प्रदेश एकमा कोरोना ल्‍याब परीक्षण सुरु, मुख्यमन्त्री राईले गरे निरीक्षण

मोरङ-प्रदेश एक सरकारले कोरोना (कोभिड १९)को विरामीका लागि ल्‍याब परीक्षण सञ्‍चालनमा ल्‍याएको छ। धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना ल्‍याब परीक्षण सुरु गरेको हो।

आइतबार प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वाब परिक्षण हुने ल्याब, हेल्प डेस्क र आइसोलेसनको निरीक्षण गरेकाछन्। निरीक्षणसंगै सामाजिक विकास मन्त्री घिमिरेले प्रदेश एकमा शंकास्पद विरामीको स्वाब परिक्षण वीपीबाटै हुने जानकारी दिए।

यसअघि परिक्षणको पुरा सामान नहुदाँ ल्याबको कार्य रोकिदै आएको थियो। ल्याब सञ्चालनमा आएपनि पहिलोचरणका केही नमुनाको अन्तिम भेरिफाइ भने काठमाडौंबाट हुने बताइएको छ।

प्रदेशस्तरमा कोरोना भाइरसको स्वाब परिक्षण गर्ने पहिलो अस्पताल वीपी भएको बताएका मन्त्री घिमिरेले भने, ‘ल्याबले पहिलोपटक परिक्षण गर्ने हुनाले पहिलोचरणमा रिपोर्टलाई प्रमाणित गर्नका लागि काठमाडौं पुराउनेछौ। तर, केहीको परिक्षणपछि भने पूर्णरुपमा रिपोर्ट वीपीबाटै हुनेछ। हामी पूर्ण रुपमा रिपोर्ट हेर्नका लागि सक्षम छौं।’ रिपोर्टमा शंका लागेको खण्डमा आफूहरुले काठमाडौं पुर्‍याउने उनको भनाइ छ।

अर्कोतर्फ वीपीको माइक्रोबाइलोजी विभागले पनि सुरुका केही परिक्षणका रिपोर्ट काठमाडौंबाट प्रमाणित गराउने जनाएको छ। विभागका डा. नारायणराज भट्टराईका अनुसार कोविड १९ को लागि स्वाब परिक्षण गर्न ल्याब पूर्णरुपमा तयार अवस्थामा रहेको छ।

तथापी सुरु चरणको रिपोर्ट भने पोजेटिभ वा नेगेटिभ आए पुनः काठमाडौंका अस्पतालबाट परिक्षण गराउने उनले बताए। त्यसपछि बाँकी परिक्षण भने वीपी आफैले रिपोर्ट दिन तयार हुने विभागको भनाइ छ। डा. भट्टराईका अनुसार ल्याबले दैनिक १२ वटा स्वाब परिक्षण गर्न सक्नेछ।

विभागका अनुसार प्रदेश एकका विभिन्न अस्पतालमा रेबोन्युक्लिएक एसिड (आरएनए एक्ट्ेक्स) गर्ने मेशिन रहेको छ। सोही स्थानमा आरएनए एक्ट्रक्ट गरि रगत परिक्षण गर्न वीपी आएको खण्डमा दैनिक ८० वटा परिक्षण गर्न सकिने विभागले जनाएको छ।

स्वाव परीक्षण
कोरोना भाइरस संक्रमण फैलिएसंगै हालसम्म वीपीले १९ जनाको स्वाव परिक्षण गर्न काठमाडौं पठाएको वीपीका फोकलपर्सन डा. विकास साहले जानकारी दिए।

डा. साहका अनुसार शनिबार बेलुकासम्म १६ जनाको परिक्षण नेगेटिव आएको छ। त्यसैगरि, बाँकी तीनजनाको स्वाबको नतिजा सोमबारसम्ममा आउने उनको भनाइ छ। कोरोनाको शंकामा हाल अस्पतालको आइसोलेसन वार्डमा चारजना विरामीलाई राखिएको छ।

चैत १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्