सरकार, पुतली बगैँचाबाहिर पनि नेपाल छ

सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लक डाउन गरेको छ। यो सराहनीय छ। संसारमा धेरै प्रविधिको विकास भए पनि मान्छे मार्ने मर्ने प्रविधिको मात्र विकास भएजस्तो देखिएको छ। विश्वका सम्पन्न मुलुकहरु नै त्रसित भएर बसेका छन्। चाहे अमेरिका होस् वा इटाली, स्पेन, जर्मनी, चीन सबै त्रसित भइरहेका छन्।

जर्मन चान्सलर र बेलायती राजकुमार नै क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ। नेपालमा लक डाउनलाई जनताले स्वस्फुर्त रुपमा स्वीकार गरेका छन्। तर सरकारले यो बेला जसरी प्रभावकारी कदम चाल्नु पर्ने हो, त्यो हुन सकिरहेको छैन। प्रधानमन्त्रीज्यू एक दिन टेलिभिजनमा देखिनुभयो, त्यो उहाँले बोल्नु आवश्यक पनि थियो किनभने भर्खर अस्पतालबाट फर्किनु भएका प्रधानमन्त्रीले म स्वस्थ्य छु भनेर देखाउन आवश्यक थियो। तर उहाँको टिममा रहेका व्यक्तिहरुमा हतास मनस्थिति देखिन्छ।

अब विस्तारै भयावह अवस्था सिर्जना हुन सक्छ। खाद्यवस्तुको अभाव हुँदा अखाद्यवस्तको बिक्री वितरण हुन सक्छ। एक हप्तासम्म त मानिसहरु चुप लागेर बस्लान्, त्यसपछि किनमेल हुने ठाउँमा ठूलो भीड देखिन थाल्नेछ। त्यसले महामारीलाई अर्को ठाउँमा पुर्‍याउन सक्छ, त्यसबारे सरकारकाले के सोचेको छ?

सरकारले स्वास्थ्यकर्मीले लगाउन लुगा (पिपिई) समेत उपलब्ध गराउन सकेको छैन। यसले सरकार कतिसम्म चुप लागेर बसेको रहेछ भन्ने देखिएको छ। बल्ल पर्यटनमन्त्री योगेश भट्टराई क्वारेन्टाइनका लागि भन्दै नगरकोटतिर जाँदै हुनुहुन्छ। यसमा पहिलेदेखि नै सरकारले पहल गर्नुपर्थ्यो। सस्तो लोकप्रियताका लागि मात्र सरकारले काम गरेको देखियो। स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय र समन्वयन समिति भनेर उपप्रधानमन्त्रीज्यूले बेग्लाबेग्लै पत्रकार सम्मेलन हुनछ। उपप्रधानमन्त्रीज्यूलाई पुतली बगैंचामा टेन्टभित्र बसेर आर्मीले रोपेको फूलको वास्ना लिँदै टेलिभिजनमा आउने रहर छ।

अब विस्तारै भयावह अवस्था सिर्जना हुन सक्छ। खाद्यवस्तुको अभाव हुँदा अखाद्यवस्तको बिक्री वितरण हुन सक्छ। एक हप्तासम्म त मानिसहरु चुप लागेर बस्लान्, त्यसपछि किनमेल हुने ठाउँमा ठूलो भीड देखिन थाल्नेछ। त्यसले महामारीलाई अर्को ठाउँमा पुर्‍याउन सक्छ, त्यसबारे सरकारकाले के सोचेको छ? दिनभर कमाएर बेलुका खाने जनताका लागि सरकारले केही गर्न सकेको छैन। प्रदेशसम्मले महामारीका लागि भनेर कोषको घोषणा गरेका छन्। सबैभन्दा पहिला कमजोर वर्गका लागि राहतका प्याकेज ल्याउनु पर्थ्यो।

अर्कोतर्फ स्वास्थ्यकर्मी खुशी हुन सकेका छैनन्। यसको असर पहाडी क्षेत्रमा सबैभन्दा धेरै पर्ने सम्भावना छ। कोही बिरामी भइआल्यो भने उसलाई हेर्न कोही जाँदैन। कोरोना भाइरस हो कि भनेर छुन जाँदैन। परीक्षणका लागि काठमाडौँमा पठाउनुपर्छ। लक डाउनका कारण सवारी साधन चलेका छैनन्। बिरामीलाई अस्पताल लैजाने अवस्था छैन। यसबारे तयारी के छ? सरकार चुप लागेर बसेको छ।

देश संकटतर्फ उन्मुख भइरहेका बेला सरकार सानातिना मुद्दामा केन्द्रित रहेको छ। कोरियाले छिट्टै हल्ला नगरी कोरोनाबाट मुक्ति पायो, हामी काम कम हल्ला बढी गर्न केन्द्रित भइरहेका छौं। नेपालमा अहिलेसम्म जम्मा सात सयजनाको मात्र परीक्षण भएको छ। बाहिरबाट आएका अधिकांश मानिसहरु आतंकित भएका छन्। उपत्यका बाहिर परीक्षण सुरु हुन सकेको छैन। सके सबै जिल्लामा त्यति नसके प्रदेशमा भने पनि परीक्षणको व्यवस्था गरिनुपर्छ।

रेमिट्यान्स बन्द हुने अवस्था सिर्जना भइसक्यो। त्यसको असर के पर्छ? त्यसबाट अर्थतन्त्रलाई बचाउन के के गर्नुपर्ने हो? त्यसतर्फ सरकारले ध्यान दिएको छैन। सस्तो लोकप्रियताका लागि मात्र दौडिरहेको छ। यति बेला सत्ता पक्ष प्रतिपक्ष नभनी काम गर्नुपर्छ। त्यसै भएर कांग्रेसले ५० लाख सरकारलाई बुझाएर एकद्धार प्रणालीबाट वितरण होस् भन्ने चाहेको छ। सरकारभन्दा व्यापारीहरु बलियो देखिएको छ। सरकारले उपलब्ध गराउन नसकेको पिपिई विनोद चौधरीहरुले चिकित्सकलाई वितरण गरिरहेका छन्। सरकारले अति आवश्यक काम पनि गर्न नसक्दा यो सरकार सफल हो कि असफल हो छुट्याउन गाह्रो पर्न थालिसक्यो।

स्वास्थ्यका कारण प्रधानमन्त्रीले केही गर्न सक्नुभएको छैन। अझ त्योभन्दा बोल्न सक्नुभएको छैन, त्यो जनताका लागि सुखद नै विषय हो। उहाँको टिम जो छ, पुतली बगैंचामै रमाउने हो भने जनताले पाउने दुर्गन्ध मात्रै हो।

(पूर्वसांसद रामहरि खतिवडासँग गरिएको कुराकानीको सम्पादित अंश। उनी नेपाली कांग्रेसका नेता हुन्।)

चैत्र १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्