जोखिममा ‘फ्रन्टलाइनर’

कोरोना भाइरसका कारण इटालीमा ५१ जना डाक्टरको निधन

इटालीमा कोरोना भाइरस संक्रमतिको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको देशमा पर्छ इटाली । संक्रमितको संख्या अमेरिकामा भन्दा कम भए पनि इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या विश्वमै सबैभन्दा धेरै छ ।

अहिलेसम्म इटालीमा नोवेल कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ बाट ९ हजार १३४ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा कोरोना भाइरस संक्रमितको जीवन रक्षाका लागि खटिएका चिकित्सकहरु पनि छन् ।

महामारी फैलिएयता इटालीमा कोरोना भाइरसका कारण कम्तिमा ५१ जना चिकित्सकको मृत्यु भएको इटालियन एसोसियसन अफ डक्टर्सले जनाएको छ ।

एसोसिएसनका अध्यक्ष फिलिप्पो एनेलीले बिहीबार चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुका लागि पर्सनल प्रोटेक्टिभ इकुप्मेन्ट (पिपिई) को तत्काल आवश्यकता रहेको बताएका थिए ।

त्यसको भोलिपल्ट शुक्रबार एसोसियसनले कोरोना भाइरस विरुद्धको ‘युद्ध’ मा ‘फ्रन्टलाइन’ मा खटिएका ५१ जना डाक्टरको निधन भइसकेको जानकारी दिएको हो ।

कोभिड–१९ का कारण निधन भएका ५१ जना इटालियन डाक्टर मध्ये ३२ जना लोम्बार्दी क्षेत्रमा कार्यरत रहेको जनाइएको छ । इटालीको उत्तरी क्षेत्र लोम्बार्दी कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित छ ।

यसैबिच परिस्थिति थप संकटपूर्ण बन्दै गएका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संक्रमितको जीवन रक्षाका लागि दिनरात खटिएका स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पर्ने पिपिईको अभाव गम्भीर बनेको बताएको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इकुप्मेन्ट (पिपिई) उत्पादनका लागि शुक्रबार पुनः अपिल गरेका छन् ।

यस्तै उनले कोरोना भाइरसका कारण हुने कोभिड–१९ विरुद्ध प्रभावकारी नतिजा नदेखिएका औषधिको प्रयोग रोक्न पनि सुझाव दिएका छन् ।

जेनेभामा भएको पत्रकार सम्मेलनमा उनले भने, ‘विश्वभर भइरहेको पिपिईको अभाव अहिलेको सबैभन्दा ठूलो र तात्कालीक चुनौति हो । यसले गर्दा जीवन रक्षा गर्ने हाम्रो संयुक्त प्रयासमा धक्का लाग्ने जोखिम बढेको छ ।’

डा. टेडरोसले भने, ‘कम तथा मध्यम आय भएका देशका स्वास्थ्यकर्मीले पनि धनी देशका स्वास्थ्यकर्मीले जस्तै सुरक्षात्मक सामग्री पाउनु पर्छ ।’

चैत १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्