स्पेनिस फ्लू र कोभिड–१९ का समान सुझाव

त्यो बेला पनि विश्वलाई हात धुन सिकाइयो र यो बेला पनि

सन् १९१८ को स्पेनिस फ्लू महामारीका बेला हात राम्रोसँग धुन आग्रह गरिएको पत्रिका विज्ञापन। तस्बिर: माइहेरिटेज डट कम

विश्व अहिले एक साझा ‘शत्रु’ नोवेल कोरोना भाइरसका विरुद्धको ‘युद्ध’ मा छ । कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिएको छ ।

यसका कारण विश्वभर सात लाख २१ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् भने ३३ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससँगको यो ‘विश्व महायुद्ध’ मा विजय प्राप्त गर्ने सबैभन्दै बलियो माध्यम सरसफाइ, त्यसमा पनि हात बारम्बार राम्रोसँग साबुन पानीले धुने वा अल्कोहलयुक्त सेनिटाइजरले सफा गर्नु अत्यावश्यक रहेको विज्ञले बताएका छन् ।

विश्वभरका सरकार तथा सञ्चारमाध्यम र संघसंगठनले मानिसहरुलाई हात राम्रोसँग धुन आग्रह गरी सूचना तथा जानकारीमूलक सामग्री प्रकाशित–प्रशारित गर्दै आएका छन् । यस्ता सामग्रीमा हात धुने सही तरिका पनि सिकाइको छ ।

आज भन्दा एक शताब्दी पहिले पनि विश्वभरका सञ्चारमाध्यम र संगठनहरुले हात धुन आग्रह गर्दै त्यसको तरिका सिकाएका थिए ।

सन् १९१८ को स्पेनिस फ्लू महामारीकाका कारण विश्वभर पाँच करोड मानिसको ज्यान गएको थियो । मानव इतिहासमा यो महामारीलाई सबैभन्दा भयानक मानिन्छ ।

सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूको महामारीका बेला पनि हात हुन विशेष जोड दिइएको थियो । स्पेनिस फ्लूको महामारीका कारण त्यसबेला विश्वभर पाँच करोड मानिसको ज्यान गएको थियो ।

एक सय दुई वर्षअघिको त्यो महामारीपछि विश्वले खेपिरहेको सबैभन्दा भयानक महामारी अहिलेको कोरोना भाइरसको संक्रमण रहेको बताइएको छ । गएको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी अहिले विश्वका अधिकांश क्षेत्रमा पुगेको छ ।

यसको संक्रमण रोक्नका लागि विश्वका धेरै देश लकडाउन भएका छन्, सार्वजनिक भेला तथा भेटघाट रोकिएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि हरेक व्यक्तिले हात राम्रोसँग धुनु पर्ने सुझाव दिइएको छ । यस्तै सुझाव सन् १९१८ मा पनि दिइएको थियो ।

हात सफा राख्नु पर्ने भनेर हरेक पटक भनिन्छ । महामारीका बेला यस्तो आग्रह सघन बन्छ । तर यति लामो समय बित्दा पनि विश्वलाई अझै हात धुन सिकाउनु परिरहेको देखिन्छ ।

चैत्र १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू