सम्पादकीय

देशले गुमाउनै नहुने अवसर

सरकारको आदेशबाट अन्तर्राष्ट्रिय हवाई सेवा निलम्बन गरिएको अवस्थामा नेपालमा रहेका विदेशी पर्यटकहरुको सुरक्षाप्रति सम्बन्धित मुलुक र सरकारको चिन्ता स्वाभाविकै हो। आफ्ना नागरिकको सुरक्षा र परिआउँदा उद्धार कुनै पनि सरकारको प्राथमिक दायित्वमा पर्न आउँछ।

हवाई उडान बन्द भएको एक साताभित्रै कतार एअरका तीवटा चार्टर्ड विमानले मुख्यरुपमा जर्मन र फ्रेन्च अनि अन्य केही युरोपेली नागरिकहरुलाई नेपालबाट फ्र्याङ्कफर्ट र पेरिस पुर्‍याएको छ। यी तीनवटै विमानहरु नेपाल रित्तै आएका थिए, किनकि कुनै पनि नेपालीलाई यो अवस्थामा स्वदेश भित्रिने अधिकारबाट वञ्चित गरेको छ सरकारले विदेशबाट।

यो निर्णयबारे केपी शर्मा ओली सरकारले जवाफ दिनुपर्ने हुन्छ अवश्य नै। तर, रित्तै आएका विमानहरुबाट पीपीई लगायत अत्यावश्यक स्वास्थ्य सामग्री किन झिकाइएन? नेपालस्थित कतारी राजदूतावास या कतार एअर मुख्यालयमा अनुरोध गरी ती सामग्रीहरु ओसार्न सहज र सम्भवतः कम खर्चिलो हुने थियो।

चीनले दिन चाहेको राहत र स्वास्थ्य उपकरण दोहासम्म ढुवानी गरी त्यहाँबाट कतार एअर मार्फत काठमाडौँ ल्याउने सोचसम्म सरकारमा नपलाउनु यो संकटलाई सम्बोधन गर्न जिम्मा लिएका नेताहरुको असफलता र कमजोर मानवीय पक्ष हो।

नेपालमा अझै पनि विदेशी नागरिकहरु छन्, र ती मुलुकहरुले आउँदा दिनमा पनि उनीहरुका नागरिक ओसार्न ‘चार्टर्ड विमान’ का लागि नेपाल सरकारसँग अनुमति माग्ने छन्।

विदेशमा अड्केका आफ्ना नागरिकहरुप्रतिको दायित्व उनीहरुले पूरा गरिरहँदा सम्भवतः नेपाल सरकारले त्यसलाई आफ्नै हिसाबले अवसरमा बदल्ने कोशिस गर्नु आवश्यक छ।

आगामी उडानबाट स्वास्थ्य सामग्री तथा त्यसबेला उत्पन्न हुने परिस्थितिलाई ध्यानमा राखी आवश्यक अन्य सामग्री मगाउन सम्बन्धित सरकार र विमानसेवा तथा दाता या बिक्रेता जे भए पनि स्रोत मुलुकका सरकारहरुसँग तत्काल आग्रह गर्नु बुद्धिमानी हुने छ।

चैत १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्