‘भोक प्यासले सर्वसाधारणको ज्यान जाने बेला भयो, सरकारसँग योजना छैन’

मोरङ– कोरोना भाइरसको जोखिम बढ्दै गएपछि गरिएको लकडाउनका कारण समस्यामा परेका विराटनगरका श्रमिक तथा विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ।

लकडाउनका कारण चौतर्फी रुपमा दैनिक ज्यालादारी गरेर खाने श्रमिक पीडित भएको भन्दै नेपाली कांग्रेस प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीले राहत वितरण गरेका हुन्।

उनले आइतबार विराटनगर वडा नम्बर ९ मा बसोबास गर्ने विपन्न तथा दैनिक काम गर्ने श्रमिकका ९० परिवारलाई राहत वितरण गरेको जानकारी दिए।

प्रमुख सचेतक कार्कीले भने, ‘यस अभियानले निरन्तरता पाउनेछ। यहाँ दैनिक भोकप्यासले सर्वसाधारणको ज्यान जाने बेला भयो, प्रदेश सरकार योजना बिना रकम जोहो गर्नतर्फ लागेको छ।’

प्रदेश सरकारले तत्काल विपन्न तथा निमुखालाई राहत बाड्नुपर्नेमा जोड दिँदै कार्कीले काम नगरिकन चन्दा माग्दै रकम संकलन गर्ने परिपाटी छोडेर जनताको घरमा पुग्न सुझाव दिए। उनले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार तीनै तहले रकम जम्मा गर्न चन्दा माग्नुभन्दा सरकारले सहयोग गर्नुपर्ने बताए।

‘लकडाउनको नाममा खाद्यान्न, तरकारीको भाउ आकासिएको नदेख्ने सरकारले रकम जम्मा गरेर कहिले राहत देला?’, उनले प्रश्न गरे।

उनले भने, ‘बजारमा खुलेआम व्यापारीले कालोबजारी गरिरहेका छन्, एउटा कागतीलाई २० रुपैयाँसम्म उठाइरहेका छन्। तर हाम्रो सरकारको ध्यान त्यहाँसम्म पुग्न सकेको देखिँदैन।’

नेता कार्कीको अभियानमा साथ दिँदै अभियानकर्मी सञ्जिव चापागाई, अनुप सापकोटाले ९ नम्बर वडामा परिवार सदस्य अनुसार प्रतिपरिवार ५ किलो चामल, २ किलो दाल उपलब्ध गराएका हुन्।

लकडाउनबाट जनतालाई राहत दिन प्रदेश सरकारले जनसुरक्षा कोष स्थापना गरेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा स्थापना गरिएको कोरोना इन्फर्मेशन डेस्कका अनुसार कोषमा ५ करोड १२ लाख रुपैयाँ जम्मा भएको छ।

सो कोषमा प्रदेश सरकारले १० करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेको छ। त्यसैगरि, विराटनगर महानगरपालिकाले समेत १ करोड रुपैयाँसहित विपद राहत कोष स्थापना गरेको छ।

चैत्र १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्