कतार एयर आज पनि आउँदै, जर्मनीले लैजाँदै छ आफ्ना ३ सय नागरिक

फाइल तस्बिर।

काठमाडौँ- नेपालमा रहेका करिब ३ सय जर्मन नागरिकलाई फिर्ता लैजान जर्मन सरकार तथा युरोपेली युनियनको पहलमा कतार एयरकाे एउटा जहाज शनिबार काठमाडौँ ओर्लिँदै छ।

सरकारले कोरोना भाइरस (कोभिड १९) महामारीको संक्रमण रोक्न सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेकै अवस्थामा जर्मन सरकार र युरोपेली युनियनको अनुरोधमा कतार एअरलाई दुई चार्टर्ड उडानको अनुमति दिएमध्ये एउटा उडान शुक्रबार नै भएको छ। शुक्रबार ३ सय ४ यात्रु लिएर कतार एयर दोहा हुँदै फ्रयाँकफर्ट उडेको थियो।

शनिबार कतार एयरको उक्त जहाज १०:१५ मा नेपाल आइपुग्नेछ भने ११:३० मा दोहाका लागि प्रस्ठान गर्दै छ।

यी दुवै जहाजहरुलाई काठमाडौँ आउँदा कुनै यात्रु नल्याउन भनिएको स्रोतले जानकारी दियो। शुक्रबार आउने जहाज खाली थियो भने शनिबार पनि खालि जहाज नै काठमाडौँ आउँदै छ।

अहिलेको अवस्थामा विशेष अनुमतिका लागि पनि प्रक्रिया लाग्ने भएकाले केही अन्य दूतावासहरुले पनि नेपालमा अड्किएका आफ्ना नागरिकहरुको सुरक्षाका लागि अनौपचारिक रुपमा केही विमान सेवासँग कुरा गरिरहेको पनि बुझिएको छ।

माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, बेलायत, फ्रान्स तथा केही युरोपेली मुलुकका करिब ९०० नागरिकहरु कतार एयरका यी दुई विमान गईसकेपछि पनि नेपालमा रहनेछन्।

तिनीहरुमध्ये अधिकांश ट्रेकिङ र पहाडी क्षेत्रमा रहेकाले उनीहरु काठमाडौँमा आइपुगेपछि मात्र सम्बन्धित दूतावासहरुले चार्टर्ड विमानको अनुमति लिने प्रक्रिया सुरु गर्ने बुझिएको छ।

हालको अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध चैत १९ सम्म जारी रहनेछ। प्रतिबन्ध जारी रहेमा विशेष उडानको व्यवस्था गर्नुपर्ने हुन्छ।

चैत १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्