मास्क र पञ्जा महँगोमा बेच्ने एक जना जनकपुरबाट पक्राउ

जनकपुरधाम– मास्कको कालोबजारी गर्ने एक जना जनकपुरधामबाट पक्राउ परेका छन्।

लक डाउनको मौका छोपी मास्क र पञ्जाको कृत्रिम अभाव गरी महँगोमा बेच्ने एकजना व्यापारीलाई शनिबार प्रादेशिक अस्पताल जनकपुर नजिकैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

प्रादेशिक अस्पताल जनकपुर नजिक बजरंग जेनरल स्टोरमा मास्क प्रतिपिस ७५० र पञ्जा प्रतिपोका ५०० मा बेचिरहेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ का ३६ वर्षीय राजेश कुमार झालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए।

विश्वभरी कोरोना भाइरस (कोभिड १९) महामारीको रुपमा फैलिरहेको अवस्थामा नेपाल सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म देशभर लकडाउन गरेको छ।

चैत्र १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्