रिपोर्टर्स डायरी

कोरोना भाइरसको एन्टीडोज नै ‘लकडाउन’

दाङ–घडी हेरेँ बिहानको ६ बजेको रहेछ । आँखा खुल्यो । तर, विस्तारा बाट उठ्न मन थिएनँ । किन कि त्यस्ता विशेष काम पनि थिएन । आधा घण्टा त्यसै पल्टिरहेँ। उठेर पनि के गर्नु ? बाहिरको काम छैन । रिपोर्टिङ्ग गर्ने अन्य कुनै विषय छैन । पाँच दिन भयो एउटै विषयको समाचार बनिरहेको ।

म्यासेन्जरमा पनि कोरोनाकै ग्रुप। यता पनि कोरोना, उता पनि कोरोना । तर, नसुनेर पनि के गर्नु । लकडाउन भएपछि पाँच दिन भयो घर भित्रै बस्न थालेको । घर बाहिर निस्कदा मनमा अनेक कुरा खेल्छन् । हतार हतार काम सकेर जब घर फर्कन्छु, साबुन पानीले हात धुन्छु । अनि भित्र पस्छु । मन ढुक्क हुन्छ । हरेक घरमा कोरोना बाट बच्न सावधानी अपनाईएको छ । घरको आगनमा साबुन पानी छ । कतिको घरमा सूचना पनि टाँसिएका छन् । साबुन, पानीले हात धोएर मात्रै घर भित्र प्रवेश गर्नु होला ! अहिले बानी फेरिएको छ । मेरो मात्रै होइन, हाम्रो परिवारमा रहेका सबैको बानी फेरिएको छ ।

कोरोनाको कहरले विश्व नै आक्रान्त छ । चीन, अमेरिका, इटाली, स्पेन, भारत लगायतका देशले झनै ठूलो विपत्तिको सामना गरिरहेका छन् । नेपालमा कोरोना चीन, अमेरिका, ईटाली झैं फैलियो भने के होला ? हामीले कुनैपनि हालतमा कोरोनाको सामना गर्न सक्दैनौं । उपचार गरेर निको गर्न पनि सकिँदैन । कोरोनाको एन्टीडोज नै लकडाउन हो । घर भित्रै बसेर यो माहामारीलाई हराउन सकिन्छ । तर, घर बाहिर निस्केर काम गरेर साँझ बिहानको छाक जुटाउनको अवस्था सामान्य छैन ।

भान्छा रित्तिएको छ । चामल छैन । नुन छैन । तेल छैन । सरसापट गरेर छाक टारेका मजदूरहरु भोक भोकै रहनु पर्ने अवस्था आउन थाल्यो । कोरोनाको त्रासले मानिस भोक भोकै मर्नुपर्ने अवस्था त आउँदैछैन् ? अब ढिलो गर्नुपर्ने बेला छैन । गरिब विपन्नताको विवरण स्थानीय तहका जनप्रतिनिधिसँग हुन जरुरी छ । यो समय तथ्यांक संकलन गर्ने भन्दा पनि विपन्नको भान्छासम्म दाल, चामल पुर्‍याउनुपर्ने बेला हो ।

सामाजिक संघ सस्थामा रहेकाहरुले आफू अनुकुल खाद्यान्न सहयोग गर्ने घोषणा गरिरहेका छन् । यो घोषणालाई स्थानीय सरकारले सकारात्मक रुपमा लिएर सबैको सहकार्यमा विपन्नको भान्छामा खाद्यान्न पुर्‍याउन जरुरी छ । यती मात्रै होइन, मानिसहरु अझैं सडकमा छन् । ठ्याक्कै अलपत्र व्यक्ति कति छन् । त्यसको एकिन गरेर जहाँ जानु पर्ने हो त्यहाँ पुर्‍याउन जरुरी छ । यसमा ढिलो गर्नु भनेको रोगलाई निम्ता दिनु सरह हो ।

लकडाउनको चौथो दिन राजमार्गमा निस्केँ । लमहीदेखि राप्ती गाउँपालिकाको कार्यालय सम्म पुगे । बाटोमा मानिसहरु ठूला झोला, बोरा बोकेर हिँडिरहेका थिए । कोही खोच्याउदै थिए । बल्ल तल्ल पाईला सारिरहेका थिए । यो विषयमा फर्किएर कुरा गर्ने योजना बनाए । गाउँपालिका पनि सुनसान थियो । अध्यक्ष नुमान्नद सुवेदी गाउँपालिका कार्यालय अघि बस्नु भएको थियो ।

गाउँपालिकाले क्वारेन्टाइन बनाउन थालेको सुनाउनु भयो ।‘संक्रमण फैलियो भने त रोक्न सकिँदैन । क्यारेन्टाइनमा राखेर अरुलाई संक्रमण हुन बाट बचाउन सकिन्छ’, उहाँले भन्नुभयो–‘कोरोनाले सबै अस्त व्यस्त बनायो । अहिले सम्मको संक्रमणदर हेर्दा त्यति ठूलो अवस्था त छैन । तर, फैलियो भने कस्तो रुप लिने हो ?’

मानिसले धेरै विपदको सामना गर्नु परेको छ । धेरै पहिले हैजाको प्रकोप थियो । कोइलावासमा नुन लिन पुगेका मध्य धेरैलाई हैजाले लगेको थियो । हैजा जस्ता धेरै महामारीलाई जितेर यहाँ सम्म आइपुगेका मानवलाई अहिले एउटा भाइरसले त्रसित बनाएको छ । ‘कस्तो कस्तो अवस्थामा डराइएन । सामना गरियो । तर, अहिले एउटा भाइरसबाट डराउनु पर्ने दिन आयो । न डराएर पनि के गर्नु’, सँगै रहेका प्रदेशसभा सदस्य रेवतीरमण शर्माले भन्नुभयो– ‘सरकाले आफ्नो तर्फबाट गर्न सक्ने सबै सहयोग गर्छ । यो बेला सरकारको मात्रै भर पर्नु भन्दा पनि आफू पनि सचेत र सजग हुनैपर्छ ।’

नेपालमा चार जनामा कोरोना पुष्टि भैसकेको छ । यो संख्या बढ्दै जाने अवस्था आयो भने झनै त्रासको वातावरण हुन्छ । जति पनि मानिसमा पुष्टि भएको छ ती मानिस विदेशबाट नेपाल आएकाहरु छन् । तसर्थ विदेशबाट, भारतबाट आएका मानिसहरुको एकिन विवरणहरु संकलन गरेर ती व्यक्तिलाई क्वारेन्टाइनमा राखेर उनीहरुको स्वास्थ्य अवस्था जाँच गर्नुपर्छ । यो कार्यलाईतिव्रता दिनै पर्छ । सबै तरिकाले हामी सुरक्षीत हुन घर भित्रै बस्नुनै उपयुक्त रहन्छ ।

चैत्र १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्