इटालीको दक्षिणी क्षेत्र कोरोना भाइरस संक्रमणको नयाँ ‘हटस्पट’ बन्ने चिन्ता

कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित भएको इटालीको उत्तरी क्षेत्रमा नयाँ संक्रमण तथा थप मृत्युमा कमी आउन थालेसँगै केही आशा पलाएको छ ।

तर देशको दक्षिणी क्षेत्रमा संक्रमण तीव्र गतिमा फैलिने चिन्ता थपिएको छ।

इटालीमा कोरोना भाइरस महामारीको इपिसेन्टर उत्तरी क्षेत्र लोम्बार्दीमा महामारी केही कमजोर बन्दै गएको देखिएको छ । देशको दक्षिणी क्षेत्र नयाँ हटस्पट बन्ने जोखिम बढेको हो ।

उत्तरको तुलनामा दक्षिणमा गरिब इटालियनको बसोबास छ । तुलनात्मक रुपमा कमजोर आर्थिक अवस्था भएकाहरुको बसोबास रहेको दक्षिणी क्षेत्रमा पछिल्लो केही दिनमा संक्रमितको संख्या तीव्र रुपमा बढेको देखिएपछि चिन्ता थपिएको हो ।

दक्षिणी क्षेत्रमा संक्रमण बिस्तार भएमा अहिलेको स्वास्थ्य सेवाले चाप धान्न सक्ने छैन । इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण ८ हजार २१५ जनाको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या ८० हजार ५३९ रहेको छ ।

नाप्लेस नजिकैको काम्पानिया तथा रोमको लाजिओ क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढिरहेको देखिएको छ ।

यी क्षेत्रका स्वास्थ्य सेवाहरु धनी क्षेत्र उत्तरका स्वास्थ्य सेवा भन्दा कम सुविधा सम्पन्न रहेका छन्। काम्पानिया क्षेत्रमा अहिलेसम्म ७४ तथा लाजिओमा ९५ जनाको ज्यान गएको छ ।

चैत्र १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू