‘राष्ट्रिय आविस्कार केन्द्रलाई पीपीईको उत्पादन गर्न स्वीकृति दिइएको छैन’

काठमाडौँ– नेपाली वैज्ञानिक महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) को उत्पादन गर्न स्वीकृति नदिइएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।

नेपाल मेडिकल काउन्सिलले प्रेस विज्ञप्ति जारी गर्दै महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई लाई पिपिई बनाउन काउन्सिलले स्वीकृति नदिएको जनाएको हो ।

‘यो विषय काउन्सिलको कार्यक्षेत्र भित्र नपर्ने र कुनैपनि संस्था तथा निकायलाई यस विषयमा अनुमति प्रदान नगरिएको व्यहोरा अनुरोध छ’ काउन्सिलको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय आविस्कार केन्द्रका संयोजक पुनले देशसञ्चारसँग कुरा गर्दै पिपिई बनाउन काउन्सिलले स्वीकृति दिएको दाबी गरेका थिए।

उनले चैत ११ गते शिक्षण अस्पताल महाराजगञ्ज र विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पिपिई बनाइदिन राष्ट्रिय आविष्कार केन्द्रलाई आग्रह आएको र सोही दिनबाट आफूहरुले काम सुरु गरेको बताएका थिए ।

बुधबार पिपिईको पहिलो चरणको नमूना तयार भएको र नमूनाको परीक्षण नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको टोलीले गरेको बताएका थिए ।

पिपिईको परीक्षणपछि मापदण्ड अनुरुप नै भएको भन्दै नेपाल मेडिकल काउन्सिलले बनाउन स्वीकृति दिएको उनको दाबी थियो । यसबारेमा बुझ्न नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालालाई देशसञ्चारले पटकपटक सम्पर्क गर्न खोज्दा उनले फोन काटेका थिए।

डा. कोइराला पछिल्लो समय सरकारले गठन गरेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्य समेत हुन्।

चैत १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्