बेलायती प्रधानमन्त्रीले पठाए देशबासीलाई पत्र–कोराना भाइरसका कारण अवस्था थप खराब बन्न सक्छ

कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।

सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

प्रधानमन्त्री जोन्सनले पत्र मार्फत सबै नागरिकलाई घर भित्रै बस्न आग्रह गरेका छन् । आवश्यक परेमा अहिले भन्दा पनि कडा नियम लागु गरी मानिसहरुको आवत–जावत नियन्त्रण गर्न सकिने पनि उनले पत्रमा उल्लेख गरेका छन् ।

हरेक बेलातीको घरमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागु गरिएका नियमहरु तथा स्वास्थ्य सेवाबारे स्पष्ट विवरणसहितको जानकारी पनि पठाइने जनाइएको छ । सरकारी नियमबारे अस्पष्टता भएको भन्दै सरकारको आलोचना भएपछि यस्तो गरिन लागेको हो ।

बेलायतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक हजार १९ पुगेको छ । यस्तै संक्रमितको संख्या १७ हजार ८९ रहेको छ ।
५८ लाख पाउण्ड खर्च गरेर तीन करोड घरमा प्रधानमन्त्रीले पत्र पठाएका हुन् ।

सो पत्रमा प्रधानमन्त्री जोन्सनले लेखेका छन्, ‘सुरुदेखि नै हामीले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि उपयुक्त कदम चाल्ने प्रयास गरेका छौँ । हामी थप कामका लागि पनि पछि हट्ने छैनौँ ।’

चैत १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्