सिरहाका किसानले वितरण गरे निशुल्क तरकारी

जनकपुरधाम – सिरहाका एकजना किसानले लकडाउनका बेला निशुल्क रुपमा तरकारी वितरण गरेका छन् ।

नेपालमा जारी रहेको लकडाउनको फाइदा उठाउँदै कतिपय व्यापारीहरु कालोबजारीमा लागेका बेला सिरहाको लहान नगरपालिका वडा नं. २४ का रामप्रकाश महतोले आफ्नो खेतमा उब्जाएको १६ क्विन्टल तरकारी नगरपालिकाका स्थानीय बासिन्दालाई राहत स्वरुप वितरण गरेका छन् ।

महतोले लहान नगरपालिकाको विभिन्न वडामा आफूले उत्पादन गरेका भन्टा वितरण गरेको लहानका युवा गौरव साहले जानकारी दिए । महतोले लहानको बजार क्षेत्रका गरिब, विपन्न तथा विशेषगरी त्यहाँ बस्ने बाहिरका व्यक्तिलाई तरकारी वितरण गरेका छन् ।

उखु र तरकारीको खेती गर्दै आएका महतो जितपुर बारामा नेपाल सरकारद्धारा पूर्वाञ्चलकै उत्कृष्ट किसानका रुपमा पुरस्कृत समेत भएका थिए । उनले आफ्नो खेतमा रहेको तरकारी आगामी दिनमा समेत वितरण गर्ने जनाएका छन् ।

लकडाउन भएपछि स्थानीय सरकारले यस प्रति खासै चासो नलिएका बेला महतोले वितरण गरेको तरकारीबाट राहत भएको स्थानीयहरुले बताएका छन् ।

चैत १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्