कोभिड–१९ को उपचारमा चुनौती

सरकारलाई पत्याएनन् विशेषज्ञ चिकित्सकहरुले, जम्मा एक जनाको मात्र आवेदन

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल परिसरमा कोभडि–१९ को उपचारलाई लिएर छलफल गर्दै विशेषज्ञ सहितको टोली। तस्बीर /दिपा दाहाल

काठमाडौँ– कोभिड–१९ को उपचार सेवाका लागि आउन आग्रह गर्दा एक जना मात्रै विशेषज्ञ चिकित्सकले आवेदन दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरु तनावग्रस्त बनेका छन्।

स्वास्थ्य मन्त्रालयले सात दिन अघि कोभिड–१९ को उपचारका गर्न ७ जना जेनेरल फिजिसियन, ७ जना एनेस्थेसियोलोजिष्ट गरी १४ जना विशेषज्ञका लागि आवेदन खुलाएकोमा एक जना मात्र विशेषज्ञले आवेदन दिएका हुन्।

सेवाका लागि मन्त्रालयमा आवेदन दिने मिति आज अन्तिम हो। तर दिउँसो ४ बजेसम्म एक जना मात्रै विशेषज्ञ चिकित्सकले  आवेदन दिएको मन्त्रालय स्रोतले बतायो।

‘आवेदन खुलाएको मितीदेखि अहिलेसम्म एक जना विशेषज्ञ चिकित्सकको आवेदन प्राप्त भएको छ। आज अन्तिम मिती हो।अब अव आवेदन पर्छ भन्ने आश छैन।’, मन्त्रालय स्रोतले भन्यो।

मन्त्रालयले यही चैत्र १० गते कोभिड–१९ को उपचारका लागि ७ जना जेनेरल फिजिसियन, ७ जना एनेस्थेसियोलोजिष्टसँगै १ सय जना स्टफ नर्सका लागि आवेदन मागेको थियो। नर्सिङ सेवाका लागि भने मन्त्रालयमा ३६३ जना स्टाफ नर्सहरुले आवेदन दिएका छन्।

यस्तै मन्त्रालयले २० जना ‘मेडिकल अफिसर’ मागेकोमा ४४ जना मेडिकल अफिसरले आवेदन दिएका छन्।

आइतबार दिउँसो मन्त्रालय पुग्दा त्यहाँका अधिकारीहरु कोभिड–१९को उपचारका लागि विशेषज्ञ चिकित्सकले आवेदन नै नहाल्नुको कारणबारे विश्लेषण त गरेका थिएनै खासखुस शैलीमा, चिन्ता पनि प्रकट गरिरहेका थिए।

तर साँझ ५ बजेसम्म कसैले निवेदन हालीहाल्छ कि भन्ने आश पनि देखिन्थ्यो उनीहरुमा।

मन्त्रालयले ११ गते लकडाउन सुरु भएपछि अनलाईनमार्फत आवेदन दिन आग्रह गरेको थियो।

किन एक जना विशेषज्ञ चिकित्सककाे मात्रै आवेदन?

सरकारले नेपालमा कोभिड–१९ मुलुकमा भित्रिसकेपछि मात्रै त्यसको रोकथाम तथा नियन्त्रणका लागि योजनाहरु अघि सारेको थियो।

सरकारका योजना र तयारी पर्याप्त नभएको गुनासो बढेका बेला मन्त्रालयले सेवाअवधि निश्चितनै नगरी करारमा कोभिड–१९ को उपचारका लागि विशेषज्ञसहित चिकित्सक र नर्सहरुको आवेदन मागेको थियो।

‘करारमा जनशक्ति माग्ने । त्यो पनि सेवा अवधिबारे निश्चित नगर्ने । यस्तो अवस्थामा कसरी जागिरका लागि धेरै आवेदन दिन्छन् विशेषज्ञ चिकित्सकले? धन्न दिए एक जना विशेषज्ञ चिकित्सकले ,’ मन्त्रालयकै एक उच्च अधिकारीलेनै प्रश्न गरे।

मन्त्रालयले कोभिड–१९ को उपचार सेवा दिन आउनेलाई सरकारले तोके बमोजिम सेवा–सुविधा दिने बताएको थियो।

सरकारी सेवासुविधा कम भएको र त्यस्तो अवस्थामा सरकारी अस्पतालमा मात्रै काम गरेर आफू र आफ्नो परिवार पाल्न नसक्ने भन्दै अधिकांश चिकित्सकले हाल ‘प्राइभेट प्राक्टिस’ गरिरेहेका छन्।

यस्तो बेला मन्त्रालयले घोषणा गरे बमोजिम सेवा दिन आए ज्यान जोखिममा पारेर अहोरात्र खटिनु पर्ने अवस्था पनि आउन सक्छ।

पिपिई लगायत सामग्रीको अभाव भएको र आफूहरु जोखिमपूर्ण अवस्थामा काम गरिरहेको गुनासो सरकारी चिकित्सकबाट आइसकेका बेला कोभिड–१९ को उपचारका लागि नयाँ चिकित्सक आउन मुस्किल परेकाे हाे।

सरकारले दिँदै आएको न्यून तलबबाट आफूहरुलाई जीवन गुजरा गर्न गाह्रो हुने चिकित्सकहरु बताउँछन्।

काठमाडौँको एक निजी अस्पतालका एनेस्थेसोलिष्ट चिकित्सकले भने,‘ सरकरको सेवासुविधा निकै कम छ। यस्तो जोखिमपूर्ण अस्वस्थामा सेवा दिन आउनेलाई सरकारले अघिपछि भन्दा बढी सेवासुविधा दिने योजना बनाउनु पथ्र्यो। त्यसमा सरकार चुक्यो। त्यसकारण खाली भएका चिकित्सकले पनि आवेदन सेवाका लागि दिएनन्।’

नेपालमा आवश्यकता अनुसार विशेषज्ञ चिकित्सक यसैपनि न्यून छन्। यसको अध्ययनअध्यापनको स्तर कमजोर छ।

नेपाल चिकित्सक संघका एक पदाधिकारी भन्छन्,’ बजारमै विशेषज्ञ चिकित्सक कम छन्। भएकाहरु कतै न कतै काम गरिरहेका छन्। यस्तो अवस्थामा यति छोटो समयमा कोही पनि इच्छुक हुन्नन् सरकरको सेवा गर्न।’

चैत १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्