लकडाउनमा मैले किराँती तरकारी किनिमा बनाउन सिकेँ- राजेश पायल राई

काठमाडौं-सरकारले घोषणा गरेको लकडाउनमा भर्साटाइल गायक राजेश पायल राईलाई पनि स्वभाविक रुपमा असर गरेको छ। उनले पनि लकडाउनलाई सदुपयोग गरिहरेका छन्।

प्राय: महिनैपछि विदेशमा कन्सर्ट गर्न जाने राजेश पायल यतिबेला भने घरमै बिताइरहेका छन्। उनलाई यो लकडाउनले घरपरिवारसँग फोनमा कुरा गर्ने अवसर जुराइ दिएको छ।

उनी लकडाउनको बेला यसपाली भने किराँत समुदायमा प्रचलित तरकारी किनिमा बनाउन सिकेका छन्। उनले देशसञ्‍चारसँग भने, ‘मलाई प्राय: भन्साको त खासै केही आउँदैन। तर यो लकडाउनमा भने किँराती तरकारी किनिमा बनाउन चाँहि सिके है। मेरो म्यानेजरले सिकाउनुभयो। फेसबुकमा नि हालेको छु।’

उनको यसपटक पनि युरोप लगायत चारवटा देशमा सांगीतिक कार्यक्रम भए पनि कोरोनाको सक्रमणले सबै स्थगित भएको छ। उनले भने,’ विदेशमा चारवटा कार्यक्रम स्थगित गरेको छु। नेपालमै पनि विभिन्न ठाउँमा कार्यक्रमहरु थियो। सबै स्थगित गरे।रेकर्डिङहरुको मिति सरेको छ।’

उनी आजभोलि फेसबुकमा लाइभ आएर नयाँ पुराना गीतहरु सुनाउने गरेका छन्। उनी भन्छन्, ‘म फेसबुक लाइभमा पनि आइरहको हुन्छु। लकडाउनमा सबैसँग फेसबुकमा गीत संगीत र प्रतिक्रियाहरु पनि आउँछ।’

कोरोनाबारे सधैं सचेत बन्‍न र रहन सबैमा उनको आग्रह छ। उनी भन्छन्,’ पहिला स्वस्थ बसौं। आफू सुरक्षित बसौ अनि अरुलाई पनि बचाऔं।’

चैत १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्