‘क्वारेन्टाइन अभियान नाट्य उत्सव– २०७६’

फेसबुकबाट लाइभ नाटक हेर्न सकिने आज ‘राजेन्द्रलक्ष्मी’, भोलि ‘जालिनी’

काठमाडौंँ– पहिलो दिनको उत्साहजनक दर्शक प्रतिक्रियापछि ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’मा प्रदर्शन गरिने थप नाटक घोषणा भएको छ । जसअनुसार आज शनिबार साँझ पाँच बजे नम्रता केसी निर्देशित नाटक ‘राजेन्द्रलक्ष्मी’को भिडियो लाइभ स्ट्रिमिङ हुने छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन क्वारेन्टाइन अभियानलाई जोड दिँदै विश्व रङ्गमञ्च दिवसको सन्दर्भ पारेर शुक्रबार उत्सव सुरु गरिएको थियो । पाकिस्तानी नाटककार शाहिद नदीमले लेखेको रङ्गमञ्च वर्ष सन्देशको सारांश अनुवाद वाचनबाट सुरु गरिएको उत्सवको पहिलो दिन केदार श्रेष्ठ लिखित तथा निर्देशित नाटक ‘मान भर्सेस मती’ देखाइएको थियो । थिएटर मलको फेसबुक पेजबाट स्ट्रिमिङ गरिएको नाटक करिब २ सय ५० दर्शकले नियमित लाइभ हेरेको र करिव १४ हजार रिच भएको फेस्टिभल निर्देशकसमेत रहेका श्रेष्ठले बताए ।

‘रङ्गमञ्चमै उपस्थित भएर हेरेजस्तो अनुभूति नभए पनि दर्शकले भिडियो स्वरूप पनि मन पराउनु भएको पायौं’, श्रेष्ठले भने, ‘हेरिसकेको र हेर्न छुटाएका दुवैथरी दर्शकले नाटक हेर्न पाउँदा खुशी भएको प्रतिक्रिया दिनुभएको छ ।’

यस्तै आज प्रस्तुत हुने नाटक ‘राजेन्द्रलक्ष्मी’ नेपालकी पहिलो महिला शासनकर्ता राजेन्द्र राज्यलक्ष्मी देवी शाहको जीवनकथामा आधारित छ । एस्थेटिक डान्स सेन्टरको प्रस्तुति रहेको नाटकमा राजेन्द्र राज्य लक्ष्मीको जीवन संघर्षलाई उनी र समकालीन महिलाको दृष्टिकोणबाट प्रस्तुत गरिएको छ ।

आइतबारको तालिकामा परेको नाटक ‘जालिनी’ ध्रुवसत्य परियारको कथासंग्रह ‘कैरन’मा संग्रहित कथामा आधारित छ । मण्डला थिएटरको प्रस्तुति रहेको नाटकको परिकल्पना र निर्देशन दयाहाङ राईले गरेका हुन् ।

लोककथा शैलीमा तयार पारिएको नाटकमा स्त्रीका नैसर्गिक अधिकार, स्वतन्त्रता, सपना र विवेकलाई घर वा पर्खालभित्र कैद गरी शासकहरूले कसरी कुसंस्कार निर्माण गर्छन् भन्ने कथा बुनिएको छ । त्यसले वर्तमान समाजमा पारेको प्रभाव र त्यसमाथि गरिनु पर्ने चिन्तनलाई रोचक कथाशैलीमार्फत व्यक्त गरिएको छ ।

त्यसैगरी सोमबार कथाघेरा, कौशी थिएटरको प्रस्तुति रहेको नाटक ‘पाँच’ देखाइने छ । शब्द प्रयोग नगरीकन शारीरिक भाषामात्रै प्रयोग गरी तयार पारिएको यो नाटक सुदाम सिकेले निर्देशन गरेका छन् ।

निर्देशक श्रेष्ठका अनुसार उत्सवमा सिजन दाहालको लेखन र प्रविण खतिवडाको निर्देशन रहेको लोक कथामा आधारित नाटक ‘एक बोली एक दाम’ पनि प्रदर्शन हुनेछ । त्यस्तै कथाघेरा, कौशी थिएटरको प्रस्तुति रहेको आकांक्षा कार्की निर्देशित ‘दयालु रूख’ पनि उत्सवमा सहभागी छ । संगीत सापकोटा र आशिष घिमिरेको निर्देशनमा भरतेन्दु हरिश्चन्द्र लिखित नाटक ‘अन्धेर नगरी चौपट राजा’ र एक्टर्स स्टुडियोको प्रस्तुति रहेको सुरज मल्ल निर्देशित सुरेन्द्र बर्मा लिखित नाटक ‘शकुन्तलाको औंठी’ पनि उत्सवमा सहभागी हुँदैछ ।

विदेशबाट पनि नाटकहरू उत्सवमा सहभागी हुँदैछन् । यसै क्रममा डेनमार्कबाट ‘पपेट प्ले’ सहभागी हुँदैछ भने भारतबाट नाटक शब्दविहीन नाटक ‘नोथिङ टु से’ प्रदर्शन हुँदैछ । यसैगरी केदार श्रेष्ठ निर्देशित नाटक ‘उपियाँको निबन्ध’ र बालकृष्ण समलिखित तथा चे शंकर निर्देशित नाटक ‘ऊ मरेकी छैन’ पनि उत्सवमा देखाइने निश्चित भइसकेको छ ।

थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले संयुक्त रूपमा आयोजना गरेको भर्चुअल महोत्सव हरेक साँझ ठिक ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मल ( www.fb.com/theatremall ) बाट हेर्न सकिनेछ ।

चैत १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्