हवाईजहाज चढेर नेपाल भित्रियो कोरोना भाइरस, सरकारको लापरबाहीले संकट गहिरिँदै

काठमाडौँ – सय डिग्री फरेनहाइटभन्दा बढी तापक्रम भएको यात्रुलाई क्वारेन्टाइनमा राख्ने।

एक साताअघिसम्म विदेशबाट नेपाल भित्रिएका यात्रुलाई कोरोना संक्रमण छ कि छैन भनेर पत्ता लगाउन सरकारले अवलम्बन गरेको यही मात्र एक विधि थियो। त्रिभुवन विमानस्थलमा राखिएको हेल्थ डेस्कले थर्मल गनमार्फत तापक्रम लिएर मापदण्डभन्दा बढी तापक्रम भएकालाई सोझै टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टर पठाउँथ्यो।

मापदण्डभन्दा कम तापक्रम भएका यात्रु निर्वाध रुपमा नेपाल भित्रिरहन्थे।  लकडाउनअघिका पछिल्ला दिनहरुमा सय डिग्री फरेनहाइटभन्दा कम तापक्रम भएका यात्रुलाई सेल्फ क्वारेनटाइन र होम क्वारेनटाइनमा बस्न भनिएको थियो जसको प्रभावकारी अनुगमन संयन्त्र सरकारसँग थिएन । त्यसरी आआफ्नो गन्तव्यमा पुगेका यात्रुहरु कहाँ कहाँ पुगे , के के गरे, ककसलाई भेटे भन्ने विषयमा राज्यले चासो देखाएन।

विश्वभर हवाई मार्गबाटै कोरोना भाइरसले विभिन्न देशको यात्रा गरिरहेको सन्दर्भमा नेपालले यो विषयलाई वेवास्ता गर्दा यतिबेला दिनदिनै कोरोना भाइरस संक्रमित थपिरहेका छन्। अचम्म त के भने यी सबै संक्रमित त्रिभुवन विमानस्थलको हेल्थ डेस्कबाट पास भएर आआफ्ना ठाउँमा पुगेका हुन्। उनीहरु कसैको पनि तापक्रम न्यूनतम मापदण्डभन्दा बढी देखिएको थिएन।

वयस्कहरुमा कोरोना भाइरस प्रवेश भएको केही समयपछि मात्र लक्षण देखिने विश्व स्वास्थ्य संगठनले लगातार बताइरहे पनि सरकारले विदेशबाट आउने यात्रुलाई न्यूनतम १४ दिन आफ्नै क्वारेन्टाइनमा राखेर परीक्षण नगर्दा यतिबेला कोरोना भाइरसको त्रास पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेको छ।

संक्रमितसँग एउटै जहाजमा आएका यात्रुहरु देशका विभिन्न ठाउँमा पुगेका छन् अनि त्यसपछि उनीहरुले धेरैलाई भेटेका छन्। उनीहरुले भेटेका मानिसले अरुलाई पनि भेटेका छन् अर्थात कोरोना भाइरस चेनका रुपमा फैलिएको हुन सक्ने स्थिति देखा परेको छ। यतिबेला सरकारले संक्रमितहरुसँगै एउटै जहाजमा आएका अन्य यात्रु अनि संक्रमितहरुले भेटेका मानिस खोज्दै हिँडेको छ जुन संक्रमणको विस्तारसँगै ट्रेस नै गर्न नसकिने जोखिम बढेको छ।

सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि मंगलबारदेखि लागू गरेको लकडाउनयता मात्र नेपालमा तीन जना कोरोना संक्रमित भेटिएका छन्। संक्रमित हुनेमा धादिङ, बाग्लुङ र धनगढीका वयस्क मानिस छन्। त्यसअघि सोमबार नेपालमा दोस्रो कोरोना संक्रमित भेटिएको थियो। काठमाडौँकी ती युवती फ्रान्सबाट दुबई हुँदै कतार एयरवेजमार्फत काठमाडौँ आइपुगेकी थिइन्। शनिबार पाँचौँ संक्रमितका रुपमा देखिएकी बाग्लुङकी युवती र फ्रान्सबाट आएकी ती युवती दोहाबाट एउटै जहाजमा नेपाल आएको खुलेको छ।

धनगढी र धादिङका युवा भने खाडीबाट फर्किएका हुन्। धादिङका ती युवा दुबईबाट एयर अरेबियामार्फत नेपाल आईपुगेका थिए भने धनगढीका युवा दुबईबाट नयाँ दिल्ली हुँदै हवाई मार्गबाटै काठमाडौं उत्रिएका थिए।

विदेशबाट आउने यात्रुहरुमा कोरोना संक्रमण देखिएपछि यसबीचमा विदेशबाट आएका मानिसहरुले लगातार स्वास्थ्य परिक्षण गराइरहेका छन्। सरकारले पनि उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै स्वास्थ्य परिक्षण गर्न भनेको छ।

चैत १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्