दुर्गम कर्णाली कोभिड १९ सँग लड्न कसरी तयार हुँदै छ?

काठमाडौँ – प्रदेश नम्बर ६ अर्थात कर्णाली प्रदेश। मुलुककै दुर्गम जिल्लाहरु यो प्रदेशमा पर्छन्।  विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरससँग लड्न कर्णाली प्रदेशको तयारी त्यति राम्रो छैन।

पछिल्लो समय यो प्रदेशमा विदेशबाट आएको जनसंख्या ८ हजार ६ सय ५० भएकाले जुनसुकै बेला पनि संकट आउन सक्नेमा कर्णाली सचेत छ। यद्यपी कर्णालीमा अहिलेसम्म कसैमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन।

कर्णाली प्रदेशमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि २ हजार पाँच सय २८ वार्डको क्वारेन्टाइन, ३ सय ३९ वार्डको आईसोलेसन वार्ड तथा १७ आईसीयू र ३ वटा भेन्टिलेटर रहेका छन्। क्वारेन्टाइन  जिल्लाले बनाएको हकमा दैलेखसँग मात्र छ। अन्य जिल्लाले जिल्लास्तरमा क्वारेन्टाइन बनाएका छैनन। यद्यपी स्थानीय निकायले भने क्वारेन्टाइन सानो आकारमा बनाइरहेका छन्।

कर्णालीका १० वटै जिल्ला, स्थानीय तह र प्रदेशले तयारी  गरेपनि त्यो संकट टार्नेस्तरको छैन।  दैलेखमा स्थानीय तहले २ सय २७ वार्डको क्वारेन्टाइन र २७ वार्डको आईसोलेसन वार्ड बनाएका छन्। जिल्लासँग एक सय वार्डको क्वारेन्टाइन, ३० वार्डको आईसोलेसन र ३ वटा आईसीयू छ।

कर्णालीका अन्य कुनैपनि जिल्लामा आईसीयू छैन। प्रदेश अस्पतालसँग ४ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग १० वटा आईसीयू छन्। भेन्टिलेटर पनि प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मात्र छ। प्रदेश अस्पतालसँग २ र प्रतिष्ठानसँग पाँच वटा भेन्टिलेटर रहेका छन्। प्रदेशले पनि चार सय बेड क्षमताको क्वारेन्टाइन तयार गरेको छ।

चैत्र १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू