‘लक डाउन’का बेला क्रिकेट नखेल्न आग्रह गर्दा प्रहरीलाई ब्याटले हिर्काउने युवा पक्राउ

सांकेतिक तस्बिर

वीरगञ्ज– लक डाउनको बेला क्रिकेट खेलिरहेका युवाहरुलाई सम्झाउन पुगेका प्रहरीलाई नै व्याटले हिर्काउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ गण्डक बहुअरी टोलका २७ वर्षिय गणेश कुमार साह रहेका छन्।

कोरोना भाइरसको संक्रमणबाट जोगिन देशभरि लकडाउनको घोषणा गरिएको बेला आफ्नै टोलमा क्रिकेट खेलिरहेका साह लगायतका युवालाई इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले सम्झाउन खोजेको थियो।

क्रिकेट नखेल्न सम्झाउने एक जना प्रहरी हवल्दारलाई साहले क्रिकेट ब्याटले हिर्काएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

‘हाम्रो टोली क्रिकेट नखेल भनी सम्झाउन गएको थियो’, मिश्रले भने, ‘युवकले प्रहरीलाई नै क्रिकेट खेलिरहेको ब्याटले हिर्काए।’ प्रहरीलाई ब्याटले हिर्काएपछि साहलाई पक्राउ गरी अभद्र व्यवहार मुद्दा चलाउने तयारी भएको मिश्रले बताए।

साहलाई थप अनुसन्धानको लागि सात दिनको म्याद थप गराई कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

चैत्र १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू