कोभिड–१९ः मृत्यु र संक्रमण बढ्दो क्रममा

इटालीमा कोरोना कहरः मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

कोरोना भाइरसको विश्वव्यापी महामारीले सबैभन्दा बढी प्रभावित भएको इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ ।

गएको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका अधिकांश देशमा फैलिएको छ । यसमध्ये इटाली कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देश हो । यहाँ धेरैको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा थप ८८९ जनाको मृत्यु भएपछि इटालीमा मृत्यु हुनेको कुल आँकडा १० हजार भन्दा माथि गएको हो । अहिलेसम्म कुल १० हजार २३ जनाको इटालीमा कोभिड–१९ का कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा अधिकांश उत्तरी क्षेत्र लोम्बार्दीका छन् । लोम्बार्दीसहितका इटालीको उत्तरी क्षेत्रमा संक्रमण भयावह रुपमा फैलिएको छ । यस्तै देशको दक्षिणी क्षेत्रमा पनि यो बिस्तार हुने क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

इटालीमा संक्रमितको संख्या अमेरिकामा भन्दा कम छ । अहिलेसम्म इटालीमा ९२ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै अमेरिकामा संक्रमितको संख्या एक लाख २३ हजार भन्दा बढी पुगेको छ र मृत्यु हुनेको संख्या २२ सय भन्दा बढी छ ।

भाइरसको सुरुवात भएको चीनमा कुल संक्रमितको संख्या ८१ हजार ४३९ तथा मृत्यु हुनेको संख्या ३३ सय पुगेको छ ।

युरोपको स्पेनमा पनि संक्रमणले डरलाग्दो रुप लिएको छ । संक्रमित तथा मृत्यु हुनेको संख्या तीव्र रुपमा बढी रहेको छ । स्पेनमा पाँच हजार ९८२ जनाको ज्यान गइसकेको छ भने कुल संक्रमितको संख्या ७३ हजार २३५ रहेको छ ।

विश्वभर अहिलेसम्म ६ लाख ६२ हजार ७७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये मृत्यु हुनेको संख्या ३० हजार ८४७ रहेको छ । अहिलेसम्म एक लाख ४१ हजार ९५१ जना निको भएर घर फर्किएका छन् ।

चैत १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्