कोरोनाविरुद्ध तत्काल एक खर्बको आर्थिक प्याकेज घोषणा गर्न माग

काठमाडौँ– विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बारे बारबरा फाउन्डेसनले ‘बारबरा एडम्स टक सिरिज–७’ सञ्चालन गरेको छ।

पछिल्ला दिनमा सबैभन्दा चुनौती र राष्ट्रिय चासोको विषय बनेको कोभिड–१९ को विषयमा वास्तविक अर्थमा सार्वजनिक बहस होस्, जनस्वास्थ्यबारे आम जानकारी होस् र यसबाट कमभन्दा कम क्षति होस् भनेर नेपाल सरकारले चालेका कदमलाई सहयोग पुगोस् भन्ने उद्देश्यसहित ‘कोभिड–१९ को जनस्वास्थ्य र अर्थतन्त्रमा प्रभाव तथा पूर्वतयारी’ शीर्षकमा टक सिरिज सञ्चालन गरिएको हो।

टक सिरिजका प्रमुख वक्ताहरुमा ख्याती प्राप्त आँखा रोग विशेषज्ञ तथा बारबरा फाउन्डेसनका अध्यक्ष प्रा. डा. सन्दुक रुइत, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थशास्त्री डा स्वर्णिम वाग्ले, होटल एशोसिएसन अफ नेपाल (हान)का अध्यक्ष सृजना राणा, सरुवा तथा सक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदी र पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ रहेका थिए।

टक सिरिज टेलिभिजन पर्सनालिटी भूषण दाहालले सञ्चालन गरेका थिए।  कन्फरेन्समा डा. रुइतले ‘ग्लोबलाइजेशनको बेफाइदाका रुपमा महामारी देखा परेको बताए। ‘अहिले विश्वमा ग्लोबलाइजेशनको बेफाइदाका रुपमा एउटा संगठित अपराध र अर्को महामारी देखा परेको छ’, डा. रुइतले भने, ‘कोभिड–१९ बाट कम भन्दा कम क्षति होस भनेर अहिले लकडाउन गरिएको छ। यस हामीलाई अफ्ठ्यारो परेको छ। तर अहिलको सानो दुःखले भोलि ठूलो क्षति टर्छ र सुख मिल्छ भन्ने आशा गरौं।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आइलागेको यो महामारीबाट पार लगाउन हामी एक जुट हुनुपर्ने र सरकारका कदमहरूलाई सघाउन जोड दिए। उनले कोरोनाले नेपाल जस्तो देशको जनस्वास्थ्यको अवस्था कमजोर रहेको देखाएको बताए।

जनस्वास्थ्यको हाम्रो नेटवर्क कमजोर छ’, डा. रुइतले भने, ‘स्वास्थ्यकर्मीको सुरक्षाप्रति गम्भीर ध्यान दिनैपर्छ। अहिले हामीले कामको थालनी नै यहीबाट गर्नु पर्दछ।’ बारबरा एडम्स टक सिररिजमा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थशास्त्री डा स्वर्णिम वाग्लेले सरकारले तत्काल एक खर्बको आर्थिक प्याकेज घोषणा गर्न पर्ने बताए।

कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रका उत्पादन, वितरण र सेवा क्षेत्रमा समेत प्रभाव परेकाले सरकारले ढिला नगरी प्याकेज घोषणा गर्नुपर्ने उनको सुझाव छ ।

उनले अर्थतन्त्रमा ठूलो क्षती पर्ने अवस्था उत्पन्न भएकाले सरकारले तत्काल प्याकेज घोषणा गर्नै पर्नेमा जोड दिए । उनले उद्योग व्यवसायमा तत्काल बैंकका ब्याज र जरिवानामा सरकारले राहत दिनुपर्ने, कर तिर्ने व्यक्तिलाई केही महिनाका लागि सहुलित प्रदान गर्नुपर्ने सुझाव दिए । उनले विभिन्न संगठित क्षेत्रलाई रोजगारी कटौती नगर्न सुझाव सहित सहुलियतपूर्ण ऋण दिन सरकारलाई सुझाव समेत दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् खर्च हुने रकम अहिले गैरसंगठित क्षेत्रमा रहेका ज्यालादारी कामदारलाई दिएर काम लगाउनु उचित हुने उनको सुझाव छ ।

हानका अध्यक्ष सृजना राणाले कोभिड –१९ को पहिलो प्रभाव जनस्वास्थ्यमा परेता पनि त्यसबाट ठूलो समस्या पर्यटन तथा होटल व्यवसायीहरुमा परेको बताए । पर्यटन व्यवसायबाट राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याइरहेको सन्दर्भ उल्लेख गर्दै उनले समग्र पर्यटन क्षेत्रका लागि विशेष राहत प्याकेजको घोषणा गर्न सुझाव दिए ।

टक सिरिजका सञ्चालक भूषण दाहालले यस्तो विपतमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिए ‘सही र सत्य समाचारले मात्र आममानिसलाई यस्तो महामारीबाट आफू र अरुलाई बचाउन मद्धत पुग्दछ’ उनले भने ।

महामारीबाट बच्न र बचाउन युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउँदै टक सिरिजमा पूर्व मिस नेपालले सरकारले गरेको ‘लकडाउन’ लाई सघाउन युवाहरूलाई घर भित्रै बस्न सल्लाह दिए । ‘यो महामारीबाट आफू पनि बच्न र अरुलाई बचाउन सबै मानिस घरभित्रै बस्नु पर्छ । त्यसो गर्दा ठूलो विपद् टर्छ’ उनले भने । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस अर्थात् कोभिड–१९ को असर सबै क्षेत्रमा परिरहेको छ । सरकारले घोषणा गरेको ‘लकडाउन’ पछि देशको गतिमा ब्रेक लागेको अवस्था छ । टक सिरिज गर्दा फाउन्डेसनले आधुनिक प्रविधिको प्रयोग गर्दै सबै वक्ताहरुले घरबाटै संवाद गरेका थिए ।

साथै भेला भएर एउटै मञ्चबाट टक सिरिज गर्दा जनस्वास्थ्यमा झनै प्रभाव पर्नुका साथै सरकारले सार्वजनिक रूपमा भेला हुन सरकारले रोक लगाएको अवस्थालाई समेत मध्यनजर गर्दै यो टक सिरिज सम्पन्न गरेको छ ।

बारबरा फाउन्डेसले ‘नेपाल समृद्ध राष्ट्र बनोस्’ भन्ने हामी सबैको चाहना बमोजिम देशका विभिन्न समसामयिक तथा राष्ट्रका लागि अति महत्वपूर्ण सामाजिक तथा आर्थिक विषयलाई राष्ट्रिय बहसमा ल्याउनका लागि यस फाउन्डेसनको तर्फबाट सकारात्मक पहल कदमी होस् भन्ने उद्धेश्यले ‘बारबरा एडम्स टक सिरिज’ सञ्चालन गर्दै आइरहेको छ । त्यसैको कोभिड–१९ बारे गरिएको सातौं श्रृंखला हो ।

चैत्र १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू