सिमकोट – विश्वलाई सन्त्रासको भूमरीमा पारेको कोरोना भाइरसले कतै एक शताव्दी अगाडिको कटुवाल प्रथा ब्यूँतिने त होइन भन्ने प्रश्न उब्जिएको छ ।

विशेष गरि कर्णाली र सदूरपश्चिम प्रदेशका सडक यातायात नजोडिएको हिमाली र पहाडी जिल्लाहरुका दूरदराजका बस्तीहरुमा केही गरि कोरोना संक्रमण फैलिएमा यो प्रथाले काम गर्ने देखिएको हो । कटुवाल प्रथा भनेको गाउँमा कुनै सूचना वा जानकारी दिन परेमा सबैले सुन्ने गरी (डाको छोड्ने ) कराएर जानकारी दिने प्रथा हो ।

हुम्ला र डोल्पा जिल्लाको भूगोल ठूलो र बस्ती छरिएको छ । तर यहाँ जनसंख्या भने निकै कम छ । एक बस्तीबाट अर्को बस्तीमा पुग्न झण्डै एक दिन लाग्ने गर्छ । यस्तो अवस्थामा यहाँका बस्तीमा कोरोना भाइरसको संक्रमण विरुद्ध राज्यको उपस्थिति पक्कै पनि सहज छैन ।

प्रहरी चौकीहरु पनि सीमित स्थानमा मात्रै छन् । प्रहरी सबै बस्तीमा पुग्न पनि सम्भव छैन । अझ अहिले लकडाउनको वास्तविक अवस्था हेर्ने हो भने राज्यको उपस्थिति सदरमुकाममा मात्रै केन्द्रित छ यस्तो अवस्थामा कोरोनाविरुद्धको जनचेतना जागृत गर्ने कार्यका लागि कटुवाल प्रथा ( रोका ) फेरि जागृत नहोला भन्न नसकिने बताउँछन् सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामा ।

पहिलो गाउँमा गाह्रो साह्रो पर्दा दमाहा बजाएर, रोकाले कराएर नयाँ कुराको जानकारी गरे जस्तै अहिले पनि कोरोनाका सन्त्रासबाट मुक्ति पाउन वा सचेतना जोगाउन यो प्रथा उपयोगी हुन सक्ने उनको तर्क छ । कटुवालले उहिलेको जमानामा कुनै नयाँ काम गर्नु परे वा गाउँ रोगव्याधी लागे जसरी कराएर संकेत गरेर गाउँलेलाई जानकारी दिन गरिन्थ्यो ।

अहिले पनि कोरोना भित्रिएपछि एक आपसमा छुन नपाइने भएपछि कराउनु उपयुक्त हुन सक्ने पनि देखिन्छ । झण्डै एक शताव्दी अगाडि कायम रहेको कटुवाल प्रथा अहिले कोरोना संक्रमणले बिउताउन सक्ने हुम्लाका सरोकारवालाको बुझाई छ ।

सताव्दी अघिको कुरा भए पनि दूर्गम बस्तीका गाउँहरुमा अहिले पनि रोका प्रथा कायमै छ । जसले गाउँमा आउने नयाँ मानिसको बन्दोबस्तीको व्यवस्था गर्ने देखि लिएर गाउँको रीतिथिती अनुसार भेला बैठक बोलाएर सामूहिक निर्णय गर्ने, चाडपर्वका लागि आवश्यक व्यवस्था गर्ने जिम्मा उसैको हुन्छ ।

नेपाल टेलिकम र निजी क्षेत्रका संचार सेवा प्रदायकहरुको सबै गाउँ बस्तीहरुमा आफ्नो नेटवर्कको सेवा बिस्तार गर्न सकेको अवस्था छैन । यसका लागि पनि महाप्रलयका बेला कटुवाल प्रथा उपयुक्त हुन सक्ने सर्केगार्ड गाउँपालिकाका स्थानीय समाजसेवी कृष्ण जैशी बताउँछन् ।

वडाअध्यक्ष समेत रहेका जैशीले अहिले पनि कुनै सार्वजनिक काम गर्नु परेमा गाउँको बिचबाट कराएर गाउँलेलाई जानकारी गराउने र जम्मा हुन लगाउने काम गर्दै आएको बताए ।

ठाँउ अनुसार यसलाई डाको ( कराउने ) लगाउने काम पनि भनिन्छ । यो चलन कर्णालीका अधिकाँश जिल्लामा अहिले पनि विद्यमान रहेको छ । कोरोना भन्ने बित्तिकै अहिले गाउँ बस्तीका मानिसहरु थर्कमान छन् ।

भलै सक्रमणबाट जोगिन लकडाउन प्रति ख्याल गरेको किन नहोस् तर जानकार भने छन् । यसअघि मलेरिया ( कालाजार ) फैलिँदा पनि रोका प्रथाले धेरै काम गरेको अनुभव सुनाउँदै सर्केगार्ड गाउँपालिकाका साउने बुढाले भने, ‘अहिलेको कोरोन महामारीकाविरुद्ध जनचेतना फैलाउन कटुवाल प्रथा सहयोगी हुन सक्छ ।’

यो प्रथाले सूचना सम्प्रेषण गर्न सहज हुने स्थानीय बुढापाकाको विस्वास छ । यसरी सूचना प्रबाह गर्दा कसैसँग भेट्नु पनि नपर्ने तर जानकारी हुने भएपछि गाउँमा उपयुक्त माध्यम हुने सक्ने देखिएको छ ।

चैत १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्