मानवजाति शासक होइन, सर्वोच्च सत्ताको प्रतिनिधि

अहिले सारा पृथ्वीमा कोरोना भाइरसको शासन छ। हामी मानवजाति कोरोना भाइरसको त्रासले काँपिरहेका छौँ। सामान्य आँखाले नदेखिने एउटा असामान्य सत्ताले अहिले पृथ्वीमा शासन गरिरहेको छ। हामी सामान्य मानवजन सामान्यतया: आँखाले नदेखिने सत्ता स्वीकार गर्दैनौँ तर यो हाम्रो सीमित बुदद्धिको समय होइन, ज्ञान, विवेक र अन्तरआत्माको समय हो।

आँखाले नदेखिने कोरोना भाइरससँग जुध्न आँखाले नदेखिने अन्तरआत्मा प्रयोग गर्नुपर्ने समय हो यो।

यो मिचिमिची हात धुनुपर्ने समय हो।

यो घरभित्र बस्नुपर्ने समय हो।

यो हाम्रो व्यवहार र महत्त्वांकाक्षा जाँच्नुपर्ने समय हो।

यो हृदयभित्र पस्नुपर्ने समय हो।

बुद्ध पृथ्वीबाट बिदा भएको २५ सय वर्षपछि हामी अझै पनि विवेक, अन्तरआत्मा वा ज्ञानको घेराभित्र आउन चाहेका छैनौँ। बुद्धि व्यक्तिगत हुन्छ भने ज्ञान र विवेक सार्वभौभ। बुद्धि मेरो हुन्छ भने ज्ञान र विवेक मानवजाति।

हामी मानवजाति भने व्यक्तिगत यात्रामा निस्केका छौँ। हजारौँ वर्षदेखि अहिलेसम्म। आफ्नो सीमित बुद्धिको परिणामस्वरुप निर्माण हुने व्यक्तिगत यात्रामा। वास्तविक रुपमा हाम्रो यात्रा सामूहिक हो। हामी सबै यो सानो पृथ्वीका ससाना जीवहरु मात्र हौँ। समग्र रुपमा हाम्रो यात्रा पृथ्वीको यात्राभन्दा अलग्गै अघि बढ्न सक्दैन।

व्यक्तिगत यात्रा र सामूहिक यात्राको यो द्वन्द्व वास्तविक रुपमा हाम्रो महत्त्वाकांक्षा र विवेकको द्वन्द्व हो। यो द्वन्द्व वास्तविक रुपमा हाम्रो बुद्धि र अन्तरआत्माको द्वन्द्व हो। आवरणले ढाकिएका हामी र हाम्रो साँचो स्वरुपबीचको द्वन्द्व हो।

कुरा अलिकति गहिरो छ। तर, यो गहिरै कुरा गर्नुपर्ने समय हो।

हामी बस्ने यो पृथ्वी सानो छ, कोमल छ, प्रेमपूर्ण छ। हामी भने ठूला छौँ। कठोर छौँ। दौड र महत्त्वाकांक्षाले भरिएका छौँ। आशक्तिलाई नै प्रेम ठान्छ संसार। चाहे शरीरको आशक्ति होस्, चाहे पैसाको, चाहे ऐश्वर्यको। हाम्रा ‘आवश्यकता’ सामान्यतया: पूरा हुन अप्ठ्यारो छैन तर आशक्तिको कुनै ‘औषधि’ छैन।

कोरोना भाइरसले हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भइरहेको खबरले हामीभित्रको विवेक वा अन्तरआत्मालाई, थोरै नै सही, सतहमा ल्याइदिएको छ। हामीभित्रको घमण्ड कोरोना भाइरसले हरेक दिन, अलिअलि नै सही, ध्वस्त पारिरहेको छ। केपी ओली, नरेन्द्र मोदी, डोनाल्ड ट्रम्प वा सी जिङपिङजस्ता ‘महान’ शासकहरु पुच्छर लुकाएर घरभित्रै बस्न बाध्य भइरहेका छन्। जानीनजानी सर्वोच्च सत्ताको शरण पर्न वा त्यो पथमा अघि बढ्न बाध्य भएका छन्।

पृथ्वीमा शासन गर्ने अथवा अझ एक कदम अघि बढेर यो बहुब्रम्हाण्डमा शासन गर्न खोज्ने मानवजातिको गालामा कोरोना भाइरसले नमीठो थप्पड बर्साएको छ।

सोचौँ त- ओली, मोदी, ट्रम्प वा सी नै हुन्- यो अस्तित्वका वास्तविक शासक?

ओली, मोदी, ट्रम्प वा सी शासक हुन् वा सर्वोच्च सत्ताका प्रतिनिधि?

हामी मानवजाति शासक हौँ वा सर्वोच्च सत्ताका प्रतिनिधि?

यो अस्तित्वको केन्द्रमा विराजमान सर्वोच्च सत्तालाई हाम्रा सोच र कर्महरुले चुनौती दिने प्रयास गरेका छन् वा हामीले त्यो सर्वोच्च सत्ताकै लयमा आफूलाई समाहित गरिरहेका छौँ?

के हामी ज्ञानी छौँ? के हामी विवेकपूर्ण छौँ?

ज्ञान के हो?

मनोविज्ञानका भाषामा भन्ने हो भने तपाईँको बानीमा आउने स्थायी परिवर्तन नै ज्ञान हो। जे हामीले पढेका छौँ, जे हामीलाई हुनुपर्छ भन्ने  लाग्छ, के त्यो हामीले आफ्नो व्यवहारमा रुपान्तरण गरेका छौँ?

‘सपनाको देश’ अमेरिका संसारमै सबैभन्दा बढी कोरोना भाइरस संक्रमण भएको देश बनेको छ। के अमेरिकाको आम जीवनशैली ज्ञानको भाषामा स्वीकारयोग्य छ? अमेरिकाजसरी कुदिरहेको छ, के त्यसरी कुद्नु आवश्यक छ? जति नै कुदे पनि हामी यो सानो पृथ्वीको सीमाभन्दा बाहिर जान सक्दैनौँ।

के हाम्रो दौड हाम्रै आफ्नो मृत्युको दौड होइन?

के हाम्रो दौड मानवजातिको विनाशको दौड होइन?

अमेरिका र संसारका कयौँ विकसित देशमा अधिकांश रुपमा फ्रोजन र पकाएरै पनि फ्रिजमा राखिएका खानेकुरा खाइन्छन्। उठीउठी खाने, कुदिकुदी खाने, हतारहतार खाने अमेरिकाको आम चरित्र हो। भोग्य चरित्र। यसले अमेरिकाको महत्त्वाकांक्षा पनि झल्काउँछ। यही सारा संसारको पनि महत्त्वाकांक्षा बनेको छ। अमेरिकाको यही चरित्र संसारभरिका मानिसहरु सिको गरिरहेका छन्।

हामी बस्ने यो पृथ्वी सानो छ, कोमल छ, प्रेमपूर्ण छ। हामी भने ठूला छौँ। कठोर छौँ। दौड र महत्त्वाकांक्षाले भरिएका छौँ। आशक्तिलाई नै प्रेम ठान्छ संसार। चाहे शरीरको आशक्ति होस्, चाहे पैसाको, चाहे ऐश्वर्यको। हाम्रा ‘आवश्यकता’ सामान्यतया: पूरा हुन अप्ठ्यारो छैन तर आशक्तिको कुनै ‘औषधि’ छैन।

हामी पृथ्वीबासी सबैले आफ्नो अन्तरआत्मालाई सोध्ने हो भने यो संसारमा वास्तविक रुपमा केको शासन हुन्छ भन्ने थाहा लाग्छ। संसारमा नियमको शासन हुन्छ। सारा अस्तित्वका ग्रह, उपग्रह, तारा, हावा, पानी, हाम्रै वरिपरि रहेका पातहरु, जीवजनावर पनि नियममा चलेका हुन्छन्, रीतमा चलेका हुन्छन्।

वास्तविक शासन सत्यको हुन्छ, विवेकको हुन्छ र ज्ञानको हुन्छ।

वास्तविक शासन नियमको हुन्छ।

अहिले संसारमा जोजो ‘जानेमाने’ शासकहरु छन्, उनीहरुमध्ये कोको सत्यको शासन चलाइरहेका छन्? विवेकको शासन चलाइरहेका छन्? ज्ञानको शासन चलाइरहेका छन्?

नियमको शासन चलाइरहेका छन्?

मोदी? सी? ट्रम्प?

वा हाम्रै ओली ?

आफैँलाई प्रश्न गरौँ न। हामी के चाहन्छौँ?

शासन, पैसा र उपभोग। यत्ति नै होइन?

मानिस अझै आफ्नै अस्तित्वको संघर्षमा छ। शासक भनिएका हाम्रा नेताहरु पनि यो संसार वा समाजमा आफ्नो शासन चाहन्छन्। आफूले भनेको अरुले मानून् भन्ने चाहन्छौँ हामी र हाम्रा शासक पनि त्यही चाहन्छन्।

र, साँचो रुपमा हाम्रो आवश्यकता के हो?

के हामीसँग भएको बुद्धि आफू र आफ्नो दीर्घकालीन हितका लागि प्रयोग गरेका छौँ हामीले? सकेसम्म बढी थुपार्न, सकेसम्म ठू्लो बंगला बनाउन र सकेसम्म ठूलो गाडी किन्न हामी शरीर र मनको सम्पूर्ण क्षमता खर्च गरिरहेका छौँ। र, यसैलाई हामी सम्बृद्धि मानिरहेका छौँ। अधिकांश रुपमा मानवजाति थुपार्न लागिपरेको छ। पृथ्वीकै लालपुर्जा आफ्नो हातमा पार्न लागिपरेको छ।

समग्र रुपमा हाम्रो यात्रामा खोट छ।

हामीले सबैभन्दा पहिले बुझ्नुपर्छ- हामी मानवजाति केही पनि होइनौँ। चरा, मुसा वा फट्यांग्राभन्दा हाम्रो अस्तित्व कत्ति फरक छैन। हामी यो पृथ्वीमा सुखपूर्वक बाँच्न पाउनुपर्छ भने चरा, मुसा वा फट्याङ्ग्राले पनि त्यत्तिकै सुखपूर्वक बाँच्न पाउनुपर्छ।

कोरोना भाइरसले मानवजातिलाई आफ्नो धरातलमा ल्याएर थेचारिदिएको छ। कोरोना भाइरसले मानवजातिलाई दिनदिनै खाइरहेको छ। कोरोना भाइरसभन्दा बढी यसको त्रासले हामी मानवजातिलाई खर्ल्यामखुर्लुम पारिदिएको छ।

कति छट्पटाएका छौँ हामी कोरोना भाइरसकाे त्रासले?

हाम्रो अहिलेको चिन्ता के हो? आफू र आफ्ना प्रियजनहरुलाई खानाको अभाव नहोस्, यत्ति होइन? आफू र आफ्ना प्रियजनहरुलाई संक्रमण नहोस्, यत्ति होइन अहिलेको हाम्रो चिन्ता?

कोरोना भाइरसको यो समय आफैँलाई हेर्ने मौका पनि हो।

हामी कस्तो खाइरहेका छौँ? हाम्रो खानपिन, हाम्रो व्यवहार, हाम्रो चालचलन, हाम्रो दौड, हाम्रो महत्वाकांक्षा— यी सबैलाई हेर्ने योभन्दा ठूलो मौका सायद अर्कोपटक आउनेछैन, हाम्रो पुस्ताका लागि।

मानवजाति संसारमा शासन गर्ने हास्यास्पद उपक्रम गरिरहेको छ।

अर्बौँ-अर्बौँ ब्रम्हाण्डले बनेको यो बहुब्रम्हाण्डको एउटा सानो ग्रहका हामी साना प्राणीहरु सम्भव भए यो बहुब्रम्हाण्डलाई नै उदरस्थ गर्ने बहुलट्ठीपूर्ण उपक्रममा छौँ।

सारा बहुब्रम्हाण्डमा शासन गर्ने, शासन बहुब्रम्हाण्ड आफ्नो उदरमा समाहित गर्ने, सारा बहुब्रम्हाण्डको लालपुर्जा आफ्नो नाममा पार्ने हाम्रो मनस्थिति बहुलठ्ठीपनको उत्कर्ष हो।

मानवजातिका महत्त्वाकांक्षाले हामी मानवजातिलाई नै अस्तित्वको संकट उत्पन्न गराइदिएको छ।  पृथ्वीमा शासन गर्ने मानवजातिको उपक्रममा हामी आफ्नै आयु छोट्याइरहेछौँ।

मानवका कारण पृथ्वी ध्वस्त हुँदैन। बरु हामी मानवका कारण हामी मानव नै ध्वस्त हुन्छौँ एकदिन। बरु हामी मानवका कारण हामी मानव नै लोप हुन्छौँ यो जगतबाट एक दिन, डाइनोसर लोप भएजसरी। हामी नभए पनि पृथ्वी आफ्नै गतिमा अघि बढिरहनेछ।

मानवका कारण पृथ्वी ध्वस्त हुँदैन। बरु हामी मानवका कारण हामी मानव नै ध्वस्त हुन्छौँ एकदिन। बरु हामी मानवका कारण हामी मानव नै लोप हुन्छौँ यो जगतबाट एक दिन, डाइनोसर लोप भएजसरी। हामी नभए पनि पृथ्वी आफ्नै गतिमा अघि बढिरहनेछ।

हामी पृथ्वीका शासक होइनौँ। मानवजाति पृथ्वीका शासक होइन। यो बहुब्रम्हाण्ड एउटा रीतमा चलेको छ, यो बहुब्रम्हाण्ड एउटा प्रणालीमा चलेको छ। सारा अस्तित्व एउटा प्रणालीमा चलेको छ। यो बहुब्रम्हाण्डमा एकजनामात्र प्रणालीमा चलेको छैन भने त्यो मानवजाति हो। ईश्वर वा सर्वोच्च सत्ता भनेको सायद त्यही प्रणाली हो। त्यही नियम हो। त्यही रीत हो। हामी सबै त्यही रीतका प्रतिनिधि हौँ। त्यही सर्वोच्च सत्ताका प्रतिनिधि हौँ।

यो पृथ्वी जति हाम्रो हो, उति नै आकाशमा उड्ने चराहरुको हो। यो पृथ्वी जति हाम्रो हो, त्यत्ति नै समुद्रमा रमाउने ह्वेलहरुको हो। यो पृथ्वी जति मानवजातिको हो, त्यत्ति नै जमिनमा विचरण गर्ने मृगहरुको हो। तर हामीले आफूबाहेक अरुको अस्तित्व स्वीकार गर्दैनौँ।

आफूलाई चित्त बुझेन भने डुम् डुम् ड्म्। कतै बन्दुक। कतै क्षेप्यास्त्र। कतै खुकुरी। कतै चिर्पट। कतै हात। कतै बोली। कतै चित्त।

मानौँ हामी नै यो संसारका सर्वज्ञानी हौँ। मानौँ हामी नै यो संसारका वास्तविक शासक हौँ।

कोरोना संक्रमणभन्दा कोरोना संक्रमणको भय सबैभन्दा ठूलो छ। म वा तपाईँसँग कोरोना भाइरससँग भएको यो भय मृत्युसँगको भय हो।

यही मौका यो भयबाट माथि उठ्ने मौका पनि हो। भयभन्दा माथि उठ्न त्यो भयलाई प्रेम र करुणाले विस्थापित गर्नुपर्छ। लोभ र भय एउटै सिक्काका दुई पाटा हुन्। जतिञ्जेल हृदयमा लोभ रहन्छ, भय रहिरहन्छ। तपाईँसँग प्रेम कति छ, भयको अनुपात त्यही हुन्छ। प्रेम बढी छ भने भय कम। प्रेम कम छ भने भय बढी। यति सरल छ यो हिसाब।

हामी सतहमा सभ्य छौँ तर अन्तर्यमा जंगली। मानवजातिको यो हजारौँ वर्षको इतिहास र सभ्यताले पनि हामीलाई सभ्य बनाउन सकेन।

कृष्ण बुद्ध सुकरात वा उनीहरुको परम्परा कसैले पनि हामीलाई सभ्य बनाउन सकेनन्। हाम्रो अन्तर्यमा लुकेको शासक चरित्र महत्त्वांकाक्षा र लोभले हामीलाई सभ्य बनाउन सकेनन्।

कोरोना भाइरससँग बच्ने सबैभन्दा उत्तम उपाय आफूलाई घरभित्रै बन्द गर्नु हो। हामी घरभित्र बन्द भएपछि मृगहरु बाहिर निस्कनेछन्। हामी घरभित्र बन्द भएपछि आकाशमा भँगेराहरु रमाउनेछन्। हामी घरभित्र बन्द भएपछि ह्वेलहरु समुद्रमा आनन्दित हुनेछन्।

अहिले विश्वका तीन अर्ब मानिस घरभित्र छन्, आफ्नो ज्यान जोगाउन। सारा मानवजाति आफ्नो ज्यान बचाउने उपक्रममा घरभित्रै लुकेर बसेको छ। हामी घरभित्र र अझ त्योभन्दा भित्र आफ्नो अन्तरआत्माभित्र नछिरी अस्तित्वले व्यहोरिरहेको यो त्रासदीबाट मुक्ति सम्भव छैन। व्यक्तिगत महत्वाकांक्षा र व्यक्तिगत सम्बृद्धिका सपनाहरुले मानवजातिलाई हरेक दिन रसातलमा लगिरहेको छ।

हाम्रो जीवन समग्र रुपले शुद्धतातर्फको यात्रा हो। तर हाम्रा उपक्रमहरु अशुद्ध छन्। कोरोना भाइरसले मानवजातिलाई हात धुन सिकायो। कोरोना भाइरसले मानवजातिलाई आफ्नो आकार र आफ्ना सीमाको बोध गरायो। कोरोना भाइरसले हामी मानवजातिलाई आफ्नो यथार्थको बोध गरायो।

हाम्रो खानपान अशुद्ध छ। हाम्रो आचरण अशुद्ध छ। हाम्रो व्यवहार, हाम्रो कर्म, हाम्रो सोच, हाम्रो मनस्थिति अशुद्ध छ। हामी आफूले भनेजसरी यो सृष्टि अघि बढोस् भन्ने चाहन्छौँ। अस्तित्वको समग्र यात्रा शुद्धतातर्फको यात्रा हो। अस्तित्वमा मानवजातिबाहेक अरु कोही पनि अशुद्ध छैन। अस्तित्वमा मानवजातिबाहेक केही पनि अशुद्ध छैन।

‘म’ भन्ने शब्दको अस्तित्व ‘हामी’को उपस्थितिबिना सम्भव छैन। हामी मानवजाति यो पृथ्वीमा केही समयका पाहुनामात्र हौँ। हाम्रो बसाइ लम्ब्याउन र हाम्रो बसाइ आनन्दित बनाउन हामीले घर फर्कनैपर्छ।

हामी आफैँलाई हेरौँ। कोरोना भाइरसलाई धन्यवाद। यसले कहिल्यै घरमा बस्न नमानेका हामीलाई घरभित्रै बस्न बाध्य तुल्याइदिएको छ।

घरभित्र बन्द हौँ। आफैँभित्र पसौँ। आफ्ना कर्महरुलाई हेरौँ। आफ्ना व्यवहारहरुलाई हेरौँ।

आफूभित्रका गाँठाहरु गनौँ र भत्काउँ बिस्तारैबिस्तारै।

यो मिचिमिची हात हुने समय हो।

यो मिचिमिची आफ्नो महत्त्वाकांक्षा धुने समय हो। यो आफ्नो हृदय धुने समय हो।

यो घर फर्कने समय हो। यो घरमै बस्ने समय हो।

हृदयमा फर्कने समय हो। यो आफूमा फर्कने समय हो।

यो हामीले बनाएका आवरणहरु भत्काउने समय हो।

यो मेरो दौडबाट हाम्रो दौडमा फर्कने समय हो। यो मेरो यात्राबाट पृथ्वीको यात्रामा फर्कने समय हो।

यो हाम्रो विवेक र अन्तरआत्माभित्र पस्ने समय हो।

चैत १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्