कोरोना संक्रमित युवती घरमै, सरकारी लफडाले उपचारमा अन्योल

पोखरा– नेपालमा कोरोना भाइरस (कोभिड–१९)को पाँचौं संक्रमित बागलुङकी युवतीलाई काठमाडौँ लगेर उपचार गर्ने वा त्यहीँ भएको धवलागिरी अञ्चल अस्पतालमै उपचार गर्ने भन्नेबारे अन्योल सिर्जना भएको छ।

जिल्ला तहका सरकारी अधिकारी र जनप्रतिनिधिले काठमाडौँ लगेर थप उपचार गर्न चाहे पनि गृह र स्वास्थ्य सचिवले बागलुङमै राखेर उपचार गर्न निर्देशन दिएपछि तारतम्य मिलाउन नसक्दा अन्योल सिर्जना भएको हो।

बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्काका अनुसार संक्रमित युवतीसँगै परिवारका अन्य सदस्यहरुको उपचार अञ्चल अस्पतालमै गर्न निर्देशन आएको सुनाए।

नगरपालिकाको तर्फबाट जिल्ला प्रशासन कार्यालयको बैठकमा प्रतिनिधित्व जनाएर फर्केको सुनाउँदै उनले भने, ‘गृह सचिव र स्वास्थ्य मन्त्रालयका सचिवले बागलुङमै राखेर उपचार गर्न सिडिओलाई निर्देशन दिइसक्नु भएको छ। भर्खरै म सिडिओ कार्यालयको बैठकबाट आएको हुँ। काठमाडौं पठाउँ भनेको गृह मन्त्रालय मानेन। सिडिओ साबले पनि काठमाडौँ पठाउँ भन्नुभएको थियो, यहीँ राख्नु भनेपनि अब यहीँ उपचार हुन्छ।’

बागलुङका सिडिओ गौलोचन सैंजूले संक्रमित युवतीको उपचार प्रबन्धका लागि खटिरहेको बताउँदै तत्काल प्रतिक्रिया दिन चाहेनन्।

धवलागिरी अञ्चल अस्पतालमा भने संक्रमित बिरामीको थप उपचारका लागि पर्याप्त तयारी भने छैन। अस्पतालमा आईसियु बेड नहुँदा जटिल प्रकृतिको समस्या आएमा बिरामीकै स्वास्थ्य जोखिममा पर्ने देखिन्छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा शैलेन्द्र विकका अनुसार पर्याप्त स्रोत साधनको उपलब्धता नभएको हुँदा प्रदेशले नै बिरामीको उपचारका लागि एम्बुलेन्स पठाउने तयारी गरेको सूचना आफूकहाँ आएको बताए।

‘बिरामी अहिले सामान्य अवस्थामा आफ्नै घरको सेल्फ आइसोलेसनमा छिन्,’ उनले भने, ‘प्रदेश स्वास्थ्य निर्देशक (डा बिनोदविन्दु शर्मा)सँग कुरा गर्दा भोलि हामी पोखराबाटै आउँछौँ भन्नुभएको छ। आवश्यकताअ नुसार पोखरा अथवा काठमाडौँ हामी नै लैजान्छौं भन्नु भएको छ।’

अवस्था बुझिरहेको र बाहिर चर्चा भएजस्तो स्थिती नभएकाको उनले दाबी छ।

उनले भने, ‘अवस्था गाह्रै भइदिएको भए तत्कालै पठाउँथ्यौँ, घरमै आनन्दसँग बसिरहनु भएको छ, प्रदेशबाट पनि उपचारको लागि भोलि बिहानै टोली आउने कुरा छ।’ संक्रमण पुष्टि भएपछि उनको स्वास्थ्य अवस्था अस्पतालले फोनमार्फत नै लिएको डा शैलेन्द्रको भनाइ छ।

संक्रमित युवती बागलुङ नगरपालिका ४ निवासी हुन्। उक्त वडाका अध्यक्ष ध्रुवबहादुर केसीका अनुसार भने उपचार कहाँ हुने टुंगो नलाग्दा युवती अहिलेसम्म घरमै रहनु परेको सुनाए।

‘अहिलेसम्म उनलाई आइसोलेसनमा ल्याउनुपर्ने हो तर घरमै छिन्’, उनले भने, ‘दिउँसो मात्र थाहा पाएँ, उपचार कहाँ गर्ने पहलकदमी गरिरहेको छु। सिडिओ सापहरुसँग बुझ्दा माथिबाट अञ्चल अस्पतालमै राखेर उपचार गर्नु भन्ने निर्देशन आयो रे। तर हस्पिटलका डाक्टरहरुको केही पनि तयारी छैन भनेर ल्याउन मान्नु भएको छैन।’

घरमा उनीसहित ६ जना रहेको वडाध्यक्ष केसीले जानकारी दिए।

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबार पुष्टि गरेअनुसार बागलुङकी १९ वर्षीय ती युवतीमा कोरोना पोजेटिभ देखिएसँगै उनलाई कहाँ राखेर उपचार गर्ने भन्नेबारे छलफल चलेको थियो।

कोरोना रोकथाम उच्चस्तरीय गण्डकी प्रदेश समितिको छलफलको निष्कर्षले भने काठमाडौँ नै उपचारको लागि पठाउन उपयुक्त हुने बताएको छ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनलाई उद्धृत गर्दै उनका स्वकीय सचिव प्रकाश पौडेलले प्रदेशले नै एम्बुलेन्स बागलुङ पठाउने तयारी भएको जानकारी दिए।

‘कोरोना पोजेटिभ पुष्टि भएसँगै तत्काल प्रदेश समितिको बैठक बोलाइएको थियो। छलफलले कोरोना संक्रमित युवतीसँगै बाँकी परिवारका सदस्यलाई पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुर्‍याइने निष्कर्ष निकालिएको छ,’ उनले भने।

बेल्जियमदेखि कतार ट्रान्जिट बनाई चैत ४ गते काठमाडौं ओर्लिएकी उनी सोही दिन हवाई मार्ग हुँदै पोखरा झरेर जीप चढेर बागलुङ पुगेकी थिइन्। उनको ट्राभल हिस्ट्री केलाएर थप संक्रमण फैलिन नदिन तत्कालै बागलुङमा टिम खटाउन लागिएको समेत उनले बताए। आवश्यक परे उनी बसिरहेको टोललाई नै छुट्टै निगरानीमा राखी सर्तकता अपनाइने तयारी गरेको स्वकीय सचिव पौडेलले बताए ।

घर पुगेको ३ दिनपछि सामान्य ज्वरो र खोकी लागेपछि उनी धवलागिरी अञ्चल अस्पताल पुगेकी थिइन्। तर ज्वरो मात्र आएको भनेर चिकित्सकले उनलाई घरमै पठाइदिएका थिए। उनले चिकित्सक सामू आफू बाहिरबाट आएको बताएकी थिइनन्।

बेल्जियमबाट आएपछि पनि उनी घरको नियमित काममै रहेकाले शंका नगरिएको बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्काले बताए। ‘पहिले जाँदा सामान्य ज्वरो मात्र हो भन्ने भयो, त्यसको ३ दिनपछि अर्थात १० गते ज्वरो आएपछि नमूना संकलन भयो,’ उनले भने।

सरकारी टोलीले ११ गते घरमै पुगेर थ्राेट स्वाब संकलन गरेको थियो।

‘हल्ला भएजस्तो उहाँको स्थिति छैन’, उपमेयर खड्काले टेलिफोन सम्पर्कमा भने, ‘भाँडा माँझ्ने, लुगा धुने काम गरिरहनु भएको थियो। पोजेटिभ देखिन आफ्नो पाटो होला, तर आत्तिनु पर्ने देखिँदैन।’ संकलित स्वाब नमूना प्रदेश स्वास्थ्य निर्देशनालय मार्फत काठमाडौं पुर्‍याइएको थियो।

प्लेनबाट पोखरा आएकी र जीप मार्फत बागलुङ आएकाले सँगै सवार अन्य व्यक्तिमा संक्रमणको जोखिम हुनसक्ने भन्दै अशंका भएकाेले डर बढेको उनले बताए। उनले भने, ‘घर आएपछि पनि बागलुङ कालिका मन्दिर दर्शन गर्नुभएछ, बच्चाहरुलाई समातेर चकलेट पनि दिनुभयो भन्ने कुरा आइरहेको छ। उहाँसँग जीपमा को–को आए, भन्ने प्रहरीले खोज्ने कुरा भएको छ।’

बेल्जियमदेखि बागलुङसम्म उनीसहित १ जना अर्की महिला पनि आएको उपमेयर खड्काले बताए। उनी बागलुङ नगरकै वडा ३ निवासी रहेको र उनको स्वास्थ्य अवस्था सामान्य देखिएपछि संक्रमण पुष्टि गर्न आइतबार थप परीक्षण गरिने जानकारी दिए।

चैत्र १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्