लकडाउनमा खोलाभरि स्काभेटर र टिपर, नदीजन्य वस्तुको अवैध उत्खनन्

दाङ–लकडाउनको अवज्ञा गर्दै दाङमा नदीजन्य वस्तुको उत्खनन् गरिएको छ । क्रसर उद्योगले राप्ती नदीमा दुईवटा स्काभेटर प्रयोग गरेर नदीजन्य वस्तुको अवैध उत्खनन् गरेको पाइएको हो ।

लकडाउन भएको मौका छोपेर गढवा गाउँपालिका वडा नम्बर ५ मा रहेको समृद्धि क्रसर उद्योगले नदीजन्य वस्तुको उत्खनन् गरेको भेटिएपछि गाउँपालिकाले उत्खनन् बन्द गराएको छ । तर, उत्खननमा प्रयोग भएका सवारी साधन नियन्त्रणमा लिइएको छैन् ।

गाउँपालिकाका अध्यक्ष शहजराम यादवले प्रहरीलाई बताएपछि ईलाका प्रहरी कार्यालय गढवाले एक जना प्रहरीलाई पठाएको थियो । प्रहरी पुगेपछि उत्खनन् रोकिए पनि उत्खननमा प्रयोग भएका सवारी साधन नियन्त्रणमा नलिइएको स्थानस्य वेदप्रसाद चौधरीले बताए ।

‘बिहान खुब उत्खनन् गरे । मुलुक संकटमा परेको बेला पनि यसरी अवैध काम गरेको देखेपछि गाउँपालिका अध्यक्षलाई फोन गरेर जानकारी गरायौं । अध्यक्षले प्रहरीलाई भन्नुभयो । त्यसपछि एक जना प्रहरी आए।’ चौधरीले भने–‘प्रहरी आउँदा आउँदै काम रोकियो । तर, सवारी साधन नियन्त्रणमा लिइएन ।’

अहिले उत्खननमा प्रयोग भएका टिपर र स्क्याभेटर क्रसर उद्योगमा राखिएको छ । ‘लकडाउन भएको बेलामा सबै ठप्प छ । तर, क्रसर उद्योगले अवैध उत्खनन गरेको सूचना पाउँदा बितिक्कै प्रहरीलाई भनेर रोक्न लगाएको छु‘, गाउँपालिका अध्यक्ष शहजराम यादवले भने–‘कोरोना भाइरसको संक्रमणले विश्वनै आक्रान्त भएको बेलामा समेत मानिसले अवैध काम गर्न छाडेको छैन् । यस्ता काम हामीले रोक्छौं ।’

चैत्र १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू