कोरोना लकडाउनको चौथो दिन

यहाँ शान्ति नै शान्ति छ…(फोटो फिचर)

तस्बिर: चन्द्र पाठक।

बुटवल – लुम्बिनी भ्रमण वर्ष च­­­­लिरहेको थियो। चैत–बैशाख लुम्बिनी घुम्नका लागि उपयुक्त समय हो। यतिबेला आउँदो वैशाख २५ गतेको बुद्धपूर्णिमाको तयारी भैरहेको हुन्थ्यो।

तर, समय महामारीका रुपमा उपस्थित भैदियो। विश्वभर फैलिरहेको कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन।

भारत र तेश्रो मुलुकबाट आउने पर्यटक र नेपाली नागरिकमार्फत कोरोनाको संक्रमण फैलिनसक्ने भन्दै सरकारले चैत ११ गते देशभर लकडाउनको घोषणा गर्‍यो। लकडाउनले सबै क्षेत्रमा प्रभाव पर्‍यो। पर्यटन, शिक्षालगायतका क्षेत्र सबैभन्दा शुरुमा प्रभावित भए।

पर्यटकले घुम्दै फिर्दै बुद्धको जन्मथलो लुम्बिनीस्थित मायादेवी मन्दिरको अघिल्तिर उभिने कोही छैन अहिले। ओम् मने पद्मे हुम् भन्दै परिक्रमा गर्ने कोही छैन। छ त केवल शान्ति। सुनसान शान्ति। शान्ति नै शान्ति।

विश्वको शान्तिको मुहान भनिने लुम्बिनीमात्रै हैन, सारा नेपाल शान्ति नै शान्ति छ। प्रायः भीडभाड देखिने सडक सुनसान छ। भीडभाड लाग्ने बजार बन्द छन्।

सरकारले लकडाउनको घोषणा गरेसँगै सर्वसाधारण घरभित्रै बसिरहेका छन्। घरबाहिर पूर्णतः शान्ति छ। मन्दिरमा दर्शन गर्न जाने भक्तजन छैनन्। केवल भगवानका मूर्ति छन्। शहरमा शुन्यता छ।

अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन चलेका छैनन्। स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनका गाडी पनि सडकमा छिटफुट देखिन्छन्। यीबाहेकका गाडी घरघरमा थन्क्याइएका छन्।

बसपार्क शान्त छन्। सडकपेटी शान्त छन्। तर घरभित्र एकखालको अशान्ति छ। त्रास छ। डर छ। महामारीको डर। संक्रमणको डर। एकव्यक्तिदेखि अर्कोसँग डर।

प्रहरीदेखि डर। प्रशासनदेखि डर। अर्को बाध्यता पनि मानिसमा। कसैका आफन्त अलपत्र परेका छन्। कसैका आफन्त बितेका छन्। अनि एकठाउँबाट अर्को ठाउँ जाने प्रवेश पास बनाइरहेकाहरु जिल्ला प्रशासन कार्यालयहरुमा भीड देखिन्छन्। यही डरले मानिसलाई घरबाहिर निस्कन दिएको छैन।

तर घरभित्र बस्दा डराउनुहुन्न भन्छन् मनोविद् ओम बानियाँ। उनी भन्छन् –मनमा त्रासको भाव आउन दिनुहुन्न। यही त्रास हटाउन धेरैले सामाजिक सञ्जाललाई उपयोग गरेका देखिन्छन्। कसैले एकमाना चामलमा कति दाना हुन्छन् भनेर गनेका तस्बिर राखेका भेटिन्छन् त कसैले फेसबुकको प्रोफाइलमा पूराना पूराना तस्बिरहरु खोजेर कमेन्ट गरिरहेका भेटिन्छन्।

कसैले घरपरिवारसँगै गीतसंगीतका माध्यमबाट रमाइलो गरेको, खानपानमा रमाएका तस्बिर पनि राखेका छन्।

यसले एकखालको शान्ति दिएको देखिन्छ मानिसलाई। यसबाहेक मनोविद् बानियाँको सुझाव छ, ‘कोरोना आदि जस्ता भाइरसहरुको महामारीप्रति सचेत हुनु राम्रो कुरा हो। तर धेरै डराउनु ठीक होइन, यसले अनेक मनोवैज्ञानिक समस्याहरु पैदा गर्न सक्दछ। डर र त्रासले मानिसको शरीरमा कुप्रभाव पार्दछ। रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ। मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर भयो भने साधारण मौसमी फ्लूले (रुघा) पनि ज्यान लिन सक्दछ।’

मनको डर हटाउन सकियो भने मनमा पनि शान्ति हुन्छ। डरसँग लड्नसक्ने शक्ति बढ्छ। यसले भाइरससँग लड्ने शक्ति पनि बढाउँछ।
यसले बढाउँछ मनभित्र पनि शान्ति नै शान्ति।

लुम्बिनी क्षेत्र। तस्बिर: चन्द्र पाठक।
पाल्पा सिद्धबाबाको मन्दिर।

 

चैत्र १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्