सम्पादकीय  

छिमेकबाट नेपाली चिकित्सकलाई तत्काल बोलाऊ

सामान्यतया: प्राकृतिक विपद् र महामारी चेतावनी दिएर आउँदैन। अग्रिम चेतावनी पद्धति निर्माणका लागि वैज्ञानिकहरुले प्रयास जारी राखेता पनि त्यसले मूर्त रुप लिन सकेको छैन।

कोरोना भाइरस (कोभिड–१९)बाट उत्पन्न हुनसक्ने खतरा, त्यसको उद्गम अर्थात विगत चार महिनासम्म हामीले बुझ्न सकेनौँ। सरकारले बुझ्न र आवश्यक सतर्कताका उपाय र संयन्त्र निर्माण गर्ने कोशिस गरेन।

अहिले नेपालमा करिब ९ सय व्यक्तिहरुको नमूना परीक्षण गर्दा पाँच जनामा कोरोना भाइरस देखापरेको छ। आकारका हिसाबले यो सानो देखिएता पनि त्यसलाई अत्यन्त गम्भीरताका साथ लिनु आवश्यक छ। त्यसअर्थमा सरकारले सम्पूर्ण नेपाल अर्थात ७७ जिल्लाका समग्र ग्रामहरु र त्यहाँका बासिन्दाहरुलाई परिआएमा परीक्षण र आवश्यक उपचार पुर्‍याउनु पर्छ। त्यो उसको दायित्व हो। र यो सम्भव हुन्छ, यदी उचित समन्वय गर्न सकियो प्रशासन, चिकित्सक, स्वास्थ्यकर्मी तथा स्थानीय निकायहरुबीच। अझ महत्वपूर्ण कुरा केन्द्रको सरकार, खासगरी प्रधानमन्त्री सक्रिय र संवेदनशील हुन पर्‍यो।

अहिलेसम्मको सबभन्दा ठूलो कमजोरी या जनगुनासो हो चिकित्सक र स्वास्थ्यकर्मीहरुका लागि सुरक्षित वातावरणको अभाव। पीपीई लगायतका अन्य उपकरणहरुको अभाव। दोस्रो स्वास्थ्य मन्त्रालयको राजनीतिक तथा प्रशासनिक नेतृत्व र महामारीविरुद्ध फ्रन्टलाइनमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीबीच समन्वय र सहयोगको अभाव, अनावश्यक हस्तक्षेप।

अहिलो सानो आकारमा कोभिड–१९ देखिँदा यही त्रुटिहरुले संक्रमितहरुलाई समयमै उपचारबाट वञ्चित या ढिलाई भएमा नेपाल संक्रमण थलो बन्न सक्छ।

त्यसैले आवश्यकता महामारीविरुद्धको युद्ध नीतिको तुर्जमा, संयन्त्र निर्माण र ‘नोडल एजेन्सी’ अर्थात केन्द्रीय एजेन्सी तोक्नु हो। योसँगै नेपालभित्र निजी र सरकारी अस्पतालमा कार्यरत डाक्टर र नर्स अनि अन्य स्वास्थ्यकर्मीको लगत एकत्र गर्नु आवश्यक छ।

कैयौँ नेपाली चिकित्सक उच्च प्राविधिक ज्ञानका लागि छिमेकी भारतमा अध्ययनरत र कार्यरत छन्। महामारीका बेला बाहिर रहेकाहरुको मुलुकप्रतिको दायित्व कम हँदैन। दक्षिण एशिया बाहिर छरिएर रहेका चिकित्सकहरुका लागि हवाई सेवा निलम्बनका कारण आउन सम्भव नहोला, तर सरकारले सबभन्दा बढी संख्यामा भारतमा रहेका नेपाली चिकित्सकहरुलाई तत्काल आह्वान गर्नु उपयुक्त हुनेछ।

उनीहरुको उद्धार चार्टर विमानबाट गरी राजधानीदेखि जिल्लासम्म सुरक्षाका लागि आवश्यक सामग्रीका साथ आइसोलेशन, क्वारेन्टाइन निर्धारित क्षेत्र र परीक्षणका लागि केन्द्रहरु स्थापित गरी राष्ट्रिय संकटमा उनीहरुलाई भूमिका खेल्न दिनु बुद्धिमानी हुनेछ।

संक्रमणले महामारीको रुप लिएको इटालीमा सेवा निवृत्त भइसकेका चिकित्सकहरुले महामारीविरुद्ध जिम्मेवारी सम्हालेको प्रेरणादायी उदाहरणका बेला बाहिर रहेका नेपाली चिकित्सकहरुको सेवा निश्चय नै प्रभावकारी हुनेछ महामारी रोक्न र नियन्त्रण गर्न।

हो, उनीहरुका लागि बीमादेखि अन्य सुरक्षाका उपायहरु तत्काल घोषित गर्नु सरकारको जिम्मेवारी हो तर यो बेला विज्ञ जनशक्तिलाई विदेशमा जोखिम मोल्न दिनुभन्दा नेपाल बोलाएर उनीहरुको ज्ञान, सीप, र धर्मको प्रयोग गर्ने वातावरण दिनु राष्ट्रको दायित्व हो। त्यो गर्न नसक्नु सरकारको असफलता र रोगले मच्चाउन सक्ने अभिशापप्रतिको लापरबाही मानिने छ।

चैत १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्