न्यूयोर्क ‘लकडाउन’ गर्ने तयारीमा ट्रम्प, गभर्नर विपक्षमा

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको राज्य न्यूयोर्कमा क्वारेन्टाइन लागु गर्नेबारे विचार गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

संक्रमण कम गर्नका लागि क्वारेन्टाइन उपयुक्त विकल्प हुनेबारे विचार भइरहेको उनले उल्लेख गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले पत्रकारसँग भनेका छन्, ‘न्यूयोर्क संक्रमणको हटस्पट भएकाले यहाँ क्वारेन्टाइन लागु हुन सक्ने छ । मैले यसबारे सोचिरहेको छु ।’

अमेरिकाको न्यूयोर्कमा मात्रै कोरोना भाइरसका कारण हुने कोभिड–१९ पुष्टि भएका ५२ हजार भन्दा बढी व्यक्ति छन् । अमेरिकामा अहिलेसम्म एक लाख २३ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तर न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले क्वारेन्टाइनको विकल्प निरर्धक, अमेरिकी विरोधी र युद्धको घोषणा हुने बताएका छन् । राज्यले यसअघि नै क्वारेन्टाइनका सबै नियमहरु लागु गरेको बताएका छन् ।

न्यूर्योकमा मानिसहरु भेला हुन रोक लगाइएको छ भने मानिसलाई घरमै बस्न भनिएको छ । तर लकडाउनका लागि हुने कुनै पनि प्रयासको विरोध गर्ने उनले बताएका छन् ।

गभर्नर कुओमोले सिएनएनसँग भनेका छन्, ‘यदि हामीलाई यहाँबाट अरु स्थानमा जान रोक लगाइन्छ भने त्यो लकडाउन नै हो । त्यसपछि हामी वुहान, चीन नै बन्ने छौँ । त्यसको कुनै अर्थ छैन ।’ लकडाउनले अर्थतन्त्रलाई धरासायी बनाउने उनको भनाई छ ।

चैत १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्