको बताइन्छ ।

परीक्षण नभएका अमेरिकी यात्री प्रवेश गर्दा आफ्नो देशमा संक्रमण फैलिने भन्दै मेक्सिकोको सोनोराका बासिन्दाले विरोध प्रदर्शन गरेका हुन् । अमेरिकी राज्य एरिजोनासँग जोडिएको सोरोनाका बासिन्दाले एक सीमा नाका बन्द गरे ।

प्रदर्शनकारीले मास्क लगाएका थिए र उनीहरुले अमेरिकीलाई घरै बस्न आग्रह गरेको प्लेकार्ड बोकेका थिए ।

मेक्सिकोमा अहिलेसम्म ४७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ । प्रदर्शनकारीले अमेरिकीको प्रवेशमा रोक लगाउनु पर्ने माग गरेका छन् ।

चैत्र १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्