क्वारेन्टाइनमा बस्न मानेका थिएनन् दुबईबाट फर्केका युवा

तस्बिर: सीपी खनाल

बुटवल– दुबईमा ट्याक्सी चलाउँथे ३४ वर्षे ती युवाले। चैत ६ गते स्वदेश फर्किए। ७ गते सैनामैनास्थित घरमा पुगे।

पाल्पा रिब्दिकोट स्थायी घर भएका उनी २ छोरा र श्रीमतीका साथमा सैनामैना ४ मा भाडामा बस्दै आएका थिए।

नगरपालिकाले विदेशबाट आएकाहरुको खोजी गर्न थाल्यो। विदेशबाट आएको भनेपछि उनलाई नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्न सुझाव दिइयो।

‘रुघाखोकी र सामान्य ज्वरो आएको पाइएपछि उनलाई नगरपालिकाकै क्वारेन्टाइनमा बस्न भनेका थियौं–सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले भने–तर मलाई कोरोना हैन, टाइफाइड हो भनेर घरमै बस्छु भन्नुभयो, टाइफाइडकै औषधि खाएको बताउनुभयो, हामीले क्वारेन्टाइनमा बस्नुस्, कोरोना हुनसक्छ, परीक्षण गरौं, हामी राम्रो हेरचाह गर्छौं भनेका थियौं, तर धेरैपटक भन्दा पनि मान्नुभएन।’

उनीजस्तै अरु दुईजनामा पनि सामान्य ज्वरो र रुघाखोकी देखिएको थियो। उनीहरुलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइयो। उनीहरु नगरपालिकाको सुझावअनुसार बुटवल आए। बुटवलमा आइसकेपछि भएको थ्रोट स्वाब परिक्षणमा कोरोनाको संक्रमण भेटिएन। अनि उनीहरु घर फर्के। सैनामैना नगरप्रमुख कार्कीका अनुसार नगरपालिकाको सुझाव मानेर क्वारेन्टाइनमा र आइसोलेसनमा बस्नेको स्वास्थ्यमा सुधार आयो।

तर, क्वारेन्टाइनमा बस्न अटेरी गरेका यी युवाको स्वास्थ्य चैत १४ गते शुक्रबार बिग्रियो। उनलाई कोरोना विशेष अस्पतालमा ल्याइयो। उनको स्वास्थ्य अवस्था आइतबार बिहानसम्म ठीक थियो।
एक्कासी उनलाई स्वासप्रश्वासमा समस्या देखियो। चिकित्सकहरुले स्वाब लिए र परीक्षणका लागि काठमाडौं पठाउने निर्णय गरे। तर दिउँसो १ बजे उनको मृत्यु भयो।

उनको मृत्युको कारण खुल्न सकेको छैन। उनमा कोरोना संक्रमण छ छैन भन्ने परिक्षणका लागि आज मात्र थ्रोट स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौ पठाइएकाले मृत्युको कारण बताउन नसकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र खनालले बताए।

उनमा अरु कुनै दीर्घरोगको लक्षण नदेखिएको कोरोना फोकल पर्शन डा. सुदर्शन थापाले बताए।

घरका सबैलाई होम क्वारेन्टाइनमा कोरोना संक्रमणको आशंकामा उपचारकै क्रममा मृत्यु भएपछि उनी बस्ने घरका सबैलाई क्वारेन्टाइनमा राखिने भएको छ।

पाल्पा रिब्दिकोट स्थायी घर भएका उनी बस्दै आएको घरमा बस्ने १२ जनालाई नै होम क्वारेन्टाइनमा राख्ने तयारी भएको हो।  उनको मृत्यु पश्चात उनको परिवार र उनको सम्पर्कमा रहेकाहरुको खोजी गरेर स्वास्थ्य परीक्षण गरिने र परिवारलाई समेत स्वाबको रिपोर्ट नआउदा सम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिने नगरप्रमुख कार्कीले बताए।

उनमा कोरोनाको संक्रमण पुष्टि भएमा उनी बस्ने घर र उनीसँग सम्पर्क भएका सबैलाई नगरपालिकाको क्वारेन्टाइनमा राख्ने कार्कीले बताए।

उनले स्वास्थ्य परीक्षणका लागि ४ वटा केन्द्र तोकिएको र विदेशबाट आउनेहरुलाई नजिकको स्वास्थ्य चौकीमा पुगेर नियमित परीक्षण गराउन सुझाव दिए।

सैनामैना नगरपालिकाले टोलविकास संस्थाको अगुवाईमा विदेशबाट आएकाहरुको नियमित परीक्षण गरिरहेको छ।

‘हामीहरुले वडामा विदेशबाट को आएको छ र उसको अवस्था कस्तो भनेर स्वास्थ्य परीक्षण गर्ने गरेका छौं,–सैनामैना ४ का वडाध्यक्ष धनबहादुर कार्कीले भने–हाम्रो टीमले यस्ता व्यक्तिको तथ्यांक राखेर नियमित स्वास्थ्य परीक्षण गरिरहेको छ।’

उनका अनुसार सो वडामा दुबई, कतार, जापान, हङकङ र भारतबाट आएका १६ जना व्यक्ति छन्। उनीहरुको नियमित परीक्षण भइरहेको छ।

चैत्र १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू