लकडाउनमा के गर्दैछन् विकट हुम्लाका बासिन्दा?

सिमकोट – कोरोना भाइरसको संक्रमणविरुद्ध जारी रहेको लकडाउनका बेला जागिरे व्यक्तिहरु र विद्यार्थीहरुले अध्ययन र सामाजिक सञ्जालको भरपुर उपयोग गरेर दिन बिताउने गरेका छन् ।

बिहानैदेखि बाहिर निस्कन नपर्ने भएपछि उनीहरु कोठा कोठामा बसेर केहीले अध्ययन र केही सामाजिक सञ्जाल हेरेर समय बिताउनु परेको बताएका छन् ।

बालमन्दिर माध्यमिक विद्यालयका शिक्षिका मधु बस्नेत शाहीले समय विभाजन गरेर लकडाउनमा दिन बिताउने गरेको बताइन् । उनले बिहानबाट बेलुकासम्म घरयासी काम देखि फेसबुक चलाउने, टिभि हेर्ने, कविता लेख्ने र पुस्तक अध्ययन गरेर समय बिताउने गरेको बताएन् । त्यो सँगै उनले दैनिक फरक परिकार पकाएर आफू र परिवारका सदस्यहरुलाई खुवाउने गरेकी छन् । यसले गर्दा दिन बिताउन कठिन नभएको उनको अनुभव छ ।

शिक्षक शाही भन्दा केही फरक रुपमा लकडाउनलाई बिताई रहेका छन् शिक्षा विकास तथा समन्वय एकाई प्रमुख बिष्णुबहादुर शाहीले । उनले सामाजिक सञ्जालका समाचार र टिभि हेरेर ६ दिन बिताएको बताए ।

यता सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले भने यो लकडाउनको समयमा पनि कार्यालयको काममा बितेको बताए । होम क्वारेनटाइनमै रहेका उनले पालिकाको स्वास्थ्य शाखाका लागि आवश्यक पिपिई, थर्मोगन र आवश्यक औषधीको लिष्ट तयार गर्ने र त्यसलाई झिकाउने बारे स्वास्थ्यकर्मीहरुसँग सामाजिक सञ्जालबाट सुझाब माग्ने काम गरिरहेको बताए ।

एसइई तयारीमा रहेकी छात्रा बसन्ती बोहराले अधिकांश समय परीक्षाको तयारी मै बिताउने गरेको बताइन् । उनलाई हिजोआज कहिले कोरना सन्त्रास हट्ला र परीक्षाको मिति तोकिएला भन्ने पिरलो मात्र छ ।

सामाजिक सञ्जाल नचलाउनेहरुलाई भने दिन बिताउन कठिनाई हुने गरेको छ । यता जिल्लाका सुरक्षा निकाय प्रमुखलाई भने कहिले क्वारेन्टाइन व्यवस्थापन त कहिले आइसोलेशन वार्ड बनाउनमै दिन बित्ने गरेको छ ।

लकडाउनले अधिकांश व्यक्तिहरु घरमै रहे पनि किसानहरु भने खेतीपातीमै व्यस्त रहेका छन्।

चैत १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्